पहिलो प्रेम

पहिलो प्रेम

- नरेन्द्र रौले

फाल्गुन २, २०७०

आई लभ यू भन्नै सकिएन

मनचिन शाक्य, मोडल

तीन अक्षरको 'आई लभ यु' जति छोटो छ, भन्न त्यति नै गार्‍हो। मैले पहिलो पटक मन पराएकी युवतीलाई 'आई लभ यू' भन्नै सकिन । ब्रुक फिल्ड कलेजमा प्लस टु पढ्दा कलेजकै एक युवतीलाई मैले मन पराएँ। उनी कलेजकै सुन्दरीमा गनिन्थिन्। म १२ कक्षामा पढ्थें। उनी मभन्दा एक वर्ष जुनियर थिइन्।

उनको हेराइ नै नशालु। त्यसमाथि शारीरिक बनावटको त कुरै नगरौं। म एकदमै आकषिर्त भएँ। म त्यो बेला २ लाख रुपैयाँ पर्ने भिआर बाइक चढ्थें। त्यसैले पनि धेरैको नजरमा परेको थिएँ। मैले मन पराएकी युवतीलाई पनि मेरो बाइकको पछाडि बस्ने रहर रहेछ। हामी नजिकिन थाल्यौं। मैले 'कफी खान जाऊँ' भनेर प्रस्ताव राखें। उनले 'हुन्छ' भनिन्। हाम्रो पहिलो डेट नयाँ बानेश्वरको एउटा रेस्टुराँमा भयो। त्यसपछि हामी कैयौं दिन क्याफेहरू पस्यौं। प्रायःजसो ब्ल्याक कफी अर्डर गथ्र्यौं। त्यही थियो, मेरो पहिलो प्रेम। मनमनै मन पराए पनि सीधै भन्न सकिएन। एकदम गार्‍हो भयो। निरन्तर आठ महिना हामीबीच त्यसरी नै भेटघाट भयो। पछि उनकी दिदीमार्फत उनको विवाह हुँदैछ भन्ने कुरा सुनें। लेखेको कुरा भएरै छाड्दो रहेछ, सोचेको कुरा पूरा नहुने रहेछ।  अहिले पनि मलाई ती दिन सम्झनामा आइरहन्छन्। म कम बोल्थें, उनी बोलिरहन्थिन्। ब्ल्याक कफी पिएको, चिनी कम हालेको क्षण घरीघरी सम्झिरहन्छु

पहिलो भेटमै विवाह गर्न मन लाग्यो

राजेन्द्र अर्याल, सिईओ, एनआईसी बैंक

एसएलसीपछिको समय संघर्षमै बित्यो। १७ वर्षको कलिलो उमेरदेखि म विज्ञापन एजेन्सीमा काम गर्न थालें। त्यतिबेला धेरैले यो पेसालाई राम्रो रूपमा लिदैनथे। तैपनि मेरो संघर्ष रोकिएन। बिहान ८ देखि राति १२ बजेसम्म निरन्तर संघर्ष गरिरहन्थें । पछि विज्ञापनको जमाना बदलिँदै गयो। रेडियो, टेलिभिजन र पत्रपत्रिकामा काम गर्नेहरूसँग भेटघाट बाक्लिँदै गयो। कैयौं युवती मलाई विज्ञापनमा बोल्न दिनुहोस्, अभिनय गर्न दिनुहोस् भनेर प्रस्ताव राख्थे। मलाई खासै कसैले आकषिर्त गरेनन्। यस्तै २४ वर्षको उमेरमा एक युवतीसँग भेट भयो, नाम- पूनम शर्मा। घर जनकपुर रहेछ। यहाँ काठमाडौं मावल आएका बेला साथीकी श्रीमतीमार्फत मेरो उनीसँग भेट भयो।

पहिलो भेटमै म यति तानिएँ कि उनैसँग विवाह गर्न मन लाग्यो। लजालु स्वभाव, गोरी, आकर्षक जीउडाल, कम बोल्ने बानी मलाई एकदमै राम्रो लाग्यो। एक जना साथीलाई लिएर म जनकपुर पुगें। उनको बुबालाई भेटेर विवाह गर्छु भन्ने प्रस्ताव राखें। मेरो घरमा उनको तस्बिर देखाएँ। भेट भएको ५ महिनामै हाम्रो विवाह भयो। अहिले १६ वर्ष बितिसक्यो, सन्तानहरू जन्मिसके। तैपनि पहिलो भेटजस्तै लाग्छ। सधै एकनासको जीवन छ र हाम्रो समय सुखपूर्वक बितिरहेको छ।

