जोगिरा सरर.....

जोगिरा सरर.....

- जितेन्द्र साह

फाल्गुन ३०, २०७०

रंगमा संगीतको मेल निकै मादक हुन्छ। त्यही भएर 'जोगिरा सरर' को लयबिना होली खल्लो मानिन्छ। तराई भेकमा होली आएको संकेत दिन केही दिनअघिदेखि बिहान-बेलुका उक्त लोकभाका गाउन थालिन्छ। गाउँलेहरू डम्फु, ढोलक, झ्याली र मुजुराका साथ पूरा जोसमा लोकगीत एवं जोगिरामा रमिरहेका हुन्छन्। यसले बिस्तारै होलीको वातावरण सिर्जना गर्छ र त्यस्तो वातावरणमा रंग खेल्न मन नपराउनेहरू पनि सहभागी हुन बाध्य हुन्छन्।

हिन्दी चलचित्रका 'रंग बरसे भिगे चुनर वाली,' 'होली आई रे,' जस्ता गीतभन्दा एक सरो सुर र तालमा घन्किने 'सरर' बढी सुनिन्छ। मैथिली तथा भोजपुरी चलचित्रमा यो पक्षलाई उत्तिकै महत्व दिइएको पाइन्छ। नेपाली चलचित्र 'तिलहरी' मा अभिनेत्री कृष्टि मैनाली र भुवन केसीलाई 'होरिया होरिया ओ रंग खेले होली' लोकभाकामा जोगिरा नृत्य गराउनु यसकै प्रभाव हो।

जाडो र गर्मीबीचको वसन्त ऋतुको यो चाडमा रंगले अझ स्वाद थप्छ। यो भाकाले रंगहीन र संगीतविहीन जीवन उराठलाग्दो हुने सन्देश बोकेको छ। त्यही भएर उच्च र नयाँ प्रविधिको यो युगमा पनि प्राचीन पर्व होरी र यसको लोक सांगीतिक पक्षको वर्चस्व कायमै छ।

जोगिराले होलीमा जसलाई पनि झुम्न बाध्य पार्छ। यो यस्तो सुन्दर पक्ष हो, जसले रंग र खुसीमा ऊर्जा थप्छ। 'यसमा होलीको पूरा मस्ति समेटिएको हुन्छ,' विराटनगरस्थित पशुपति क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत युवा सुमन निरौला भन्छन्। निरौलाका अनुसार- 'नबुझे पनि झुम्न मन लाग्छ।' होलीका अवसरमा चली आएका लोकलयलाई निरन्तरता दिंदै आफैंले बनाएर वा अरू भाषाका रचनालाई आफ्नो शैलीमा ढालेर पनि सुर बाँधिन्छ। मैतीदेवी बस्ने जनकपुरका हरि मुखियाले यस्तै केही पंक्ति सुनाए :

बरमजियाको पेडा, जनकपुरको पान,

होलीमा सबैतिर भांगैभांग, जोगिरा सरर।

 फागु पूणिर्माको दिन तराईदेखि काठमाडौंसम्म एक-अर्काको उमंगमा सहभागी भएर ढोलक र झ्यालीको तालमा प्रश्नउत्तर शैलीमा उक्त लोकलय गाइएको पाइन्छ। खासगरी राजधानीको गौशाला, कालीमाटी, कमलपोखरी तथा कलंकीजस्ता क्षेत्रमा तराईवासीहरू एउटै थलोमा भेला भएर 'जोगिरा दोहोरी' गाइरहेका भेटिन्छन्। काठमाडौंमै बसाइँ सरेका वा व्यस्तताले घर जान नपाएकाहरूले यतै होली मनाउँछन्। उनीहरू जुनसुकै भाषा र लवजमा भए पनि नेपालीकरण गर्दै जोगिरा गाइरहेका हुन्छन्। सुरुमा प्रश्नात्मक लयमा एक समूहले सोध्छ :

कुन देशको राजा राम्रो, कुन देशकी रानी,

कुन देशको खाना राम्रो, कुन देशको पानी,

जोगिरा सरर, जोगिरा सरर।

अर्को समूहले पनि लयमा झुम्दै जवाफ फर्काउँछ :

स्पेनका राजा राम्रो, बेलायतकी रानी,

स्विट्जरल्यान्डको खाना राम्रो, इजिप्टको पानी,

जोगिरा सरर सरर।

यो एउटा उदाहरण मात्र हो। उनीहरूसँग यस्ता दर्जनौं सँगालो हुन्छन्। यसका लागि धेरै पहिलेदेखि अभ्यास हुन्छ। यसमा रमाइलो, ठट्टाका साथै राजनैतिक, सामाजिक एवं सांस्कृतिक व्यङ्ग्यसमेत मिसिएको हुन्छ। गीतमार्फत विकृति र विसंगतिहरूमाथि सशक्त प्रहार पनि गरिन्छ। जोगीझैं उन्मुक्त भएर राग अलाप्ने हुनाले यसलाई जोगिरा भनिएको हो। यस्तो गायनको कुनै अर्थ नहुन पनि सक्छ। तैपनि सुन्दा रमाइलो लाग्छ। रंगलाई काम, क्रोध, लोभ र मोहको हरेक भाव प्रकट गर्ने संकेतका रूपमा लिइने हुनाले यसमा खुलापन र यौनभाव पनि झल्कन्छ।

