अन्तरवार्ता

उनीहरुले पीडितको टाउको बेचेर कमाउने हुन्

- जनक तिमिल्सिनाभिषा काफ्ले
 
सावित्रा सुवेदी बाराको सामान्य परिवारमा जन्मिएकी हुन् । राजनीतिशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण सुवेदी माइतीघर मण्डलामा बलात्कारीलाई फाँसीको माग गर्दै भएको पेटिकोट आन्दोलनको अंग्रपंक्तिमा देखिएयता निरन्तर चर्चामा छिन् । सानैदेखि ब्वाइज कट केशविन्यासमा केटाजस्तै ठाँटिएर हिँड्ने सावित्रालाई पहिल्यैदेखि महिला र पुरुषमा केही फरक छैन भन्ने लाग्थ्यो । अहिले उनी बलात्कारविरुद्धको अभियानलाई सिर्जनशील र रचनात्मक रूपमा अघि बढाउन लागिपरेकी बताउँछिन् । उनीसँग साप्ताहिकका लागि जनक तिमिल्सिना /भिषा काफ्लेले गरेको कुराकानी :
पेटिकोट आन्दोलनको सोच कसरी आयो ? 
म विगत पाँच वर्षदेखि बलात्कारीलाई फाँसी हुनुपर्छ भन्ने अभियान चलाएर हिँडिरहेकी थिएँ । गएको १६ गते झापामा ४ वर्षकी नानी बलात्कृत भइन् । त्यसको तीन दिनपछि म झापा पुगें, त्यहाँ मैले नानीको उपचार गराउनेदेखि सहयोग संकलनसम्म गरें । मैले त्यहाँ यो झापा हो, यहाँबाट छुट्टै प्रकारको आन्दोलन चलाऊँ भने । त्यहाँ हामीले ‘बलात्कारीलाई फाँसी, बलात्कारीको अंगमाथि आँशी’ भन्दै प्रदर्शन गर्‍यौं, त्यो भाइरल भयो । त्यहाँको मेरो एउटा भाषणले १० लाखसम्म भ्यूज पायो । त्यसपछि मलाई एउटा च्यानलले अन्तर्वार्ताका लागि बोलायो, त्यही सिलसिलामा म काठमाडौं आए । अन्तर्वार्ता दिएर बाहिर मात्र के निस्किएकी थिएँ, एक जनाले झापामा फेरि सात वर्षकी नानी बलात्कृत भइन् भन्दै फोन गरे । त्यसपछि म अब काठमाडौं केन्द्रित आन्दोलन गर्नुपर्छ भन्नेमा पुगें । फेसबुकमा हाम्रो एउटा फेमिनिस्ट इन नेपाल भन्ने समूह छ, जसमा महिला राजनीतिज्ञ, पत्रकार आदि हुनुहुन्छ, त्यसमा मैले काठमाडौंमा प्रदर्शन गर्छु भने । उनीहरूले कस्तो प्रदर्शन गर्ने भनेर जिज्ञासा राखे । सिट्ठी जुलुस, टाउकोमा कालो प्लास्टिक लगाएर प्रदर्शन गर्ने आदि काम हामीले गरिसकेका छौं, अब पृथक् काम गरौं भनें । त्यही क्रममा अलि राम्रो खालको प्रदर्शन गर भन्ने सुझाव आएपछि मेरो दिमागमा पेटिकोट आन्दोलन गर्ने विचार आयो । 
 
वादी महिलाहरूले सिंहदरबारमा अर्धनंग्न आन्दोलन गर्दा सरकारले चाँडै ध्यान दियो भनेर  तपाईंहरूले पनि त्यसको सिको गरेको हो ? 
सिको गरेको होइन, तर, अर्धनग्न प्रदर्शन गरिसकेपछि कम्तीमा हामीले सबैको ध्यान त आफ्ना मागप्रति खिच्यौं नि । यो समाजले राम्री केटी भन्दा पनि हट केटीतिर बढी ध्यान दिन्छ । त्यसैले हामीले सबैको ध्यान आकर्षित गर्न, साथ नदिए पनि सवालचाहिँ उठाओस् भनेर पेटिकोट जुलुस गरेका हौं ।
 
