बन्दुकको बयान

बन्दुकको बयान

फाल्गुन ३०, २०७०

आफूलाई सृष्टिको सबैभन्दा सभ्य र शिष्ट मान्ने हे मानव समुदाय, संसारको सबैभन्दा निकृष्ट सिर्जना मानिएको म बन्दुकका तर्फबाट हिंसात्मक नमस्कार !

हुन त बन्दुकको काम पड्किने हो, मानिसले जस्तो बोल्ने होइन । अन्धो भएर आगो ओकल्ने हो, भावनामा चल्ने होइन, तर हामीलाई दुरुपयोग गरेर मानिसले आफ्नो स्वार्थपूर्ति गर्ने कार्यले सीमा नाघ्यो । हाम्रो मौनताको फाइदा लिँदै अपराधको साम्राज्य फैलाउन थालियो । अतः बाध्य भएर हामी सार्वजानिक बयान दिन बाध्य भएका हौं ।

हामीलाई सबैभन्दा दुःख विद्यार्थीका हातमा बन्दुक भेटिएपछि भएको छ । कलम र कापी समात्नुुपर्ने हातहरू बन्दुक बोकेर हिँड्न थालेपछि हामीले मौनता तोड्नैपर्ने अवस्था आएको हो । अहिले बन्दुकको पक्षमा धेरै गुट सक्रिय छन् भने त्यसका विरुद्धमा पनि थुप्रै समूह क्रियाशील देखिन्छन् । हामीलाई मित्र मानेर हिंड्नेहरूको संख्या दिन दुईगुना बढिरहेको पनि थाहा छ । शत्रु मानेर संगठित हुनेहरूको संख्या पनि रात चौगुना चढिरहेको छ । हाम्रो पक्ष र विपक्षमा देखिएको यो अभियानका बीचमा म हाम्रो तेस्रो पक्षीय बयान जारी गर्न चाहन्छु ।

वास्तवमा हामी बन्दुक एक्कासि बन्दुकका रूपमा जन्मिएका होइनौं । जसरी मानिसको सिर्जना वीर्य, भ्रूण, गर्भ हुँदै मानिसमा रूपान्तरण हुन्छ, त्यसैगरी हामी पनि खनिज, धातु, मान्छेको दिमाग हुँदै विभिन्न हतियारका रूपमा सिर्जित भयौं । यसमा हाम्रो कुनै स्वार्थ वा इच्छा केही थिएन । मानिसले नै हामीलाई हिंस्रक बनाए ।

सुरुमा हामी सामान्य धातुका टुक्रा हौं । हामीलाई जे बनाए पनि हुन्थ्यो । जसरी प्रयोग गरे पनि मिल्थ्यो । हामी धातुहरू वारपार गर्ने पुल बन्छौं । सवारी गर्ने साधन बन्छौं । हामी बारुदलाई आगो बाले पनि हुन्थ्यो, उद्योग चलाए पनि चल्थ्यो, बिजुली निकाले पनि मिल्थ्यो । हामीमा कहिल्यै पड्किने रहर जागेन । कसैको ज्यान लिने इच्छा पलाएन, तर मान्छेले धातुको दुरुपयोग गरेर हिंसातर्फ धकेलेपछि मात्र हामी हिंसात्मक बाटोतर्फ लागेका हौं ।

हामीलाई बन्दुक बनाएपछि पनि हामीले आफैं विद्रोह गरेनौं । सुरक्षाका लागि उपयोग गर्लान् कि भन्ने मान्यौं । खेल र मनोरञ्जनमा प्रयोग होला कि भन्ने मान्यौं, तर हाम्रो दुरुपयोगमाथि दुरुपयोग बढ्न थाल्यो । हामीलाई आफ्नो अहंकार पूरा गर्ने माध्यम बनाइन थालियो । हामीलाई माध्यम बनाएर आपराधिक क्रियाकलाप गर्ने लहर चल्यो, जसको फलस्वरूप हामी अहिले सबैभन्दा घृणाको पात्र बन्न पुगेका छौं ।

सिपाही र लडाकुको कुरा छोड्नुहोस्, विद्यार्थी र महात्मा पनि बन्दुकको भाषा बोल्छन् । डाँका र गुण्डाको बातै नगर्नोस्, समाजसेवी र सर्जक पनि बन्दुककै इसारामा चल्छन् । नेतादेखि जोगीसम्म, शिक्षकदेखि डाक्टरसम्म बन्दुकको प्रयोग गरेर आफ्नो स्वार्थ पूरा गर्छन् । मान्छेले आफ्नो आपराधिक मनोकांक्षा पूरा गर्न हामीलाई दुरुपयोग गरिरहेका छन् । हामी हिंस्रक होइनौं, मानिसको मगज हिंस्रक बन्यो । हामी अपराधको माध्यम होइनौं, मानिसको दिमाग अपराधी भएको हो ।

घाम, पानी, जल, अग्नि, वायु, माटो, प्राणीजस्तै हामी धातुहरू पनि यही सृष्टिका सिर्जना थियौं । हामीलाई बारुद बन्ने ज्ञान थिएन । बन्दुक हुने ध्यान थिएन । बम बनेर बदनाम हुने मन थिएन । आफूलाई ब्रह्माण्डकै उत्कृष्ट प्राणी मान्ने मान्छेले आफ्नै मस्तिष्कको दुरुपयोग गर्‍यो । फूल रोप्ने गमला बन्ने धातुलाई बन्दुक बनायो । ज्योति छर्ने बिजुली बन्ने बारुदलाई बम बनायो । आफ्नो निकृष्ट सिर्जनालाई आधार बनाएर मान्छे उल्टै हामीमाथि दोष थोपरिरहेको छ । हामी यसको घोर विरोध गर्छौं ।

प्रकाशित :फाल्गुन ३०, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्