चलचित्र 'चियर्स' र चलचित्र 'ब्रम्हा'

चलचित्र 'चियर्स' र चलचित्र 'ब्रम्हा'

फाल्गुन ३०, २०७०

निर्देशकः पवन गौतम

कलाकारः भूपेन चन्द, पुष्करजंग थापा, राज आर्यन, क्रिष्टि पौडेल, आनन्द चतुर्वेदी, ध्रुव कोइराला तथा महिमा सिलवाल।

संगीतकारः नागेन्द्र राजवंशी

चलचित्र 'चियर्स' को देशव्यापी प्रदर्शन आज शुक्रबार प्रारम्भ हुँदैछ। पछिल्लो समय पृथक् कथामा आधारित चलचित्र निर्माण हुने क्रम बढिरहेका बेला 'चियर्स' युनिटले पनि यसलाई पृथक् बताएको छ। कमेडी, एक्सन तथा रोमान्सको त्रिवेणीलाई मुख्य विषय बनाइएको यो चलचित्रको निर्देशन छायाँकार पवन गौतमले गरेका हुन्। युवराज खत्रीको प्रस्तुतिमा राजाराम केसी तथा संजीव श्रेष्ठले निर्माण गरेको यो चलचित्रमा नयाँ कलाकारको बाहुल्यता छ। नायक भूपेन चन्द लामो समयपछि यही चलचित्रबाट पुनरागमन गर्दैछन्। जेनीम फिल्म्सको चौथो प्रस्तुतिका रूपमा तयार पारिएको यो चलचित्रमा तीन जना युवाको संघर्ष एवं प्रेमलाई मुख्य विषय बनाइएको छ। चलचित्रमार्फत दर्शकलाई सन्देशभन्दा पनि करिब साढे दुई घन्टा स्वस्थ मनोरञ्जन प्रदान गर्ने उद्देश्य लिइएको निर्माता राजाराम केसी बताउँछन्। चलचित्रका तीन युवामध्ये एक जना गाउँमा भैँसी बेचेर अध्ययनका लागि सहर पसेका हुन्छन्। सहरमा धनी र फटाहा साथीको संगतमा परेपछि उनको जीवनमा आउने उतारचढावमा चलचित्रको कथा अघि बढ्छ। चलचित्र चियर्समा कविराज गहतराजको नृत्य तथा जनक गुरुङको द्वन्द्व निर्देशन छ भने दीपक बानियाँ यसका छायांकार हुन्।

निर्देशकः ऋषि न्यौपाने कलाकारः निर्मल सेन्चुरी, रागिनी खड्गी, एनी कुँवर, विक्रम छेत्री  संगीतकारः चेतन सापकोटा र अमित श्रेष्ठ

नायक निर्मल सेन्चुरी तथा नायिका रागिनी खड्गीको जोडी जम्दै गएको देखिन्छ। उनीहरू करिब आधादर्जन चलचित्रमा जोडीका रूपमा प्रस्तुत भैसकेका छन्। यही क्रमको एउटा चलचित्र 'ब्रम्हा' को सार्वजनिक प्रदर्शन आज शुक्रबार प्रारम्भ हुँदैछ। भरोसा फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता सिजे पाण्डे तथा भूपेन बस्नेत हुन्। चलचित्रमा नेपाली चलचित्र क्षेत्रको विकृतिलाई मुख्य विषय बनाइएको छ। निर्देशक न्यौपाने चलचित्र क्षेत्रमा हुने विकृतिलाई यो चलचित्रले केही हदसम्म उजागर गर्ने प्रयास गरेको बताउँछन्। चलचित्र क्षेत्रमा बढिरहेको छाडा प्रवृत्तिलाई पखाल्न ब्रम्हाको जन्म हुने तथा उनले नै पारिवारिक चलचित्र बनाउने वातावरण बनाउने कथा यो चलचित्रले समेटेको छ। चलचित्रमा नायक निर्मल सेन्चुरीले ब्रह्माको भूमिका निर्वाह गरेका छन्। चलचित्रमा  सम्राट् बस्नेतको द्वन्द्व निर्देशन छ भने बब्बु थापा यसका कोरियोग्राफर हुन्। चितवन र नवलपरासीका आकर्षक लोकेसनमा छायांकन गरिएको चलचित्र ब्रम्हाका छायांकार पवन गौतम हुन्।

प्रकाशित :फाल्गुन ३०, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्