भ्यालेन्टाइन डे र कस्मेटिक प्रेम

भ्यालेन्टाइन डे र कस्मेटिक प्रेम

- सुविन भट्टराई

फाल्गुन २, २०७०

वास्तवमा भ्यालेन्टाइन डे यस्तो चाड हो, क्यालेन्डरमा रातो नलागे पनि, यस्तो लाग्छ, यो दिनका आसपासका अरू कैयौँ दिन पनि रातै रंगिएका छन् अनि सडक, चोक, गल्ली, गाडी, कलेज, चौतारा, कफीसप सबैतिर छरिएका छन् रंग।

सहरमा चर्चा छ, यही भ्यालेन्टाइन डेको। कन्टेस्टहरू छ्याप्छ्याप्ती—विजेता कपललाई लञ्च र डिनर। कन्सर्टहरू, अफरहरू। छुटहरू, अवसरहरू। रेडियो, टेलिभिजन अनि पत्रपत्रिकामा समेत गुलाफ फुलेका छन्। बिक्री बढिरहेछन्, गि्रटिङ कार्डहरूको, गुलाफको। गिफ्ट सप खचाखच छ। कारोबार बढेको छ, मुस्कानको, ढुकढुकीको, छट्पटीको।

कोही आएर गुलाफ दिएर जान्छ, बदलामा जवाफ खोज्दै। मन दोधारे छ, फिर्ता गरूँ गुलाफ कि दिउँ केही जवाफ !

एउटा गुलाफ दिएर बदलामा कसैको मन पाइने भए संसारका अधिकांश बगैँचा बाँझै हुने थिए होलान्। अनि सुरु गर्थे होलान् सबै मान्छेले आफ्नो व्यवसाय छाडेर, खेती गुलाफको।

कसैको मन जित्नु 'क्यान्डी क्रश' जित्नुजस्तो थोरै हो र?

अर्काको मन जितेकाहरूसँग सोधौँ। भन्छन्,  'प्रेम नपाउन्जेलको छट्पटीमात्र हो, पाएपछि झन् टेन्सनको खेती। सबै अनुभव त्यै त

हो ! अनुभव नगरुन्जेल के-के न हो, अनुभव गरिसकेपछि यस्तै त हो।'

वास्तवमा प्रेम रोटीजस्तै हो। नपाउन्जेल छैन भन्ने पीर। पाएपछि पीरैपीर।

गिफ्ट दिनै पर्‍यो, ख्वाउनु प्याउनु परिगो, सिनेमा

हेराउनैपर्‍यो। पहिले आफ्नो गोजी भरौँ, अनि मात्र कसैको मन जितौँ। प्रेम पनि हिजोआज कमर्सियल भा'छ। नो बार्गेन अफर, फिक्स्ड रेट। अझ

ट्याक्स समेत लाग्ने ! हरेकको मनमा प्राइस ट्याग लाग्न थालेको छ। सबैको आ-आफ्नै भाउ। तिर्न सक्ने जितेर आफ्नो बनाउँछन्। नसक्नेहरू देवदास बनेर बोतल रित्याउँछन्।

भावुकता कसलाई मन

पर्छ? मन कहाँ हुन्छ, कसैलाई थाहा छैन, जतिसुकै चर्चा भए पनि। सबको बुद्धि पलाएको छ।

हो, प्रेम एउटा कारोबार बनेको छ। बुद्धिले सोचेर, तर्क वितर्क गरेर, घाटा नाफा हेरेर गरिने एउटा व्यवसाय बनेको छ। त्यसैले बुद्धिले गरेको प्रेम पंखाको हावाको शीतल लिएजस्तै हो। अनि मनले गरेको प्रेम, जँगलको सोझो प्राकृतिक हावाको शीतलताजस्तै। प्रेम सोच्ने चीज होइन, महसुस गर्ने चीज हो। हामीलाई सूर्योदय मन पर्छन्, सूर्यास्त मन पर्छन्, हावाको बहाव मन पर्छ, खोलाको आवाज मन पर्छ। किन मन

पर्छ? कुनै कारण नभए पनि काम चल्छ। कोही किन मन पर्छ? किन कसैलाई गर्नु प्रेम? यो सोचिरहनुपर्ने जरुरत छैन। यो सब सोच्नलाई बुद्धि चाहिन्छ, महसुस गर्नलाई मन र इन्दि्रय।

नयाँ जमाना, नयाँ मान्छे, नयाँ सोच। प्रेमसम्बन्धी दृष्टिकोण र शैली पनि नयाँ। अग्र्यानिक प्रेम लोप हुँदो छ। मान्छे कस्मेटिक प्रेममा विश्वास गर्न थालेका छन्, तर प्रेमको वास्तविक मजा त्यतिबेला हुन्छ जब हामी बुद्धि फ्याँकेर प्रेम गछौँ। इज्जत फ्याँकेर प्रेम गर्छौँ। कसैप्रति कमिटेड भएर प्रेम गर्छौँ। प्रेमको असली मज्जा त्यतिबेला नै हुन्छ, जब हामी कसैको फुल टायम लभर बन्छौँ। भनिन्छ नि फिल्मी प्रेम ! तर आजको पुस्ता प्राक्टिकल हुनुमा विश्वास गर्छ प्राकृतिक

हुनुभन्दा पनि।

त्यसैले होला, कस्मेटिक युगसम्म आइपुग्दा मान्छेहरूले प्रेमलाई एकदिने उत्सवका रूपमा मनाउन थालेका। प्रेम गर्न वा एक्स्प्रेस गर्न भ्यालेन्टाइन डे कुर्नु पर्दैन। के १४ फेब्रुरीबाहेकका अरू दिनहरू प्रेमहीन दिन हुन् त? प्रेम एउटा रासायनिक प्रक्रिया हो। यो दिन बढी हुन्छ, यो दिन कम हुन्छ भन्ने हुन्छ र? जहाँ, जुन बेला पनि कम अथवा बढी हुन सक्छ। हरेक पल हरेक क्षण प्रेममा हुनेछौँ हामी, यदि हामीभित्रको रासायनिक प्रक्रियामा कुनै गडबडी छैन भने।

हामीभित्र प्रेमभाव हुनु भनेको घाम लाग्नुजस्तै हो, जुन उदाउनुजस्तै हो। खोला बग्नुजस्तै हो। हावा चल्नुजस्तै हो। कुनै दिन कुर्नुपर्दैन। कुनै पल कुर्नपर्दैन। प्रेम हावामा फिँजिएको छ। खोलासँगै बगेको छ। घाम जुन सँगै उदाउँछ। फरक यति हो— कसले कति लिन्छ ! त्यसैले यदि हामी प्रेममा छौँ भने, बाह्रै महिना बाह्रै काल भ्यालेन्टाइन डे !

प्रकाशित :फाल्गुन २, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्