के पेटिकोट आन्दोलनमार्फत पुरुषहरूको ध्यानाकृष्ट गर्न खोज्नुभएको हो ? 
होइन, हामी पुरुषविरोधी होइनौं । हामी अतिवादी महिला पनि होइनौं । हामी पितृसत्तात्मक समाजका विरोधी हौं । यही अभियानमा पनि मलाई ९५ प्रतिशत पुरुषको साथ छ । अस्ति केश काट्ने बेला पनि मसँग चार जना पुरुष साथी हुनुुहुन्थ्यो, तर एक जना पनि महिला हुनु भएन । धेरैले हामी नारीवादी भन्नेबित्तिकै पुरुषविरोधी भनिदिनुहुन्छ, हामी पुरुषविरोधी होइनौं र हुन पनि सक्दैनौं । पुरुष हाम्रा सारथि हुन्, हामी सँगसँगै हिँडेका छौं ।
 
पेटिकोटलाई कसरी बलात्कारसँग जोडेर आन्दोलन गर्नुभयो ? 
यौन भनेको मानिसको जन्मसिद्ध अधिकार हो । यौन मानिसको आधारभूत आवश्यकता हो, त्यो आफ्नो ठाउँमा छ । दैनिक रूपमा जसरी बलात्कार हुने र त्यसपछि हत्या हुने घटना घटिरहेका छन्, हामी महिलाहरूलाई त्यो कुरा त दुख्छ नि । कसैको इच्छाविपरीत, जबरजस्ती, जसका लागि ऊ परिपक्व छैन, त्यति हुँदाहुँदै पनि जबरजस्ती बलात्कार गरेर मारिन्छ । त्यसकारण बलात्कारीलाई फाँसी नै हुनुपर्छ भनेर हामीले माग गरेका हौं । यौन फरक कुरा हो, बलात्कार त जघन्य अपराध हो । यौन जन्मसिद्ध अधिकार हो भन्दैमा एउटी बालिकालाई परिपक्व नहुदै अथवा परिपक्व भए पनि जबजस्ती त गर्न भएन नि । 
 
यो देशमा महिला अधिकारका नाममा करोडौ रुपैयाँ ल्याउनेहरू पनि त छन् नि ? नेपालमा ५१ प्रतिशत महिला छन्, तर यसरी एक्स्टिम रूपमा लागेको त तपाईं एक्लैजस्तो देखिनुभयो ? 
३३ प्रतिशत अधिकारका लागि धेरै महिलाले माइतीघरमा ठूला–ठूला प्रदर्शन गर्नुभएको छ । उहाँहरूमध्ये एक जनाले पनि माइतीघरमा आएर बलात्कारीलाई फाँसीको कुरा त परै जाओस्, कारबाही गर सम्म भन्नुभएको छैन । उहाँहरू आफ्नो व्यक्तिगत स्वार्थ (सांसद, मन्त्री बन्न) का लागि ठूलो प्रदर्शन गर्ने तर बलात्कारीलाई कारबाही गर्नुपर्छ भनेर नबोल्ने ? नेपालमा च्याउभन्दा बढी नगरपालिका र गाउँपालिकाभन्दा बढी संघसंस्था छन्, यी सबै संस्था व्यक्तिगत स्वार्थमा रुमल्लिए । उहाँहरूको उद्देश्य पैसा कमाउने, घर जोड्ने, अन्तर्राष्ट्रिय एवार्ड अनि राष्ट्रिय सम्मान पाउने, समाचारको हेडलाइन बन्ने, ओठे वकालत गर्ने आदि मात्र हो । हामी त विशुद्ध अभियानकर्मी हौं, हामीसँग संस्था पनि छैन, संगठन पनि छैन, पार्टी पनि छैन । हामी त विशुद्ध रूपमा बलात्कारीलाई फाँसी हुनुपर्छ भनेर मात्र लागेका हौं । इच्छाविपरित जबरजस्ती गर्नु भएन, बलात्कार गरेर मार्नु भएन, हामी पनि यो देशका नागरिक हौं, त्यो कारणले हामीले सम्मानजनक तरिकाले बाँच्न पाउने कि नपाउने भन्ने प्रश्न मात्र हो । 
 
