सुर्खेतमा जन्मिए पनि बाल्यकालदेखि नै काठमाडौंमा हुर्किएकी मिनु शाही ठकुरी संगीतकी विद्यार्थी हुन् । ललितकला कलेजमा संगीत अध्ययन गरेकी मिनुले संगीतकार न्ह्यू बज्राचार्यसँग क्लासिकल म्युजिक सिकेकी छिन् । आगामी फागुन महिनामा विक्रम थापाको शब्द तथा संगीतमा पहिलो गीत रेकर्ड गरेपछि उनी औपचारिक रूपमा गायिका बन्नेछिन् । ‘हाई स्केलका गीत गाउन रुचाउँछु,’ ५ फिट ५ इन्च अग्ली मिनु भन्छिन्— ‘नेपालमा हाई स्केलमा गीत गाउने गायिकाको संख्या कम छ भन्ने सुनेकी छु, म त्यो अभाव केही हदसम्म पूरा गर्न चाहन्छु ।’
गायनमा करियर बनाउने निर्णय गरे पनि मिनुले मोडलिङलाई सौखका रूपमा लिएकी छिन् । विगतमा केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी मिनु आफूले गाउने सबै गीतका भिडियोमा आफैंले अभिनय गर्ने गर्ने योजना बनाएकी छिन् । गायिका अरुणा लामाको गायनबाट प्रभावित मिनु फुर्सदमा पुराना गीत सुन्न रुचाउँछिन् । लङ गाउन तथा कुर्ता–सलवार मिनुलाई मन पर्ने पहिरन हुन् । प्रेम तथा विवाहका बारेमा कुनै योजना नबनाएकी मिनु आफ्नी आमालाई सबैभन्दा मिल्ने साथी मान्छिन् । ‘आमाले जोसँग विवाह गर भन्नुहुन्छ, उसैसँग विवाह गर्ने मेरो योजना छ,’ मिनु भन्छिन्— ‘समय आधुनिक भए पनि हामीले बुवा–आमालाई सम्मान गर्नुपर्छ ।’
कृष्ण भट्टराई
तस्बिर : कमल श्रेष्ठ/ www.glamournepal.com
मेकअप : सिर्जना कार्की
लोकेसन : माख्व गार्डेन रेस्टुराँ, कीर्तिपुर