
कस्ता छन्, नेपालका प्रतिद्वन्द्वी ?
फाल्गुन ३०, २०७०
ट्वान्टी-२० विश्वकपका रूपमा नेपाली क्रिकेटले पहिलो पल्ट आईसीसीको माथिल्लो स्तरको ठूलो प्रतियोगिता खेलिरहेको छ र हङकङसँगको खेलसँगै नेपाल अन्तर्राष्ट्रिय क्रिकेट इतिहासको एक भाग हुनेछ। यसक्रममा नेपालले पहिलोपल्ट टेस्ट र वान डे मान्यता प्राप्त टिमसँग औपचारिक रूपमा ट्वान्टी-२० का खेल खेल्नेछ।
यसअघि नेपालले यस्तो अवसर उमेर समूहमा मात्र प्राप्त गरेको थियो, विशेषतः यू-१९ का विभिन्न प्रतियोगिताहरूमा। यसपल्ट नेपालसँगै हङकङका लागि पनि ट्वान्टी-२० विश्वकप पहिलो अनुभव हुनेछ। यस्तोमा उनीहरूबीचको पहिलो खेल प्रतिष्ठाको लडाइँ हुने निश्चित छ। उक्त खेललाई दुवै टिमले सर्वाधिक महत्त्व दिने छन्।
हङकङ पनि छनोटबाट यहाँसम्म पुगेको हो। त्यही छनोटमा अफगानिस्तान दोस्रो स्थानमा थियो। अफगानिस्तानका लागि अहिलेको ट्वान्टी-२० विश्वकप दोस्रो अनुभव हो। यसअघि उसले सन् २०१२ को ट्वान्टी-२० विश्वकप पनि खेलेको थियो।
यसपल्ट भने अफगानी टिम पहिलेको तुलनामा अझ मजबुत छ, त्यसैले उक्त टिमबाट धेरैले ठूलो आशा राखेका छन्। अफगानी टिम कति मजबुत छ, त्यसको पछिल्लो उदाहरण हो, एसियाकपमा प्रवेश पाउनु र त्यसमा बंगलादेशलाई सनसनीपूर्ण रूपमा पराजित गर्न सफल हुनु। अफगानिस्तान नेपालमाथि पनि हाबी रहँदै आएको छ। टेस्ट मान्यता प्राप्त बंगलादेश भने ट्वान्टी-२० विश्वकपको सुरुवाती संस्करणदेखि नै सहभागी छ, तर उसको प्रदर्शन राम्रो हुन सकेको छैन्। ट्वान्टी-२० वरियताको पुछारमा रहेकै कारण बंगलादेशसँगै जिम्बावे सुरुआती चरण खेल्न बाध्य भएको हो। यद्यपि अहिलेको छनोटबाट सुपर-टेनमा जाने सबैभन्दा बढी सम्भावना बंगलादेश कै छ।
बंगलादेशले अहिलेसम्म ट्वान्टी-२० विश्वकपमा ११ खेल खेलेकोमा एउटैमा मात्र जित हात पारेको छ, त्यो पनि पहिलो संस्करणमा। त्यति बेला उसले वेस्ट इन्डिजलाई हराएको थियो। संयोगले त्यो बंगलादेशको पहिलो खेल थियो। त्यसयता बंगलादेश लगातार १० खेलमा पराजित भएको छ।
प्रकाशित :फाल्गुन ३०, २०७०



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्