काठमाडौंमा यति धेरै संघ–संस्था थिए, तर तपाईं पेटिकोट आन्दोलनको नेतृत्व गर्न बाहिरबाट आउनुपर्ने अवस्था किन सिर्जना भयो ?
केही वर्षअघि एक संस्थासँग आबद्ध हुँदा मैले यस्ता संस्थालाई नजिकबाट बुझ्ने अवसर पाएकी थिएँ । एकदम जघन्य घटना, यौनांग क्षतविक्षत भएका स्तन काटिएको, कपडा पूरै च्यातिएको कुरा, समाचारमा एकदमै भाइरल हुन्छ, संघसंस्थाहरूले पनि यस्तै केश मात्र ल्याऊ भन्छन् । एउटी बलात्कृत वृद्ध महिलालाई सहयोग गरौं भन्दा अरू पनि संघसंस्था छन् भन्नेहरू पनि छन् यहाँ । त्यसपछि मलाई ती संघसंस्थाप्रति एकदमै घृणा लागेर आयो । हामी युवाहरू मिलेर पृथक् खालको अर्थात् राजनीतिको झोला–चप्पल आदि नबोकेका, कुनै संघसंस्थामा आबद्ध नभएका व्यक्तिहरूले एउटा यस्ता आन्दोलन चलाऊ, जुन आन्दोलनले समाजमा तरंग ल्याओस् भन्ने हिसाबले हामीले पेटिकोट आन्दोलन गरेका हौं । 
 
तपाईंहरूमाथि पनि डलर लिएर आन्दोलन गरेको आरोप लाग्यो नि ? 
जुन मानिसको संघसंस्था छैन, न त्यसमा आबद्धता छ, उसले कहाँबाट डलर ल्याउँछ ? मेरो त अहिलेसम्म बंैकमा खातासम्म छैन । पछिल्ला पाँच वर्षदेखि म हरेक ठाउँमा पुगेर पीडितहरूका पक्षमा बोलिरहेकी छु, त्यसैले ममाथि त्यस्तो आरोप लगाइयो । उहाँहरूले केही गर्न सक्नुभएन, अब उहाँहरूको बजेट आउने बाटो पनि बन्द हुन लाग्यो भन्ने डरले हामीमाथि डलर खाएको आरोप लगाइएको हो, हामीले कसैबाट एक पैसा लिएका छैनौं । 
 
खर्च कहाँबाट जुटाउनुहुन्छ ? 
अहिले म जुन ठाउँमा जान्छु, त्यो ठाउँबाटै रकम उठाएर कार्यक्रम गर्छु । यहाँबाट ५ जना साथी लिएर झापा गएकी पनि छैन, झापाबाट १० जना साथी लिएर काठमाडौं आएकी पनि छैन । त्यसकारण म मेरो व्यक्तिगत खर्च व्यक्तिगत तवर र विदेशमा भएकी बहिनीको साथ र सहयोगमा पुर्‍याइरहेकी छु । म मासिक ४ हजार ५ सय रुपैयाँ कमाउँछु, त्यसले फोन खर्च पुग्छ । तराईमा यात्रा गर्दा गाडीले भाडा लिँदैनन् । जहाँ पुगिन्छ, त्यहीं खाइन्छ । समाजमा राम्रा पुरुष पनि हुनुहुन्छ, जसले सामाजिक कामका लागि सहयोग गर्नुहुन्छ । अहिलेसम्म व्यक्तिगत तवरले चलेकी छु ।
 
