Teej banner
कति खर्च हुन्छ फोनमा?

कति खर्च हुन्छ फोनमा?

चैत्र ७, २०७०

फोन, यो शब्दलाई मोबाइलले नै विस्थापित गर्ला जस्तो भैसकेको छ। किनभने टेलिफोनको स्थान मोबाइलले लिइसकेको छ। यतिबेला फोन भन्नासाथ मोबाइल बुझिने भएको छ। मोबाइल लिनेहरूको संख्या जुन अनुपातमा बढिरहेको छ टेलिफोनका रूपमा चिनिएको ल्यान्डलाइन लिनेहरूको संख्या तुलनात्मक रूपमा कम हुँदै गएको छ, अर्थात् ६ लाख हाराहारीबाट माथि उठ्न सकेको छैन। कतिले त मोबाइल आएपछि ल्यान्डलाइन फोन राख्ने आवश्यकता पनि महसुस गरेका छैनन्। मोबाइलको लाइन लिन र चलाउन यति सजिलो भएको छ कि अब तरकारी किन्दा सीम उपहार प्राप्त गर्न मात्र बाँकी छ। मोबाइल सेट किन्यो सीम, पैसा पायो सीम, एसएलसी पास भयो सीम हरेक चिजमा छुटका रूपमा उपलब्ध हुन थालेको मोबाइल सीमका कारण मोबाइल लिनेहरू बढी छन्। घरमा एउटा फोन भए पुग्ने अवस्थाबाट अब गोजीमा एउटा फोन हुने अवस्था आइसकेको छ। यसबीच फोनमा हुने खर्च पनि ह्वात्तै बढेको छ।

मोबाइल लिएकाहरूले त्यसमा मासिक कति खर्च गर्छन् त्यसको हिसाब उनीहरूले सायदै गर्छन्। प्रिपेड मोबाइल लिनेहरूले सजिलै रिचार्ज गर्न सक्ने र बिल पनि नहुने भएकाले मोबाइलको खर्च हिसाब राखिरहेका हुँदैनन्। पोष्टपेडमा भने बिलको हिसाब आउँछ। यद्यपि आवश्यकताको सिद्धान्तअनुसार मोबाइलमा पैसा खर्च हुने क्रम भने हिसाब राख्दैमा रोकिने होइन। हामी सबैलाई चासो लाग्ने कुरा हो— नेपालमा एउटा व्यक्तिले औसत कति खर्च गर्ला फोनमा? यही कौतूहलताको जवाफ गत आर्थिक वर्षको दूरसञ्चार उपभोक्ता सर्वेक्षणले दिएको छ।

अध्ययनअनुसार काठमाडौंका मानिसले देशका अरू सहरका बासिन्दाहरूको तुलनामा फोनमा बढी पैसा खर्च गर्छन्। धेरै जनघनत्वका साथै टेलिघनत्व भएको राजधानीका मानिसहरूले औसतमा सबै भन्दा धेरै खर्च ल्यान्डलाइनमा गर्ने गरेका छन्। अध्ययनअनुसार काठमाडौंका ल्यान्डलाइन प्रयोगकर्ताले मासिक १ हजार ५ सय ११ रुपैयाँ नेपाल टेलिकमको ल्यान्डलाइनमा खर्च गर्छन्। त्यसपछि सबै भन्दा धेरै यूटीएलको सीडीएमए सेवामा खर्च हुन्छ। यूटीएलको सीडीएमए सेवा तार विहीन आधारभूत फोन भएकाले पनि हुनसक्छ यसमा काठमाडौंवासीले मासिक औसत १ हजार २९ रुपैयाँ खर्च गर्छन्।

टेलिकमको जीएसएम मोबाइलमा औसत मासिक ९ सय ७१ रुपैयाँ खर्च हुन्छ। काठमाडौंका मोबाइल प्रयोगकर्ताबीच टेलिकमकै सीडीएमए मोबाइल पनि लोकप्रिय देखिन्छ। टेलिकमको सीडीएमए मोबाइलमा काठमाडौंवासीले मासिक औसत ८ सय ७५ रुपैयाँ खर्च गर्छन्।

काठमाडौंका बासिन्दाले प्रयोग गर्ने प्राथमिकताको पाँचौं स्थानमा निजी मोबाइल सेवा प्रदायक एनसेल हो। एनसेलको मोबाइल चलाएर राजधानीवासीले औसत मासिक ७ सय ८२ रुपैयाँ खर्च गर्छन्।

एक सेकेन्डमा पूरै चलचित्र डाउनलोड

मोबाइल प्रविधिमा अहिलेसम्म ४जी प्रविधिलाई अत्याधुनिक मानिन्छ। जसबाट मोमाइलमै एचडी प्रविधिको टेलिभिजन तथा भिडियो हेर्न सकिन्छ, तर अब ५जी प्रविधि पनि आउँदैछ, जसका माध्यमबाट प्रयोगकर्ताले १ सेकेन्डमै पूरै तीन घण्टाको चलचित्र डाउनलोड गर्न सक्नेछन्।

