तीज बिशेष

अमेरिकामा तीज यसरी मनाइन्छ

- शिव शर्मा



स्वदेशभन्दा टाढा रहे पनि नेपालीहरूले आफ्नो चाडपर्व, संस्कार तथा संस्कृतिलाई बिर्सन सक्दैनन् । नेपाली महिलाहरूको पर्व हरितालिका तीजले युरोप, हङकङ, कोरिया, जापान अनि खाडी मुलुकका नेपाली महिलाहरूलाई नछोडेजस्तै अमेरिकामा पनि यतिबेला सबैलाई तीजले छपक्कै छोपेको छ । चेलीबेटीहरू जमघट हुने र तीजका भाका गुन्जाउने क्रम अमेरिकाका विभिन्न राज्यमा समेत उत्कर्षमा छ । नेपालमा जस्तै यहाँ पनि महिना दिनअघि नै तीजको रमझम सुरु भैसक्छ । अमेरिकामा रहेका नेपाली महिलाहरू तीज कसरी मनाउँदै छन् ? सुनौं उनीहरूकै शब्दमा : 

अदिति खरेल, इभेन्ट कोर्डिनेटर
हरितालिका तीजले आफन्तजनसँग भेटघाट र रमाइलो गर्ने वातावरण सिर्जना गर्छ । यस्तै पर्वको आगमनले स्वदेशमै भएको अनुभूति दिलाउँछ । नेपाली समुदायले आयोजना गर्ने तीजका कार्यक्रमहरूमा फुर्सद मिलेसम्म गइन्छ । सबै जना भेला भएर मिष्ठान भोजन गरिन्छ, नाचिन्छ, गाइन्छ अनि रमाइलो गरिन्छ । मैले हरेक वर्ष पञ्चमीको पूजा समेत गर्दै आएकी छु । कहिलेकाहीं त तीजको विशेष दिन काममै भइन्छ । फुर्सद भएसम्म तीजका हरेक गतिविधिमा सहभागी भइन्छ, मन्दिरमा पुगेर पूजाआजा गरिन्छ । तीजको परम्परागत पहिरन लगाएर नाचगानमा पनि रमाइन्छ । जहाँ रहे पनि हामीले आफ्नो परम्परा संरक्षण गर्न पनि यस्ता पर्वलाई महत्व दिनुपर्छ । तीजका नाममा आएका विकृतिलाई भने हामी सबै मिलेर निरुत्साहित तुल्याउँदै जानुपर्छ भने तीजको मौलिकता कायम हुनुपर्छ ।

भूमि एस घिमिरे, सौन्दर्य व्यवसायी
विदेशमा भए पनि हरितालिका तीज आफ्नो परम्पराअनुसार स्वदेशमा जसरी नै मनाउँदै आएकी छु । आधुनिकतासँगै परम्परागत रीतिरिवाजहरू हराउँदै गए पनि मैले सदियौंदेखि चलिआएको मान्यतालाई अहिलेसम्म छाडेकी छैन । व्यस्तताले मन्दिर जान नभ्याए पनि घरमै पूजा गर्दै आएकी छु । चुरापोते, सिन्दूर, सारी तथा गरगहना लगाएर रमाइलोका लागि आयोजना गरिएका कार्यक्रमहरूमा पनि सरिक हुन्छु । श्रीमान्को दीर्घायुको कामना गर्दै निराहर व्रतसमेत बस्दै आएकी छु । दर खाने कार्यक्रममा पनि सहभागी भइन्छ । प्रत्येक वर्ष तीजका अवसरमा झन्डै २५ जना नेपाली चेलीबेटीलाई घरमै बोलाएर तीजको दर ख्वाउने र उपहार साटसाट गर्ने कार्यक्रम पनि गर्दै आएकी छु । हरितालिका तीजका अवसरमा जतिसक्दो नाचगान गरेर मनोरञ्जन गरिन्छ । 