नाम कहलिएका महिला अधिकारवादीहरूले तपाईंलाई चुनौतीका रूपमा देखे भन्न खोज्नुभएको हो ? 
एकदम, म त २८/२९ वर्षकी केटी भविष्यको कुनै ग्यारेन्टी पनि छैन, हामीलाई पुरस्कार थाप्नु पनि छैन, हाम्रो संघसंस्था पनि छैन । यत्रो बलात्कार हुँदा न सरकार बोल्ने, न ३३ प्रतिशतका लागि आन्दोलन गर्ने बेला छातीमा गोली खान तयार छौं भन्नेहरू बोले । त्यस्तो देखेर सार्‍है दु:ख लागेर तिमीहरूलाई पख भनेर पृथक् तरिकाले आन्दोलनमा लागेका हौं । साँच्चै परिवर्तन नै गर्नु छ भने पृथक् पाइला चाल्नुपर्छ, त्यो आफंैबाट सुरु गर्नुपर्छ भनेर चुनौती लिएकी हुँ । मेरा कतिपय सहकर्मी अनि एकदमै मिल्ने साथीहरूले समेत केश मुण्डन गर्न मान्नु भएन । उहाँहरूले अरू सबै काम गर्छु, तर केश 
मुण्डन गर्ने काम गर्न मलाई नलगा भन्नुभयो । 
 
यो स्वरूपको आन्दोलनबाट के सन्देश दिन चाहनुभएको हो ? 
हाम्रो देशमा मान्छे मार्‍यो, गाडी जलायो, स्कुल बसमा आगजनी गर्‍यो, बाटो बन्द गर्‍यो वा सरकारी भवन जलायो भने मात्र ओहो आन्दोलन गर्‍यो भन्ने गलत धारणाको विकास भएको छ । हामीले बन्द–हड्ताल नगर्ने, समाजमा वितृष्णा नफैलाउने, द्वन्द्व नफैलाउने, कसैलाई पनि असर नपार्ने रचनात्मक तथा सिर्जनात्मक काम गर्ने, जसले कसैलाई पनि असर पार्दैन, त्यो तरिकाको आन्दोलन गरेका हौं । हामी युवा हौ, हामीले ढुंगामुढा गरेर समृद्धि र विकासका कुरा गर्न मिल्छ र ? यो देशप्रति प्रधानमन्त्रीको जति दायित्व छ, त्योभन्दा कम दायित्व हाम्रो छैन । त्यसकारण हामीले रचनात्मक– सिर्जनात्मक आन्दोलन गरौ भनेर यस्तो आन्दोलन गरेका हौं । 
 
पेटिकोट नै लगाउनुको कारण के थियो ? 
मानिस धर्तीमा टेक्दा आमाको त्यही पेटीकोट हुँदै आएको हुन्छ । अहिले वृद्ध आमादेखि आठ महिनाको नानीसमेत बलात्कृत भएर मर्नुपर्दा, समाजमा बाँच्नुपर्दा र न्याय नपाउँदाको एउटा ठूलो पीडा छ, त्यो कारणले हामीले के भनेका छौं भने बलात्कारी पुरुष होइन, बलात्कारी अपराधी हो । त्यसकारण हामीले पुरुष दाजुभाइलाई के भनेका हौं भने यो पेटिकोटको संरक्षण गरिदेऊ । जुन पेटिकोटबाट तिमीले धर्ती देख्यौं, यी आमाहरूको रक्षा गरिदेऊ, दिदीबहिनीहरूको संरक्षण गरिदेऊ, अस्मिता बचाइदेऊ भनेर हामीले त्यसो गरेका हौं, यद्यपि धेरै मानिसले अश्लीलता भयो भन्नुभयो, उहाँहरूले नबुझेर हो । 
 
आन्दोलनको उद्देश्यमा सफल भएजस्तो लाग्छ ? 
हो, हामी सफल भयौं । सबै मिडियाले साथ दिए, राम्रा मानिसहरूले हामीलाई सहयोग गर्नुभयो । म धेरै आन्दोलनमा सहभागी भएकी छु, तर यो पेटिकोट आन्दोलनको जस्तो तरंग समाजमा कुनै आन्दोलनले ल्याएको देखिनँ । 
 
