रेनुकासिंह ठकुरी
२१ वर्षीया रेनुकालाई तरबुजा एकदमै मन पर्ने फल हो । ‘पाए त एक ठाउँमा बसेर दुईवटा तरबुजा सिध्याउँछु होला,’– रेनुकाले हाँस्दै भनिन् । आफूलाई सदा मेन्टेन राख्न रुचाउने रेनुका खानमा भने अलिक चुजी नै छिन् । ‘मेरो खानपिनको सूचीमा खानेकुरा कम र नखानेकुरा धेरै छन्’ भन्ने रेनुकाको वजन ४८ किलो छ भने उचाइ ५ फिट ६ इन्च छ । नाच्न असाध्यै रुचाउने रेनुका नाच्नु नै आफ्नो व्यायाम भएको बताउँछिन् ।
हाल काठमाडौं, बानेश्वरमा बस्ने रेनुकासिंह ठकुरीको मूलघर धनगढी हो । सानैदेखि मोडलिङमा रुचि भएको बताउने रेनुकाले अहिलेसम्म १२ वटा म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन् । अमिर शेखको गीत ‘रेलको भाडा’को म्युजिक भिडियोका लागि दुई वर्षअघि पहिलो पटक क्यामेरा फेस गर्दा सहज महसुस भएको र आफू यही कार्यका लागि जन्मिएको आभास भएको बताउने रेनुकाले एउटा हिन्दी गीतको म्युजिक भिडियोमा समेत मोडलिङ गरेकी छिन् । चलचित्रमासमेत उनको रुचि छ, तर अझै धेरै कुरा सिक्न बाँकी रहेको रेनुका बताउँछिन् । रेनुकाले ५० भन्दा बढी फेसन शोमा सहभागिता जनाइसकेकी छिन् । पुराना गीत सुन्न रुचाउने रेनुकामा पुस्तक पढ्ने रुचि पनि छ । उनी बारम्बार खालिद होसेनीको ‘थाउजेन्ड स्प्लेनडिड सन्स’ पढ्छिन्, रेनुका भन्छिन्– ‘त्यो मेरो फेभरेट पुस्तक हो ।’
सुव्रत आचार्य
तस्बिर : महेश प्रधान
पहिरन : स्टाइल, सिटी सेन्टर
लोकेसन : डाइनिङ पार्क रेस्टुराँ एन्ड लाउन्ज