जम्दैछ 'शिसु’ जोडी

जम्दैछ 'शिसु’ जोडी

माघ १७, २०७०-

हिमालय टेलिभिजनमा लामो समयदेखि 'जोगिन्दर पानावाला' कार्यक्रम सञ्चालन गर्दै आएका हास्यकलाकार शिवशंकर रिजाल यतिबेला महोत्सवहरूमा व्यस्त छन्। उक्त कार्यक्रममा पान पसलेका रूपमा प्रस्तुत भएर विभिन्न क्षेत्रका सेलिब्रेटीसँग रमाइलो कुराकानी गर्ने शिवशंकरलाई हास्य कलाको क्षेत्रमा 'जोगिन्दर पानवाला' को उपाधि प्राप्त छ। हास्यश्रृंखला 'मेरी बास्सै' मा धुर्मुसका ससुराको भूमिका निर्वाह गर्ने सुरेन्द्र केसी भने 'मूलासाग' उपनामबाट लोकप्रिय छन्। यतिबेला शिवशंकर-सुरेन्द्रको 'शिसु' जोडी दर्शकलाई स्ट्यान्ड अप कमेडी तथा प्रहसनमार्फत हँसाइरहेको छ। गाईजात्रे हास्यव्यंग्य कार्यक्रममार्फत बाँधिएको यो जोडी यतिबेला देशका विभिन्न जिल्लामा सञ्चालित महोत्सवहरूमा सहभागी भैरहेको छ। दुवै कलाकार हप्ताको पाँच दिनभन्दा बढी काठमाडौंबाहिरै हुन्छन्। गत शनिबार पोखरामा आयोजित औद्योगिक मेलामा सहभागिता जनाएको यो जोडीले आइतबार लमजुङ पुगेर दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो भने उनीहरू सोमबार बनेपामा सम्पन्न कार्यक्रममा पनि प्रस्तुत भए। मंगलबार हेटौंडाको महोत्सवमा दर्शक हँसाएको यो जोडी आगामी सातासमेत उत्तिकै व्यस्त छ। कार्यक्रममै सहभागिता जनाउन जोगिन्दर पानवाला गत बुधबार मलेसिया उडेका छन्।

थेगोका कारण लोकप्रिय

नेपाल टेलिभिजनबाट प्रसारण भैरहेको एउटा हास्यश्रृंखला कम समयमै दर्शकको मन जित्न सफल भएको छ। प्रत्येक शुक्रबार राति ८ः५० बजे प्रसारण हुने हास्य श्रृंखला 'भद्रगोल' को आज साँझ १६ औं श्रृंखला प्रसारण हुँदैछ। प्रसारण भएको चार महिना नबित्दै श्रृंखलाले लोकप्रियता हासिल गरेकोमा निर्देशक शंकर आचार्यको युनिट उत्साहित छ। सीताराम कट्टेल धुर्मुसका भाइ कुमार कट्टेल 'जिग्रीहजुर' को लेखन तथा मुख्य सहायक निर्देशन रहेको यो श्रृंखला कम समयमै लोकप्रिय हुनुमा यसका कलाकारले प्रयोग गर्ने थेगोलाई पनि प्रमुख कारण मानिएको छ। मिडिया हबको यो टेलिश्रृंखलामा कुमार कट्टेल, अर्जुन घिमिरे 'पाँडे', सुवास कार्की, राधा श्रेष्ठ, कमलमणि नेपाल, सीपी पुडासैनी, सुजित थापा, मनीषा श्रेष्ठ, हरि निरौला आदि कलाकारले अभिनय गरेका छन्। यो श्रृंखला समसामयिक विषयमा आधारित छ। टेलिश्रृखंलामा बोलिने थेगोहरूमध्ये के रे बुंगो, तनावै तनाव छ, हजुर वरिष्ठ हस् त नमस्ते, जस स्लो मोसन, मान्छे ल्याङ-ल्याङ पूरै काका लोकप्रिय भैसकेको छ ।

प्रकाशित :माघ १७, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्