एएफपीका अनुसार दक्षिण कोरियाली सरकारले आगामी ६ वर्षभित्र त्यस्तो प्रविधि प्रयोगमा ल्याउने गरी परियोजना सुरु गरेको छ। ४जी प्रविधिको पहिलो प्रयोग पनि दक्षिण कोरियामै सन् २००६ मा भएको थियो। कोरियाको विज्ञान मन्त्रालयका अनुसार अहिलेको ४जी प्रविधिभन्दा झन्डै १ हजार गुना बढी गतिको हुनेछ ५जी।

'अहिले पनि युरोप, चीन र अमेरिका ५जी प्रविधिको विकासमा लागिरहेका छन्, तर हामीलाई विश्वास छ यो प्रतिस्पर्धामा हामी अब्बल ठहरिनेछौं' मन्त्रालयले भनेको छ। मन्त्रालयले सन् २०१७ मा परीक्षणका रूपमा ५जी प्रविधिको प्रयोग प्रारम्भ गर्नेछ भने सन् २०२० सम्ममा त्यो व्यावसायिक प्रयोगमा आउनेछ।

स्मार्ट ब्रासलेट

फिनिस फर्म क्रेवरले महिलाहरूका लागि हातमा लगाउने स्मार्ट ब्रासलेट निर्माण गरेको छ। शरीरमा लगाउने अर्थात वेरेबल प्रविधि खासै प्रयोगमा आउन नसकेको अवस्थामा यसको डिजाइन, यसमा प्रयोग गरिएका एप्स एवं फिचरका कारण यो ब्रासलेट भने प्रयोगमा आउने कम्पनीको दाबी छ। स्टेनलेस स्टिल र क्रिस्टलद्वारा निर्मित यो ब्रासलेटलाई 'वेरेबल ज्वेलरी' पनि भन्न सकिन्छ। यसमा गुगलको मोडिफाइड भर्सनको एन्ड्रोइड सफ्टवेयर प्रयोग गरिएको छ। आइओएस र एन्ड्रोइड फोनको सहयोगमा यसमा विभिन्न प्रकारका नोटिफिकेसन प्राप्त गर्न सकिन्छ। यसलाई वाइफाई, ब्लुटुथ तथा युएसबीको सहयोगमा कनेक्ट गर्न मिल्छ। यसलाई एक्सेलोमिटर, इ-कम्पास र लाइट सेन्सरका रुपमा पनि प्रयोग गर्न सकिन्छ।

कमसल पासवर्डहरू

हाम्रो दैनिक जीवनको एउटा पाटो नै बनेको छ- पासवर्ड। प्रविधिको दुनियाँमा रमाउने र यसैलाई पेसाका रूपमा अपनाउनेहरूका लागि त पासवर्ड सबैभन्दा महत्वपूर्ण अंग बनेको छ। त्यसो त विभिन्न अनलाइन, एकाउन्ट तथा सामाजिक सञ्जालहरूमा राखिएका पासवर्ड बिर्सिएर हत्तुहैरान हुनेहरूको संख्या पनि बढ्दो छ। त्यति मात्र होइन, कमजोर पासवर्डका कारण एकाउन्ट ह्याक हुनेहरू पनि बाक्लै छन्। पासवर्ड धेरै हुनेहरूलाई सम्झन निकै गाह्रो हुन्छ। लेखेर राख्ने कुरा पनि भएन, अझ अरूले पत्तो पाउने सम्भावना बढी हुन्छ। कतिपयले आफ्नो पासवर्ड मोबाइल अथवा ल्यापटप, कम्प्युटरमै लेखेर राखेका हुन्छन्। यो राम्रो बानी भने होइन। त्यसो त पासवर्ड सम्झन सहज होस् भनेर कतिपयले आफ्नो मोबाइल नम्बर, बालबच्चाको नाम, श्रीमान्-श्रीमतीको नाम, प्रेमी प्रेमिकाको नाम, गाउँको नाम, जन्ममिति, जन्मस्थान, आमाबुवाको नाम, मन पर्ने देवदेवताको नाम, मन पर्ने सहर र देशको नाम आदि राख्ने गरेका छन्, तर यस्ता पासवर्ड सहजै पत्ता लाग्ने हुनाले त्यति उपयुक्त मानिँदैनन्। स्पल्सडाटाको सर्वेक्षण अनुसार सन २०१३ सम्मका सवैभन्दा कमसल पासवर्ड यी हुन्।

