मैदान बाहिर

सारापोभाको सम्बन्ध

- साप्ताहिक संवाददाता


रूसकी सुन्दर टेनिस खेलाडी मारिया सारापोभाको सुन्दरताको चर्चा सधैं हुन्छ, तर उनको निजी जीवन पनि त्यसका साथै जोडिएर चर्चामा आइरहन्छ । पाँचवटा ग्रान्ड स्लाम विजेता ३१ वर्षीया सारापोभा हिजोआज आफ्ना नयाँ प्रेमीका साथ जीवनको मज्जा लुटिरहेकी छिन् ।

उनी आफ्नो मायालाई खुलेआम सार्वजनिक गर्न पनि चुकेकी छैनन् । उनका प्रेमी अलेक्जेन्डर गिल्स लन्डनमा बस्छन् र उनी एउटा प्रतिष्ठित कम्पनीका अध्यक्ष हुन् । 

मारिया सारापोभा अहिले युएस ओपनको तयारीका लागि अमेरिकामा छिन् । यद्यपि उनको नजर ग्रान्ड स्लामका साथै अलेक्जेन्डरतिर पनि भएको बताइन्छ । अलेक्जेन्डरले पनि उनलाई निराश बनाउन चाहेनन् र आफैं पनि न्युयोर्क पुगे । 

अलेक्जेन्डर र सारापोभाका बीच अफेयरको सुरुवात गत जनवरीतिर भएको हो । सारापोभाले एक–दुई वर्षपछि मात्र कसैसँग सम्बन्धको सुरुवात गरेकी थिइन् । यसभन्दा पहिले उनको अफेयर बुल्गेरियाका टेनिस खेलाडी ग्रिगोर दिमित्रोभका साथ थियो ।

सन् २०१५ मा उनीहरू बीचको सम्बन्ध समाप्त भएको थियो । प्रशंसकहरू छिट्टै सारापोभाको नयाँ अफेयर विवाहमा परिणत होस् र उनको वैवाहिक जीवन राम्रोसँग बितोस् भन्ने चाहिरहेका छन् । 

प्रकाशित: भाद्र २६, २०७५