उमा कार्की थापा, उपाध्यक्ष, एनआरएन अमेरिका
तीज पर्व अमेरिकामा पनि महिना दिनअघि नै सुरु भैसक्छ । विभिन्न संघसंस्थाले आयोजना गर्ने तीजका कार्यक्रमहरूमा भ्याएसम्म सहभागी हुन्छु । म बसोबास गर्ने लस एन्जल्समा नेपाली एकता समाजले लामो समयदेखि तीज पर्वलाई धूमधामसँग मनाउँदै आएको छ । अन्य संघसंस्थाले समेत विशेष रूपमा तीज मनाउने गरेका छन् । बाहिरी राज्यहरूबाट कार्यक्रमका लागि निम्तो आउने क्रम बढ्दो छ । नेपालमा जस्तै व्रत बस्ने, नाचगान गर्नै तथा दर खाने कार्यक्रमहरूमा सहभागी हँुदै यो पर्व उल्लासमय तवरले मनाइँदै आएको छ । झन्डै १४ वर्ष लामो अमेरिका बसाइका क्रममा तीजलाई नेपाली परम्परा अनुसार मनाउन कुनै कसर बाँकी राखेकी छैन । विगतका दिनमा फाट्टफुट्ट हुने तीजको रमझम अहिले बाक्लिँदै गएको छ । गरगहना लगाउने प्रतिस्पर्धाले तीज भड्किलो समेत बन्दैछ । आफ्नो धर्म–संस्कारका रूपमा यो पर्वलाई सरल ढंगले मनाउनुपर्छ ।

दिलाशा न्यौपाने, मिस नेपाल अमेरिका
नेपाल र अमेरिकामा तीज मनाउने शैली फरक छ, तर जे जसरी मनाए पनि पर्वको उद्देश्यचाहिँ एउटै हो । यो पर्वमा विवाहित महिलाहरू श्रीमान्का लागि भोकै व्रत बस्ने चलन छ । हामी अविवाहितहरू पनि आ–आफ्नै तरिकाले व्रत बस्दै आएका छौं । मचाहिँ भगवान् शिवजस्तो पति होइन, भगवान् शिवको जस्तो शक्ति प्राप्त होस् भनेर व्रत बस्दै आएकी छु । भगवान् शिवको आराधनासँगै नाचगान तथा पारिवारिक भेटघाटहरूमा पनि सहभागी भइन्छ । नेपालमा यो पर्वको अवसरमा सार्वजनिक बिदा हुन्छ । नेपालमा पूरै देशले धूमधामसँग मनाउने यो पर्व यता नेपाली समुदायले एक ठाउँमा भेला भएर मनाउँछ । यसरी नेपालीहरू एक ठाउँमा जम्मा भएर पर्व मनाउँदा आफ्नो देशप्रतिको प्रेम उर्लेर आउँछ । म नेपालमा हुँदा पशुपतिनाथ मन्दिर पुगेर पूजा–आराधना गर्थे । यता अमेरिकामा पनि नेपाली मन्दिरमा पुगेर पूजा गर्दै आएकी छु । शिवजी तथा सप्तऋषीको पूजा, व्रत तथा नाचगान नै तीजको मूल विशेषता हो । विदेशमा भए पनि म तीजमा परम्परागत पहिरनमा हुन्छु ।

माला महत, समाजसेवी
मलाई नेपाली चार्डपर्वमा सबैभन्दा रमाइलो लाग्ने नै हरितालिका तीज हो । देशबाहिर भएको यो १५ वर्षको अवधिमा मैले यो पर्व नेपालमा जस्तै उपबास बसेर अनि नाचगान तथा रमाइलो गरेर मनाउँदै आएकी छु । यो पर्व नजिक आउँदा आफनो देश, घर अनि माइतीको सम्झना त आउँछ नै, तैपनि परदेशमा आफ्नो अनुकूलता हेरेर यो पर्व मनाउन छाडेकी छैन । नेपालीहरूको बाक्लो बसोबास रहेको टेक्सासको ड्यालस सहरमा नेपाली मन्दिर पनि भएकाले तीजको दिन त्यहाँ पुगेर पूजाआजा गर्छु । यता पनि तीजका विभिन्न कार्यक्रम हुन्छन् र भ्याएसम्म ती कार्यक्रममा सहभागी हुँदै आएकी छु । यद्यपि स्वदेशमा जस्तो यता बिदा नमिल्ने भएकाले समय मिलाएर तीज मनाउनुपर्ने हुन्छ । आफन्तको निमन्त्रणामा दर खाने कार्यक्रममा पनि सहभागी हुन्छु । नेपालीहरूको बसोबास बढेसँगै यहाँ तीजका बग्रेल्ती कार्यक्रम आयोजना हुन थालेका छन् । अमेरिकामा भएका नेपालीहरूले आफ्नो संस्कार र संस्कृतिलाई आत्मसात गर्दै समयसापेक्ष रूपमा यो पर्व मनाउँदै आएका छन् । 

प्रकाशित: भाद्र २५, २०७५