तीज बिशेष

तीनपुस्ते तीज

- साप्ताहिक संवाददाता


हिन्दू नारीहरूको महान पर्व तीजमा प्रत्येक वर्ष केही न केही परिवर्तन हुँदै गएको छ । धेरै वर्षअघि बुहारीहरूले सासूप्रतिको आक्रोश, श्रीमान्प्रतिको गुनासो, माइत जान एवं साडी–पोते नपाएको आदि कुरा गीतमार्फत व्यक्त गर्ने चलन थियो । बिस्तारै तीज फेरियो । अहिले कहाँमा जान्छौ रानी चरी, दैलामुनीको काँकरीको बिरुवा, भंगेरी चरीले मैदानमा लरीलररजस्ता गीत सुन्न पाइँदैन । विगतको तीजको रौनक हराउँदै गएको छ । तीज मनाउने शैली नै परिवर्तन भएको छ । गाउँघरमा बन्ने खीर एवं अन्य मिष्ठान्न भोजन हराउँदै गएका छन् । निरन्तर परिवर्तन हुँदै गएको तीजका सम्बन्धमा नेपाली कला क्षेत्रका तीन पुस्ताका तीन जना कलाकारले साप्ताहिकका रामजी ज्ञवालीसँग यस्तो धारणा राखे :

करेसाबारीकै दर खान्थ्यौ

रश्मि भट्ट
अहिले तीज मनाउने शैली एकदमै फरक छ । विगतमा घरमा जे छ त्यही खाने, जे छ त्यही लगाउने चलन थियो । अहिलेको तीज एकदमै देखावटी भयो । विगतमा तीजको महत्व नै बेग्लै थियो । घरकै करेसाबारीमा फलेका तरकारी, फलफूल, घरमै पालिएको भैंसीको दूधबाट बनेको खीर तथा काँक्राको अचार खाँदै माइती आएका चेलीहरू एक ठाउँमा जम्मा भएर मनाउने तीजको रौनक अहिले वर्णन गर्न सकिँदैन । त्यो घरायसी स्वाद अहिले हराइसकेको छ । अहिले पार्टी प्यालेसमा मनाइने तीजले विगतको तीजलाई बिर्साउँदै गएको छ । तीजको महत्व निरन्तर घट्दै जाँदा मलाई एकदमै चिन्ता लाग्छ । तीजको महत्वअनुसार यो संस्कृतिलाई टिकाउन सकिएन भने तीज विस्तारै हराएर जानेछ । विगतमा कति मीठा गीत गाइन्थ्यो, अहिले त जस्ता पायो त्यस्तै गीत स्पिकरमा बजायो अनि नाच्यो । त्यतिबेला जस्तो मादल बजाएर प्रत्यक्ष गीत गाउँदै आ–आफ्ना घरका समस्या, पीर–व्यथा सुन्ने–सुनाउने चलन छैन । तीजका गीत पनि एकदमै छाडा भैरहेका छन् अहिले । आधुनिकताको नाममा हामीले जे मन लाग्यो त्यही गर्दै गएका छौं कि ?

दिदीबहिनी मादल बजाएर नाच्थ्यौ
सरिता लामिछाने
 
धेरै वर्षअघिसम्म हामी निकै सामान्य हिसाबले तीज मनाउँथ्यौं । दिदीबहिनीलाई घरमा बोलाएर गाउँघरकै परिकार दरका रूपमा ख्वाउने र खाने चलन थियो । त्यतिबेला मौलिक भाका र शब्दमा आधारित गीत गाइन्थ्यों । गाउँघरका सबै महिलाहरू एक ठाउँमा जम्मा भएर मादल बजाउँदै नाच्थे । तीज हाम्रो मौलिक संस्कार हो । तीजमा एउटी सौभाग्यवती महिला आफ्ना श्रीमान्को आयु बढाउन व्रत बस्छिन् । त्यसबाहेक उनी परिवारको सु:ख, शान्ति तथा समृद्धिको कामना पनि गर्छिन्, तर पछिल्लो समयको तीज देखेर म आफैं हैरान छु । अहिले एक महिना अघिदेखि तीज लाग्छ । सबैतिर गरगहनाकै प्रतिस्पर्धा छ । तीजका गीतमा मौलिकता छैन । यद्यपि मेरा लागि तिथिले जुन दिन भन्छ त्यही दिन मात्र तीज हो । म आफ्नी छोरीलाई विकृति, विसंगति र देखासिकीमा लाग्नु हुँदैन भन्ने कुरा सिकाउँछु, हिजो मेरी मम्मीले सिकाएजस्तै । अहिले जसरी तीजमा विकृति हाबी हुँदै गएको छ त्यसैगरी विकृति बढ्दै जाने हो भने हाम्रो यो संस्कार हराउने कुरामा कुनै दुईमत छैन ।

तीज मनाउने व्यक्तिगत रहर हो
मेलिना राई 

तीज कसैले मनाउँछन् कसैले मनाउँदैनन्, तर जसले मनाए पनि, नमनाए पनि यसको आफ्नै महत्व छ । नेपालमा मात्र होइन, विश्वभर छरिएर रहेका नेपालीहरूका लागि तीज ठूलो पर्व मानिँदै आएको छ । तीज जन्म दिने बुवा–आमाको काखबाट पराई घर गएका चेलीहरूलाई माइती घर फर्काउने र केही दिन आरामले बस्ने वहाना पनि हो । तीज अर्काको घरमा काम गर्दा–गर्दा थाकेकी चेलीलाई माइती घरमा रमाउने र सानैदेखि हुर्किएका, पढेलेखेका साथीभाइहरूसँग भेटघाट गराउने पर्व पनि हो यो ।

महिलाहरूले मनका वह पोख्ने र दिल खोलेर मीठा–मीठा परिकार खाने पर्व पनि हो । आधुनिकतासँगै अहिलेको तीज अलिकति फरक भएको छ । अहिले महिनादिन अघिदेखि दर खाने चलन छ । चर्चामा आउने धुनमा अनेकन प्रकारका गीत पनि बनिरहेका छन् । जे–जस्तो गीत ल्याए पनि मौलिकतालाई धक्का दिने खालका गीत ल्याउनु हुँदैन । बाँकी कसले कसरी तीज मनाउँछ, के खान्छ, के लगाउँछ भन्ने कुरा व्यक्तीगत रुचि र रहरको विषय हो ।

प्रकाशित: भाद्र २५, २०७५