राज्यले कुनै पनि अपराधमा मृत्युदण्डको परिकल्पना गरेको छैन । तपाईं पनि यो देशको  नागरिक हो । के तपाईंहरूले उठाएको माग जायज छ ? 
म पनि मृत्युदण्डको विरोधी हुँ । मान्छेले जीवन बाँच्न पाउनुपर्छ, उसको त्यो अधिकार हनन गर्नु हुँदैन, तर हाम्रो समाजमा एउटी नानी बलात्कृत भएर मरी, निर्दोष व्यक्तिलाई अपराधी बनाएर खडा गरिदिने, खुल्ला सिमानाका कारण अपराधी भाग्ने, त्यसकारण हामीले बलात्कारीलाई फाँसी दिनुपर्छ भनेका हौं । एकोहोरो लागिरहँदा बलात्कारीलाई सरकारले सर्वस्वसहित जन्मकैदसम्मको त व्यवस्था गर्छ कि भनेर हामीले बलात्कारीलाई फाँसीको माग गरेका हौं । 
 
भनेपछि बार्गेनिङ टुल्सका रूपमा तपाईंले यो माग उठाउनुभएको हो ? 
एकदमै, तर यो हाम्रो पहिलो बटमलाइन हो, अन्तिम होइन । अहिले पनि म मृत्युदण्ड हुनुपर्छ भन्दिनँ, किनभने कहिलेकाहीं सोझा, निर्दोष पुरुषहरूलाई फसाइएको पनि हुन सक्छ । यौनका लागि परिपक्व केटीहरूले प्रेमको नाटक गरेर, होटलको कोठामा बोलाएर व्यक्तिगत स्वार्थका लागि पुरुषहरूलाई फसाएका पनि छन् । त्यसरी फस्ने मानिस आज त पराई पुरुष भयो, भोलि मेरो घरको दाजुभाइ पनि त हुन सक्छ, मेरा श्रीमान् वा मेरा बुवा पनि पर्न सक्नुहुन्छ । त्यस्तो केसमा निर्दोष मानिस दण्डित हुने सम्भावना हुन्छ । 
 
तपाईंहरूको खास माग के हो त ? 
सर्वस्वसहितको जन्मकैद । 
 
त्यो माग राख्दा हल्ला कम हुने भएकाले फाँसीको माग गर्नुभएको हो ? 
हो, त्यो माग राख्दा नसुनिने भएकाले हामीले बलात्कारीलाई फाँसीको माग गरेका हौं । फाँसी भन्दा मानवअधिकारवादीहरू पनि तर्सिए । बुद्ध र शान्तिको देशमा किन फाँसी पनि भनियो, त्यही भएर नेपालबाट मृत्युदण्ड हटाइएको पनि छ । बलात्कारीको जति सम्पत्ति छ, त्यो सम्पत्ति बलात्कृत महिलाको नाममा गर्ने र त्यसपछि उसको सामाजिक र जीवन सुरक्षाका लागि राज्यले दायित्व लिने अनि बलात्कारीलाई जन्मकैद हाम्रो माग हो । अहिले त कस्तो छ भने बलात्कार भयो, अपराधीलाई जेल हालिदियो, बलात्कारीबाट भराइएको दण्ड–जरिवाना पनि सरकारले खान्छ । त्यो पीडितले केही पाउँदिन । त्यो अपराधी जेल जानेबितिकै बलात्कृतको भविष्य सुनिश्चित भएन, उल्टो समाजबाट तिरष्कृत हुनुपर्छ । उसलाई समाजमा पुनस्र्थापना गर्न सक्नुपर्‍यो, उसको भविष्यको जिम्मा सरकारले लिनुपर्‍यो । यही नै हाम्रो माग हो । बलात्कारी र बलात्कृत दुवैका लागि छ हाम्रो माग । 
 
