फागुन ३० मा चियर्स

फागुन ३० मा चियर्स

फाल्गुन १६, २०७०

विभिन्न समयमा प्रदर्शन मिति हेरफेर हुँदै आएको चलचित्र 'चियर्स' अन्ततः आगामी फागुन ३० गतेदेखि देशव्यापी प्रदर्शन हुने भएको छ। पवन गौतमको निर्देशनमा तयार भएको यो चलचित्रमा भूपेन चन्द, पुष्करजंग थापा, राज आर्यन, कृष्टि पौडेल, महिमा सिलवाल आदि कलाकारले अभिनय गरेका छन्। यही चलचित्रबाट अरुण केसी तथा निर्मला महत अभिनयमा डेब्यू गर्दैछन्। राजाराम केसी तथा सजीव श्रेष्ठले निर्माण गरेको चलचित्र चियर्स मित्रताको कथामा आधारित छ।

हमजाएगाको इन्डक्ल्याप

गत माघ ५ गते पोखरामा छायांकन प्रारम्भ गरिएको चलचित्र 'हम जाएगा' ले गत फागुन १० गते इन्डक्ल्याप गरेको छ। सुरेन्द्र पुनद्वारा निर्देशित यो चलचित्रमा बाबु बोगटी, विल्सनविक्रम राई, श्याम राई, रवि गिरी, ऋचा धिताल, मनोज आरसी आदि कलाकारले अभिनय गरेका छन्।

पोस्ट प्रोडक्सनमा माला

कलाकार शिशिर राणाले निर्माण गरेको चलचित्र 'माला' को छायांकन सम्पन्न भएको छ। हाल पोस्ट प्रोडक्सनमा रहेको यो चलचित्रका निर्देशन बबी भूपाल सिंहले गरेका हुन्। चलचित्रमा आर्यन सिग्देल, प्रियंका कार्की, सुमिना घिमिरे, प्रज्वल सुजल गिरी, विद्या कार्की, शम्भू थापा, सुनिता ठाकुर, शिशिर राणा आदिले अभिनय गरेका छन्।

छायांकनमा ताण्डव

चलचित्र 'बधशाला' निर्माण गर्ने स्म्यासिङ एप्पलले दोस्रो चलचित्र 'ताण्डव' को छायांकन प्रारम्भ गरेको छ। यो चलचित्रको निर्देशन बेलायती नागरिक मुर्रे केरले गर्दैछन्। एक्सनप्रधान चलचित्र ताण्डवमा नम्रता श्रेष्ठ, र्‍यापर आशिष राना अर्थात लाहुरे, अनुप बराल, एलेन गुरुङ तथा विपिन कार्कीको मुख्य भूमिका रहनेछ। गत फागनु १० गते छायांकन प्रारम्भ भएको यो चलचित्रका लागि कलाकारले करिब ३ महिना लामो प्रशिक्षण लिएका थिए।

शीर्षक र निर्देशक चयन

'शायद्' तथा 'होस्टल' चलचित्रका निर्माता सुनिल रावलले नयाँ चलचित्रको शीर्षक 'आभास' राखेका छन्। शीर्षकसँगै रावलले चलचित्रको निर्देशकमा चलचित्र सम्पादक सुरेन्द्र पौडेललाई अनुबन्ध गरेका छन्। यो चलचित्रमा रावलसहित अभिनेता तथा निर्माता गोविन्द शाही र दीपक शाहीको पनि लगानी रहनेछ। कलाकारको टुंगो लाग्न बाँकी रहेको यो चलचित्रको छायांकन आगामी वैशाख १८ गते प्रारम्भ हुनेछ।

तोरी लाहुरेको सम्मेलन

आगामी फागुन २३ गते प्रदर्शनमा आउने चलचित्र 'तोरी लाहुरे' ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चलचित्रका बारेमा जानकारी गराएको छ। स्थापित द्वन्द्व निर्देशक एनबी महर्जनले निर्देशन गरेको 'तोरी लाहुरे' सामाजिक कथामा आधारित एक्सन-कमेडी चलचित्र हो। यो चलचित्रमा सुवास थापा, गजित विष्ट, रोहित रुम्बा, दिनेश डिसी, अशिष्मा नकर्मी, समुना केसी आदि कलाकारले अभिनय गरेका छन्।

निर्देशक डीसी सम्मानित

'छ एकान छ' को सफलतापछि उत्साहित निर्देशक दिनेश डीसीलाई काभ्रेमा सम्मान गरिएको छ। काभ्रे महोत्सवको अवसर पारेर निर्देशक डीसीलाई उनले चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै गत शनिबार सम्मान गरिएको हो। त्यसअघि उनी करिब १० दिनसम्म कपिलवस्तु महोत्सवमा उद्घोषकका रूपमा सक्रिय थिए। डीसीले पर्सि आइतबार काठमाडौंमा आयोजना हुने मिका सिंह लाइभ कन्सटको उद्घोषण समेत गर्दैछन्।

आधी बाटो

चलचित्र 'आधी बाटो' को सार्वजनिक प्रदर्शन आगामी चैत २१ गतेदेखि हुने भएको छ। मंगलबार काठमाडौंमा आयोजित एक समारोहमा निर्देशक सबिर श्रेष्ठले यो चलचित्रमा कालिञ्चोकको डाँडादेखि लन्डनको रमझमसम्म समेटिएको जानकारी दिए।  यो चलचित्रमा यश कुमार, जेनिशा केसी, सबिन श्रेष्ठ, अनु शाह, रुवी राणा आदि कलाकारले अभिनय गरेका छन्।

पास भयो भीमदत्त

सेन्सर बोर्डले १२ वटा दृश्य तथा शब्द काट्दै नवल खड्काको चलचित्र 'भीमदत्त' लाई पिजी सर्टिफिकेट दिएको छ। अब यो चलचित्र १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकका साथ हेर्न पाउनेछन्। चलचित्रमा नवल खड्का, सुमिना घिमिरे तथा निशा अधिकारी मुख्य भूमिकामा छन्।

प्रकाशित :फाल्गुन १६, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्