Teej banner
बेस्ट म्युजिक भिडियो

बेस्ट म्युजिक भिडियो

पुस १९, २०७०

गायक सीताराम पोखरेलले गाएका म्युजिक भिडियोहरूको डिभिडी एल्बम 'द बेस्ट म्युजिक भिडियो अफ सीताराम पोखरेल' काठमाडौंमा सार्वजनिक भएको छ। गायक पोखरेलले अघिल्लो शनिवार सञ्चारकर्मीमाझ १० वटा म्युजिक भिडियोको उक्त एल्बम आफैंले सार्वजनिक गरेका हुन्। पछिल्लो समयमा सुन्नेभन्दा हेर्ने गीत-संगीतले दर्शकको मन जितिरहेको मौकामा आफ्ना लोकप्रिय गीतका म्युजिक भिडियोलाई डिभिडीको स्वरुप दिइएको गायक पोखरेलले बताएका छन्। ती भिडियोमा झरना थापा, निशा अधिकारी, अरुणिमा लम्साल, सुमिना घिमिरे आदिले अभिनय गरेका छन्। २०५८ सालमा 'खोजी हेरिनौ' एल्बम सार्वजनिक गरेका पोखरेलले त्यसपछि 'बिनाकारण', 'स्पार्क', 'अक्टोबर फोर' तथा 'सम्मान' एल्बम बजारमा ल्याइसकेका छन्।

अनमोल सृष्टि

गायक तथा संगीतकार मेघराज मगरातीका आधुनिक गीतको अडियो तथा भिडियो एल्बम 'अनमोल सृष्टि' लाई नायक राजेश हमाल तथा संगीतकार शम्भुजित बासकोटाले संयुक्त रूपमा विमोचन गरेका छन्। विमोचित एल्बमको 'अलिकति खुसी...' गीतको म्युजिक भिडियोमा राजेश हमालले अभिनय गरेका छन्। भिडियो एल्बममा पाँचवटा गीतका म्युजिक भिडियो हेर्न सकिन्छ। काठमाडौं तथा हङकङमा छायांकन गरिएका भिडियोहरू कमल राई तथा गायक मगरातीले निर्देशन गरेका छन्।

चोखो माया

गायिका बेनु राउतको पहिलो एल्बम 'चोखो माया' काठमाडौंमा सार्वजनिक भएको छ। 'हाँसिराख बोलिराख' गीत लोकप्रिय भएपछि सांगीतिक क्षेत्रमा सक्रिय भएकी राउतले यो एल्बममा सातवटा गीत समावेश गरेकी छिन्। सुवास भुसाल, ओम सुनारको गीत तथा सन्तोष प्रगाढ र सुवास भुसालको संगीत समेटिएको यो एल्बमको हाँसिराख...गीतको म्युजिक भिडियो पनि दर्शकले मन पराएका छन्।

प्रकाशित :पुस १९, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्