तपाईं रक्षा नेपालसँग पनि आबद्ध हुनुहुन्छ हैन ?
अहिले छैन । मैले यी सबै कुरा त्यहीं सिकेकी हुँ । अहिले म यहाँसम्म आउने बनाइदिएको नै मेनुका थापाले हो । उहाँलाई म अहिले पनि सम्मान गर्छु, तर केही कुरामा उहाँसँग फरक मत राख्छु । पूजा बोहोराको केस बाहिर आएपछि मैले रक्षा नेपाल छोडेकी हुँ ।
 
यत्रो संस्थामा काम गरेर छोड्नुभयो, एउटा एनजीओ चलाउन त आफैं पनि सक्नुहुन्थ्यो ? किन अभियानमा लाग्नुभयो ?
चार वर्ष भोलेन्टियरका रूपमा काम गर्दा मैले के थाहा पाएँ भने एनजीओमा काम गर्नु भनेको सेवा गर्नु होइन रहेछ, डलर कमाउनु मात्र रहेछ । मलाई डलर कमाउन होइन सेवा गर्न मन छ, त्यही भएर यता लागेकी हुँ ।
 
 एनजीओहरू सबै डलर कमाउने मात्र हुन् त ? 
डलर नै त हो नि । एनजीओ सञ्चालन गर्ने मानिसहरूले रातारात कसरी करोडौंको घर बनाउँछन् ? न कुनै व्यापार छ, न अरू कुनै आयस्रोत छ, न पैतृक सम्पत्ति छ । कसरी बनाउँछन् त दुई–चार वर्षमै ५–७ करोडका घर, १–२ करोडका गाडी चढ्ने हैसियत कहाँबाट आउँछ ? सबैले तिनै पीडितका टाउका बेचेर कमाउने हुन् । उनीहरूले कहिल्यै पीडितका लागि काम गर्दैनन्, सोच नै आफ्ना लागि कमाउने हुन्छ । काठमाडौंको पाँचतारे होटलमा बसेर पत्रिकामा आएका समाचारका आधारमा प्रतिवेदन बनाएर डलर कमाउँछन् । कुनै पनि संस्थाका मानिसले अहिलेसम्म कुनै पनि बलात्कृत नानीको घरमा पुगेर संरक्षण तथा सहयोग गरेका छैनन् । कुनै संस्थाको मानिसले मैले गरेको छु भन्छ भने म बहस गर्न तयार छु । कहाँ पुगेर के गरे, म चुनौती दिन्छु । 
 
कस्तो चुनौती ? 
पाँचतारे होटलमा बसेर महिला मुक्ति सम्भव हुन्छ ? आज ४ वर्षकी नानी झापामा, ३२ वर्षकी महिला झापामा, ७ वर्षकी नानी झापामा, १० वर्षको नानी झापामा, त्यो पनि एउटै नगरपालिकामा, एक महिनामा ४ जना बलात्कृत हुँदा महिला आन्दोलनका लागि डलर ल्याउनेहरूले एउटा प्रेस विज्ञप्ति निकाल्दैमा पीडितले न्याय पाउँछन् ? उहाँहरूले प्रेस विज्ञप्ति निकालेर अनि टिभीमा गएर कारबाही गर्नुपर्छ भनेर घाँटी फुलाउँदैमा पीडितले न्याय पाउँछन् र ? पीडितलाई एक गाँस भए पनि खान दिनुपर्‍यो । त्यहीं गएर घाउमा मल्हम लगाउन सक्नुपर्‍यो । पीडित र पीडितको परिवारसम्म पुगेर तिम्रा लागि म लडिदिन्छु भन्न सक्नुहुन्छ उहाँहरू ? सक्नुहुन्न । किनभने उहाँहरूको सोचमा पुरस्कार कसरी जित्ने ? पैसा कसरी कमाउने ? कसरी समाचार लेखाएर आफू हाइलाइटमा आउने ? भन्ने मात्र छ । उहाँहरूको दिमाग नै भ्रष्ट छ । 
 
