
चलचित्र 'जिगोलो' र चलचित्र 'प्रेमिका'
फाल्गुन १६, २०७०
निर्देशक ः यादव सिलवाल कलाकार ः प्रभाकर श्रेष्ठ, माही सिलवाल, जिया केसी, प्रतिमा श्रेष्ठ, राजु श्रेष्ठ तथा शैलेश पहारी संगीतकार ः अर्जुन पोखरेल
आज शुक्रबारदेखि देशव्यापी प्रदर्शन हुने चलचित्र 'जिगोलो' ले नेपाली समाजमा भित्रिएको अत्याधुनिक जीवनशैलीलाई मुख्य विषय बनाएको छ। चलचित्रको शीर्षक नै 'जिगोलो' अर्थात् पुरुष वेश्या राखिएको छ। निर्देशक यादव सिलवालले सहरी क्षेत्रमा सक्रिय पुरुष वेश्याहरूको अवस्था, उनीहरूको आकर्षण तथा उनीहरूको बाध्यतालाई अनुसन्धानमूलक शैलीमा चित्रण गरेका छन्। नेपाली समाजमा अदृश्य रूपमा विकसित भैरहेको पुरुष वेश्याहरूको सञ्जाललाई चलचित्रले कथानक शैलीमा चित्रण गरेको छ। चलचित्रले पुरुष वेश्याको संख्या बढ्नु राज्यका लागि नै चुनौती भएको वास्तविकता उजागर गर्दै राज्यले यौन व्यापारलाई व्यवस्थित गर्ने कि नगर्ने ? यौन तथा पुरुष वेश्याका बारेमा उचित शिक्षा दिने कि नदिने ? जस्ता प्रश्न पनि उठाएको छ। चलचित्रमार्फत घरमा बस्ने श्रीमतीलाई धनसम्पत्ति मात्र सबै कुरा हो कि उनीहरू अन्य कुरा पनि चाहन्छन् ? श्रीमतीहरूको इच्छा-आकांक्षा पूरा नगर्ने व्यस्त श्रीमान्ले भविष्यमा कस्तो समस्या भोग्नुपर्छ ? भन्ने कुरामा पनि चलचित्रको कथा अघि बढेको छ। चलचित्र जिगोलोमा नायक प्रभाकर श्रेष्ठ पुरुष वेश्याका रूपमा प्रस्तुत भएका छन्। देशभरका करिब ७० वटा चलचित्र हलमा प्रदर्शन हुने यो चलचित्रमार्फत दर्शकले मनोरञ्जनका साथै सकारात्मक सन्देशसमेत पाउने निर्देशक सिलवालको दाबी छ।
निर्देशक ः
रामजी लामिछाने कलाकार ः सुमन सिंह, झरना थापा, सुशील पोखरेल, सुजित रुचाल तथा आरएल महर्जन संगीतकार ः दिनेश सुनाम
निर्माण सम्पन्न भएको करिब दुई वर्षापछि चलचित्र 'प्रेमिका' दर्शकमाझ आउने भएको छ। आज शुक्रबार सार्वजनिक हुने यो प्रेम कथानक चलचित्रमा सुमन सिंह तथा झरना थापाको रोमान्सलाई मुख्य विषय बनाइएको छ। थुप्रै चलचित्र निर्देशन गरिसकेका निर्देशक लामिछानेले यो चलचित्रमा एउटा अनौठो प्रेमकथालाई मुख्य विषय बनाएको दाबी गरेका छन्। चलचित्रमा संसारको सबैभन्दा मीठो चिज नै प्रेम हो भन्ने कुरालाई स्थापित गर्ने प्रयास गरिएको छ। चलचित्रमा माया-प्रेममा रमाइरहेको एउटा जोडीको अचानक विछोड हुन्छ। प्रेममा रमाइरहेका बेला बाध्यतावश प्रेमिका बिदेसिएपछि स्वदेशमै रहेका प्रेमीले उनको सम्झनामा बिताउनुपरेको क्षणलाई चलचित्रमा नाटकीय शैलीबाट चित्रण गरिएको छ। सुखद रूपमा टुङ्गिने यो चलचित्रमा प्रेम गर्नेले त्यागसमेत गर्न सक्नुपर्छ भन्ने सन्देश छ। निर्देशक लामिछानेकै लगानी रहेको यो चलचित्र शुभ-शान्ति फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो। चलचित्रका गीतहरू प्रमोद ढुंगानाले रचना गरेका हुन् भने यसमा सुशील पोखरेलको कथा, दुर्गा पौडेलको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व तथा निर्देशक लामिछानेको नृत्य निर्देशन छ।
प्रकाशित :फाल्गुन १६, २०७०



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्