क्षितिजा शाक्य, नायिका

क्षितिजा शाक्य, नायिका

माघ १७, २०७०

नेपाली टेलिशृंखला 'पर्खाल' बाट कला यात्रा प्रारम्भ गरेकी नायिका क्षितिज शाक्य शिष्ट, सरल भैकन पनि जुझारु स्वभावकी छिन्। उनको पहिलो ठूलो पर्दाको चलचित्र घामछायाँ हो भने शाक्यले आधा दर्जन नेपाली चलचित्रमा अभिनय गरिसकेकी छिन्। क्षितिजाले तामिल भाषाको चलचित्र 'मधुरम'मा गरेको अभिनयबाट राम्रै प्रशंसा बटुलेकी थिइन्। लामो समय चलचित्र क्षेत्रबाट टाढा रहेकी शाक्यले हाल केही (सन्त्रास र मिस नेपाल) चलचित्रमा अभिनय गरेकी छिन्। शुभेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र 'मिस नेपाल'को विषयलाई लिएर निर्मात्री तथा नायिका शुभेच्छा थापासँग भएको विवादका कारण अहिले उनी चर्चामा छिन्।

चलचित्र मिस नेपालमा दर्शकहरूले तपाईंलाई कस्तो भूमिकामा हेर्न पाउनेछन्?

मैले यसमा अभिनय मात्र होइन्, चलचित्रलाई सफल बनाउन हरसम्भव भूमिका निर्वाह गरेकी थिएँ। चलचित्रमा म महत्वपूर्ण भूमिकामा देखा पर्नेछु। दर्शकहरूले मेरो अभिनय र भूमिकाको अवश्य पनि प्रशंसा गर्नुहुनेछ।

चलचित्र कस्तो रहला भन्ने अनुमान गर्नुभएको छ?

यो चलचित्रलाई सफल बनाउन कलाकारहरू, निर्देशक, क्यामेराम्यान, स्पोट ब्वायदेखि संलग्न सबैको अहं योगदान छ। चलचित्रको कथा पनि साह्रै राम्रो लागेको हो। हामीले समग्रमा राम्रो चलचित्र बन्ने अनुमान गरेका थियौं, तर अहिले निर्मात्री तथा नायिका शुभेच्छा थापाले छायांकन गरिएका महत्वपूर्ण दृश्य सम्पादन गर्दै रि-सुट गराएको कुरा सुनेकीले चलचित्र सोचेजस्तो नहुन सक्छ भन्ने लागेको छ। चलचित्रको रिलिजसम्म कथा र मेरो भूमिका कस्तो देखा पर्ने हो, अन्यौल छ। त्यसैले अब आइन्दा चलचित्र मिस नेपालसँग मेरो कुनै सम्बन्ध छैन। उक्त चलचित्रको विषयमा म केही बोली हाल्ने पक्षमा पनि छैन।

आफूले अभिनय र मेहनत गरेको चलचित्रप्रति यतिसम्मको पूर्वाग्रह किन नि?

चलचित्रप्रति मेरो कुनै पूर्वाग्रह होइन। एडिटिङको समयमा आएर निर्मात्री शुभेच्छाले मेरो महत्त्वपूर्ण दृश्य सम्पादन गर्नुभएको कुरा सुन्नमा आएको छ। त्यसले मलाई साह्रै चित्त दुखाएको छ। अन्तिम समयमा आएर मेरो भूमिकालाई सम्पादन गरेकाले मैले बाध्य भएर त्यस्तो भन्नुपरेको हो।

भनेपछि सम्पादनको यो हल्लाले तपाईं र निमात्री शुभेच्छाबीच विवाद उत्पन्न भएको छ अहिले?

उनी मेरी धेरै पुरानी साथी हुन्। उनी पनि महिला हुन। उनी पनि कलाकार, म पनि कलाकार। उनले यो चलचित्र निर्माणमा पैसाको लगानी र मेहनत दुवै गरेकी छिन् तर मैले पनि उनले जत्तिकै मेहनत र समय लगानी गरेकी छु। उनीसँग पारिश्रमिक वा अन्य कुनै विषयमा मनमुटाव होइन। मेरा महत्वपूर्ण दृश्य सम्पादनका कारण मात्र चित्त दुखाएको हो। अब आइन्दादेखि यो चलचित्रसँग मेरो कुनै नाता सम्बन्ध रहेन भन्ने मात्र हो। त्यस्तो पानी बाराबारको स्थिति त नभनिहालौं।

तपाईंलाई आफ्नो दृश्य सम्पादनले साह्रै चित्त दुखाएको रहेछ। पहिले कुनै सम्झौता भएको होला नि?

मैले उहाँलाई धेरै विश्वास गरेकी थिएँ। हाम्रो लिखित त होइन, मौखिक रूपमा सम्झौता भएको थियो। चलचित्रमा लिड रोल उहाँकै भए पनि गीतका दृश्यमा दुवैको बराबर दृश्यांकन हुनपर्छ भन्ने थियो, तर गीतमा मात्र होइन, मैले धेरै आशा गरेको महत्त्वपूर्ण दृश्यहरू सम्पादन भएको छ भन्ने सुन्दा साह्रै दुःख लागेको छ।

यस्तो परिस्थितिमा के हुन सक्यो भने तपाईंको चित्त बुझ्छ ?

यो चलचित्र नेपाल र नेपालीमाझ मात्र होइन कि विश्वका अन्य भाषामा समेत डबिङ गरेर प्रदर्शन गर्नुपर्छ भन्ने मान्यता राख्छु म। मेरो चाहना भनेको मैले निर्वाह गरेको पात्रको भूमिकाअनुसारको महत्वपूर्ण दृश्यहरू चलचित्रमा रहनुपर्छ भन्ने हो। शुभेच्छा मेरो जन्मजात शत्रु होइन। हामी सँगै हिँडेका सहयात्री पनि हौं। यति कुरामा विश्वास दिलाउन सकेको अवस्थामा मेरो चित्त पनि शान्त हुने थियो। मैले चलचित्रमा पुर्‍याएको योगदानबाट समेत सन्तुष्टि प्राप्त गर्ने थिएँ, साथसाथै हाम्रो लामो मित्रता, सद्भाव र सहयोगको यात्रा पुनः कायम रहन्थ्यो।

‍- राजेन्द्र कार्की

प्रकाशित :माघ १७, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्