'सरर सट्की, पैसा लुटे मोटकी, नाचे पतरकी सरर,' लाई रमाइलोका लागि गाइने एक उदाहरण मान्न सकिन्छ। यसमा कोठीमा पैसा उठाउने भद्दा शरीरकी बाई र नृत्य कला प्रस्तुत गर्ने पातली युवतीतर्फ इंगित गरिएको छ। यद्यपि यही नै अर्थ लाग्छ भन्ने पनि छैन। त्यसैगरी 'कौन तालपर ढोलक बाजे, कौन ताल मृदंग, कौन तालपर गोरिया नाचे, कौन तालपर हम...जोगिरा सरर' लाई अर्को सुन्दर नमूना मान्न सकिन्छ। 'एक टांग पर शंकर नाचे, दुई टांग पर पार्वती.....जोगिरा सरर,' पनि होलीमा निकै गाइन्छ।

कार्य व्यस्तता र समय अभावले राजधानीमा एक दिन मात्र होली मनाइए पनि तराईलगायत मुलुकका विभिन्न भेकमा केही दिन अगावैदेखि युवाहरू डम्फुको तालमा होली गीत र जोगिरा गाउँदै टोलटोल पुग्छन्। 'गाउँका युवाहरू सहर र विदेशतिर लागेकाले पहिलेजस्तो दुई साता अघिदेखि नै रमझम हुँदैन,' मुखिया भन्छन्, 'एक-दुई दिन अघिदेखि वातावरण बन्न थाल्छ।' पहिले श्रीपञ्चमीदेखि फागू पूणिर्मासम्म जोगिरा गाइने गरिएको उनी सम्झिन्छन्।

त्यहाँ आलैपालो एक-अर्काको खुला आँगनमा संगीत भेला हुन्छ। त्यहाँ बिनाभेदभाव दुई दिनसम्म सबै समुदायले होलीको मस्ती लिन्छन्। चिन्नै नसकिने गरी रंगले पोतिएका युवाहरू मैथिली, भोजपुरी, मारवाडी तथा हिन्दी लोक भाका गाउँदै हिंड्दा रंगको डरले घरमा लुकेर बसेकाहरू पनि झ्याल खोलेर नहेरी रहन सक्दैनन्।

जोगिरा मात्र नभएर हिन्दी, नेपाली, मैथिली, नेवारी, मारवाडी, भोजपुरी तथा अवधि भाषाका गीत, चुट्किला, कविता र मुक्तक वाचन पनि रमाइलो हुन्छ। होलीमा मारवाडी गीत 'पल्लु लट्के भाभीका पल्लु लट्के....' र जोगिराभन्दा अगाडी मैथिली भजन ' देवी दुर्गा भवानी माता....' पनि निकै गाइन्छ।

वास्तवमा यो पर्वले मन रंगीन एवं प्रफुल्ल हुनुलाई बढी महत्व दिन्छ। मनमोहक वसन्त ऋतुमा आउने यो पर्वको बेला घाम पनि कुनै आकर्षक रंगजस्तै लाग्छ। होली मनाउने क्रममा पुरानाबाट नयाँ पुस्तामा स्वतः यो लोक परम्पराको हस्तान्तरण भैरहेको हुन्छ।

केही आधुनिक उखान टुक्का

राजाको काम, चारैतिर बदनाम

बाँदरको पुच्छर, टाई न इजार

तरुनी हुँदा सयवटा पोई, मर्ने बेला कोही न कोही।

कलिउडको जात्रा तिघ्राको व्यापार।

सित्तैंमा पाए, भट्टी रित्तै।

के खोज्छस् नेता ? कुर्सी।

घाँटी हेरी हाइनेक किन्नु।

रातभरि सराप्यो, महाजन त जिउँदै।

जोगीको घरमा हिप्पी पाहुना।

एकपल्ट पक्राउ परेको चोर पोस्टम्यानलाई देख्दा पनि भाग्छ।

भुक्ने कुकुर भुकिरहन्छ, टोक्ने कुकुर सुतिरहन्छ।

रातभरि पढ्यो, जाँचमा चाहिँ लड्यो।

मूर्ति चोरलाई पशुपति न गुह्येश्वरी।

बाहुनको टुप्पी एन्टेना न एरियल।

कस्ता-कस्ता आन्दोलनमा गए नपत्याउनेहरू घरमा।

ध्जष्अज द्यगिि ल्य ज्यचल, त्जबत द्यगिि ज्यचलथ (जुन गोरुको सिङ छैन त्यसको नाम तिखे।)

राजाको मति १२ वर्ष प्रजातन्त्रमा राखे पनि बाङ्गाको बाङ्गै।

खाई न पाई दौरामाथि टाई।

नपाउनेले के पायो काँक्रोलाई चियामा चोबेर खायो।

आजकालका केटी स्टाइलको भारी, टाउकोमा भने डिस्को गर्ने जुम्राको ढाडी।

आमा बाबुलाई समस्या टार्न गार्‍हो, छोराछोरीलाई भने स्टाइल नै प्यारो

श्रीमती कति बाठी, बोका स्टाइलको केश काटी

तोङ्बा तान्ने छोरालाई इन्द्रको बाउ चन्द्र आए पनि छेक्न सक्दैन।

दाह्री हेरी शेभ गर्नु अनुहार हेरी प्रेम गर्नु।

आमा पनि ब्युटी छोरी पनि ब्युटी, बाउले गर्नुपर्ने चुलाको ड्युटी।

जुत्ताको माला लगाएको नेता छाला देख्दा तर्सन्छ।

प्रशासनमा घुसखोरी, जनता बोल्दैनन् मुख फोरी।

जेठी बूढीको राम्रो कुरा तितो, कान्छीको चाहिँ झटारो पनि मिठो।

 

प्रकाशित :फाल्गुन ३०, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्