भ्यालेन्टाइन डेमा सांगीतिक कार्यक्रम

भ्यालेन्टाइन डेमा सांगीतिक कार्यक्रम

- विमल खतिवडा

फाल्गुन ९, २०७०

बितेका वर्षहरूमा भ्यालेन्टाइन डे (प्रणय दिवस) मा चितवनमा कमै कार्यक्रम हुन्थे, तर यस पटक भने आधादर्जन बढी स्थानमा भ्यालेन्टाइन डेलाई लक्षित गरी कार्यक्रम सम्पन्न गरिए। सौराहामा अघिल्ला वर्षहरू जस्तै यो वर्ष पनि फुड फेस्टिबल सञ्चालन भयो। फागुन १ देखि ३ गतेसम्म चलेको उक्त फेस्टिबलका मुख्य आकर्षण गायक प्रमोद खरेल, पशुपति शर्मा, पुरुषोत्तम न्यौपाने, रमेशराज भट्टराई, खुमन अधिकारी, कुलेन्द्र विक, पूर्णकला बिसी, रमा न्यौपाने, कमल खत्री, जमुना राना, अमृता लुंगेली रानामगर, उमा गिरी आदि थिए। फुड फेस्टिबलमा जितु नेपाल, युवराज भण्डारी, राजेन्द्र नेपालीले प्रहसनमार्फत दर्शकहरूलाई हंसाए।

त्यस्तै पर्सा बजारमा जोडीहरूले सांगीतिक मज्जा लुटे। टाँडी बजारमा अवस्थित हंस मनोरञ्जन केन्द्रमा आयोजित दुईदिने सांगीतिक कार्यक्रममा युवा जोडीले मात्र नभै विवाहित जोडीले समेत नाचेर भ्यालेन्टाइन डे मनाए। कार्यक्रमको मुख्य आकर्षण गायक तिलकबम मल्ल, अर्जुन लामा, कविता रानाभाट, चितवन आइडल केदार बरुवाल आदि थिए। उक्त कार्यक्रममा सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूको जोडीको सहभागिता बढी थियो।

 उता नारायणगढमा दाताज् इभेन्टसले सांगीतिक कार्यक्रमको आयोजना गरी विवाहित जोडीहरूलाई नचाउने काम गर्‍यो। सेन्टल पाम्प होटलमा आयोजित उक्त कार्यक्रमको आकर्षण भने गायक शिव परियार, आस्था राउत, पशुपति शर्मा थिए। उक्त अवसरमा कला निधि इन्दिरा संगीत महाविद्यालयका कलाकारले गजल सुनाए। राति अबेरसम्म चलेको कार्यक्रममा नयाँ विवाहित जोडीहरूको सहभागिता उल्लेख्य थियो।

प्रकाशित :फाल्गुन ९, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्