१. १२३४५६

२. पीएएसएसडब्लुओआरडी

३. १२३४५६७८

४. क्युडब्लुआरटीवाइ

५. एबीसी १२३

६. १२३४५६७८९

७. ११११११

८. १२३४५६७

९. आईलभयू

१०. एडीओबीई १२३

११. १२३१२३

१२. एडमिन

१३. १२३४५६७८९०

१४. लेटमेइन

१५. फोटोसप

१६. १२३४

१७. मंकी

१८. स्याडो

१९. सन्साइन

२०. १२३४५

फेसबुकजस्तै नेपाली सञ्जाल

अहिले विश्वजगत् नै सामाजिक सञ्जालमा आबद्ध छ। फेसबुक, टि्वटर, लिंक्डइन, गुगल प्लसलगायत थुप्रै सामाजिक सञ्जालमार्फत हामी एक-अर्कासँग सम्पर्कमा रहने गरेका छौं। त्यसो त पछिल्लो समय सामाजिक सञ्जालहरूको लोकप्रियता व्यापक बन्दै गएको छ। यस्तै सामाजिक सञ्जालहरू जस्तै नेपालमा पनि एउटा सञ्जाल सञ्चालनमा आएको छ- मेरो पोस्ट डटकम। २०६६ सालतिरै सञ्चालनमा आएको यो साइट खासै प्रयोगमा आउन सकेको थिएन, तर केही दिन अघिदेखि यसमा नयाँ सुविधाहरू थप गरिएको छ। विभिन्न सुविधा तथा विशेषतासहित प्रस्तुत गरिएको यो सञ्जाल यतिबेला नेपालीहरूबीच लोकप्रिय हुने क्रममा छ।

फेसबुकमा जस्तै यसमा स्टाटस लेख्न, तस्बिर एवं भिडियो सेयर गर्न, प्रतिक्रिया दिन, च्याट गर्न वा ग्रुप च्याट गर्न सकिन्छ। यसमा फेसबुकमा भन्दा केही भिन्न स्वाद पनि पाइन्छ। यसमा आफ्नो प्रोफाइल आफ्नो इच्छाअनुसार बनाउन सकिन्छ। 'ब्याकग्राउन्ड' फोटोहरू पनि राख्न सकिन्छ। यसलाई कम्प्िलट नेपाली साइट भनिएको छ। यसमा नयाँ-पुराना साथीहरू खोज्न सकिन्छ भने च्याट रुमको सुविधा पनि छ, जसमा छुट्टै च्याट पनि गर्न मिल्छ। मेरो पोस्ट डटकमका निर्देशक सुनिल चौलागाइर्ंले यो संजाल स्वदेशी भएकाले सत्य र भरपर्दो भएको दावी गरेका छन्।

यसमा नेपाली अक्षर लेख्ने सुविधा पनि उपलब्ध छ। फेसबुक टि्वटर इत्यादिमा नेपालीमा लेख्न छुट्टै इन्जिन अथवा युनिकोड प्रयोग गर्नुपर्छ, तर यसमा सीधै नेपालीमा लेख्ने मिल्ने सुविधा छ। यसमा हरेक खालका सामग्री पोस्ट गर्न सकिन्छ। यसमा 'होम' र 'प्रोफाइल' छुट्टा-छुट्टै छन् भने 'एभि्रवडी' अप्सनमा क्लिक गरेपछि मात्र अरूले लेखेका कुरा पढ्न सकिन्छ। मेम्बर अप्सनमा क्लिक गरेर तथा सर्च वटनमा नाम लेखी नयाँ साथीहरू भेट्न वा रिक्वेष्ट पठाउन सकिन्छ। च्याटिङका लागि छुट्टै ग्रुप बनाउने सुविधा यसमा छ। यसमा धेरै सामग्री पोस्ट गर्नेहरू र धेरै प्रतिक्रिया प्राप्त गर्नेहरूको सूची पनि हेर्न सकिन्छ।

नेपाली बजार : बजाजको एलइडी लालटिन

बजाजको एलइडी इमर्जेन्सी लालटिन नेपाली बजारमा पनि उपलब्ध छ। यो लालटिनले १४ घण्टासम्म लगातार उज्यालो दिने दाबी गरिएको छ। यसले चारै दिशामा बराबर उज्यालो दिन्छ। यो एलइडी लालटिन लामो लोडसेडिङको समयमा उपयुक्त हुन्छ। यसमा ५ मिलिमिटरका २४ वटा लिड छन्। यो लिडको आयु एक लाख घण्टा हुने कम्पनीको दाबी छ। यसलाई ६ देखि ८ घण्टासम्म रिचार्ज गरेर प्रयोग गर्न सकिन्छ। यो लालटिनमा ६ महिनाको वारेन्टीसमेत छ।

संगीत बजारमा सामसुङ

निःशुल्क संगीतको बजारमा सामसुङले पनि प्रवेश गरेको छ। सामसुङले मिल्क म्युजिकको नाममा यो सेवा प्रारम्भ गरेको हो। कम्पनीले सामसुङको ग्यालेक्सी डिभाइसका अमेरिकी प्रयोगकर्ताका लागि करिब २ सय विज्ञापनरहित रेडियो स्टेसनमार्फत यो सेवा प्रारम्भ गरेको हो। रमिल्क म्युजिकलाई रेडियो सर्भिस स्लाकरले संचालन गर्नेछ। यसमा १ करोड ३० लाख गीत हुनेछन्। अहिले पान्डोरा, स्पोटिफाई र एप्पलको आइट्युन्स अनलाइन म्युजिकका लागि लोकप्रिय छन्। अनलाइन म्युजिकको क्षेत्रमा प्रवेश गरेपछि सामसुङ थप लोकप्रिय हुने कम्पनीको विश्वास छ।

प्रकाशित :चैत्र ७, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्