महिला सशक्तीकरणको आन्दोलन समाप्त नै भएको हो त ? 
सभासद हुनु, मन्त्री पद पाउनु वा महिला अधिकारका सम्बन्धमा कोठे वकालत गर्नुलाई मात्र महिला सशक्तीकरणसँग जोडेर हेरिएको छ । कुनै पनि पीडितले जबसम्म आफ्नो अधिकारका लागि सडकदेखि कानुनी प्रक्रियासम्म स्वस्फूर्त रूपमा लड्ने हिम्मत गर्दिनन्, तबसम्म महिलाहरू सशक्त भएको मान्न सकिँदैन । 
 
अरूका लागि लड्ने क्रममा आफ्ना लागि चाहिँ कति गार्‍हो हँुदो रहेछ ? 
पेटिकोट लगाएर प्रदर्शन गरियो, यो सबैका लागि हो । पेटिकोट लगाउने प्रदर्शन सभ्य तरिकाले गर्दा मसँग एक जना साथी र दुई जना भाइ थिए । त्यसबाट मैले के थाहा पाएँ भने मानिसहरू अरूलाई उचाल्दा मात्र रहेछन्, तर परेका बेला साथ दिन भने कोही आउँदा रहेनछन् । केश मुण्डन गर्ने बेला पनि मैले धेरैलाई भनें । ४० वर्षकी एक पीडित महिलालाई आफ्नो न्यायका लागि तपाई पनि आउनुहोस्, केश मुण्डन गर्नुहोस् भनें, तर उहाँ आउनुभएन । अन्त्यमा म एकजना मात्र केटीमान्छे भएँ, अरू तीन जना केटा साथी थिए । ज्यादै गाह्रो हुन्छ, दु:ख लाग्छ ।
 
तपाईंहरूको अबको आन्दोलन के हो त ? 
हाम्रो आन्दोलनलाई धेरै मानिसले पुरुषविरोधी भनेर आरोप लगाए, तर हामी त्यस्तो होइन भनेर प्रस्ट पार्न बलात्कारी पुरुष होइन, बलात्कारी अपराधी हुन् भन्ने अभियान सुरु गर्दैछौं । त्यसका लागि धेरै पुरुष साथी जम्मा गरेर सेन्डो गन्जी मात्र लगाएर जुलुसको तयारी गर्दैछौं । 
 
कति सालमा जन्मनुभयो ? 
२०४६ सालमा
 
बाल्यकाल कसरी बित्यो ? 
बाल्यकालमा पनि म यस्तै अराजक नै थिएँ । 
 
स्नातकोत्तरसम्म पढेको मान्छे, जागिर गरौं, विवाह गरौं भन्ने लागेन ?
मलाई व्यक्तिगत स्वार्थमा भन्दा पनि सामाजिक रूपमा केही गरौं भन्ने लाग्यो । म तराईमा जन्मिएकी, त्यहाँ दाइजोका कारण महिलालाई जिउँदै जलाएको देखेकी छु । छोरी जन्मिएको भनेर काठले घोचेर मारेको घटना पनि देखेकी छु । त्यही मधेसी समुदायमा बस्ने पहाडी केटी म । त्यो समुदायका महिलाभन्दा म केही पढेलेखेकी, बुझेकी, आर्थिक रूपमा पनि केही सम्पन्न भएकी हुँदा उहाँहरूको आवाज मैले बोल्नुपर्छ भनेर म यता लागेकी हुँ । कक्षा १० मा अध्ययनरत छँदा मेरै घरछेउकी एक जना दिदीलाई दाइजो नल्याएको भन्दै जलाइएपछि महिला हिंसाविरुद्ध जाग्नुपर्छ भनेर लागेकी हुँ । त्यहाँबाट उठेको आन्दोलन यहाँसम्म आइपुगेको हो । विवाह गर्ने, घर बसाउनेतिर भने ध्यान नै गएन । एक सेकेन्ड टाइम हुँदैन— प्रेम गरौं, विवाह गरौं भनेर सोच्ने । त्यतातिर ध्यान नै छैन, यद्यपि मेरो केटा साथी भने नेपालबाहिर छ ।
प्रकाशित: भाद्र २६, २०७५