नौ वर्ष प्रेम गरियो

देबेन गिरी, गीतकार

पहिलो पटक १८ वर्षको उमेरमा म प्रेममा परें। म बागबजारको लिंकेज कम्प्युटर इन्स्िट्च्युटमा कम्प्युटर तालिम लिन्थें। त्यहीं आउँदा-जाँदा एक युवतीमाथि नजर पर्‍यो। उनी पनि कम्प्युटर तालिम  लिन आएकी थिइन्। पहिलो भेटमै उनी मेरो नजरमा परिन्। धेरै नबोल्ने, नखुल्ने स्वभाव थियो उनको। विशेषगरी ठूला गाजलु आँखाहरूले मलाई लोभ्याउँथे। अझै सम्झन्छु, उनले कुर्ता-सुरुवाल लगाएकी थिइन्।

म उनलाई छिट्टै प्रेमप्रस्ताव राख्न आतुर थिएँ। उपयुक्त अवसर कुरेर बसेको थिएँ। एक दिन त्यही कम्प्युटर इन्स्िटच्युटबाट ककनी पिकनिक जाने भइयो। मैले सोचें, अब त्यहीं प्रेम प्रस्ताव राख्नुपर्छ। सबै जना मेरी केटी साथी छिन् भन्थे। त्यो देखेर मलाई पनि अब बनाउनुपर्छ भन्ने लाग्थ्यो। म अलि नक्कले स्वभावको थिएँ। त्यो बेला म क्यामेरा, वाकम्यान बोक्थे, अभिनय पनि गर्थें। ककनी पिकनिक गएका बेला प्रशस्त तस्बिर खिचें। यस्तो संयोग जुर्‍यो, एउटा पुरानो घरको पिंढीमा बसेर मैले मन पराएकी तिनै युवती सुचित्रा भण्डारीसँग तस्बिर खिचाइयो। मैले बहाना बनाएँ, 'तिमीलाई भेटेर यो तस्बिर  दिनुपर्छ। फोन नम्बर देऊ न।' उनले भनिन्, 'बरु तस्बिर चाहिँदैन। फोन नम्बर दिन्नँ।' मलाई रिस उठ्यो। 'उसो भए ठीक छ। म यो तस्बिर पत्रिकामा छापिदिन्छु' भनें। डरले हो कि किन  उनले फोन नम्बर दिइन्।

२१ वर्षअघिको कुरा हो यो। त्यतिबेला मोबाइल थिएन। मैले फोन गरें। जमलको रेस्टुराँमा भेटेर प्रेमप्रस्ताव राखें। निर्धक्क भनें, म तिमीलाई मन पराउँछु। तिमीले 'हुन्छ' भनिनौ भने मलाई दुःख लाग्नेछ। उनले दुई दिनको समय मागिन्। यता मलाई रातभर निन्द्रा परेन। दुई दिन बिताउन दुई वर्ष काटेजस्तो भयो। हामीले भृकुटीमण्डपमा भेट्यौं। उनले 'ओके' भनेपछि मैले लामो सास फेरें। हामीले उभिएरै कुराकानी गर्‍यौं। म त्रिचन्द्रमा पढ्थें, उनी ल क्याम्पसमा। हप्ता, दस दिनमा भेट हुन्थ्यो। पछि विश्वभाषामा पढ्न थालेपछि भेटघाट बाक्लियो। उनी घुम्न त्यति नरुचाउने, मैले त्यति जोड पनि गरिनँ। हामीले एउटै चलचित्र हेर्‍यौं, रंगीला। हामीबीच नौ वर्ष प्रेमसम्बन्ध रह्यो। उनी काठमाडौं, कपनकी बासिन्दा, मचाहिँ गाउँबाट आएको साधारण युवक। मेरो प्रेम विवाहमा परिणत हुने अवस्थामा आइपुग्यो। मैले सुचित्रालाई पाउन के मात्र गरिनँ ? उनको घरमा काम गर्नेहरूलाई चलचित्र हेर्न लान्थें। बेलाबेला उनकी आमालाई पनि डिनरमा बोलाउँथें।

मेरी पहिलो प्रेमिकासँग मैले विवाह गरेरै छाडें। उनी पहिलेभन्दा पनि अझै राम्री भएको पाउँछु। म अहिले धेरै खुसी छु। उनको स्वभाव गम्भीर खालको छ। म चाहन्छु, उनी सरल बनून्, बेलाबेला मसँग जिस्किउन्। उनी मेरो साथमा नभएको भए म यहाँ हुन्नथें। मेरो कर्मलाई उनले सही बाटोमा लगाइन्।

प्रकाशित :फाल्गुन २, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्