खेलकुद

एसियाली खेलकुद : हामी कहाँनिर चुक्यौं ?

- हिमेश


 

इन्डोनेसियाको एउटा ठूलो सपना छ, ओलम्पिकको आयोजना गर्ने । केही दिनअघिसम्म इन्डोनेसियाको यो दाबी सुनेर हाँस्ने धेरै थिए । आखिर इन्डोनेसियाको उक्त दाबीमा विश्वास गर्ने आधार पनि थिएन, तर उसले सन् २०३२ को ओलम्पिक आयोजना गर्ने दाबी भने अब मजबुत भएको छ र त्यसको कारण हो, १८ औं एसियाली खेलकुदको सफल आयोजना । इन्डोनेसियाका दुई सहर जाकार्ता र पालेमबाङले निकै सफल ढंगले यसपटकको एसियाली खेलकुद प्रतियोगिता सम्पन्न गरे ।

एसियाली खेलकुदमा परम्परागत रूपमा इन्डोनेसिया निकै बलियो देश पनि होइन, तर यसपटककै एसियाली खेलकुदका क्रममा उसले अपेक्षा अनुसार राम्रो प्रदर्शन मात्र गरेन, बरु पदक तालिकामा बलियो उपस्थितिसमेत जनायो । इन्डोनेसियाले ३१ स्वर्ण, २४ रजत तथा ४३ कांस्य पदक जितेको थियो । उक्त उपलब्धिसँगै आयोजक देश अन्तिम पदक तालिकको चौथो स्थानमा रह्यो । इन्डोनेसियाभन्दा अगाडि रहे, तीन पारम्परिक शक्ति देश, चीन, जापान र दक्षिण कोरिया ।

इन्डोनेसियाको यो शक्तिशाली प्रदर्शनका पछाडि उसले आफू अनुकुल थपेका खेल नै प्रमुख कारण रहे । आफू बलियो रहेका खेलहरू थपेर त्यसमै बढी पदक जिती इन्डोनेसियाले आफ्नो प्रदर्शनमा सुधार ल्याएको थियो । यद्यपि यसमा धेरैको गुनासो हुनेछैन, किनभने आयोजकका रूपमा इन्डोनेसियाले यसपटकको एसियाली खेलकुदलाई सफल तुल्याउन निकै मेहनत गरेको थियो र त्यसमा प्रशंसाका दुई शब्द खर्चन कन्जुस्याइँ गर्नु पर्दैन । त्यसैले त उसको ओलम्पिक सपना अब थप बलियो भएको छ । 

अपेक्षाअनुसार नै पदक तालिकामा चीन नै पहिलो  रह्यो, १ सय ३२ स्वर्ण, ९२ रजत तथा ६५ कांस्यसहित । चीनले एसियाली खेलकुदमा शीर्ष स्थान ओगटेको यो लगातार दसौं पटक हो । जापान दोस्रो स्थानमा रह्यो । उसले ७५ स्वर्ण, ५६ रजत तथा ७४ कांस्य जितेको थियो । अबको दुई वर्षमा जापानले टोकियो ओलम्पिकको आयोजना गर्दैछ र उसले यो एसियाली खेलकुदलाई त्यसकै तयारीका रूपमा लिएको थियो । दक्षिण कोरिया तेस्रो स्थानमा रह्यो, ४९ स्वर्ण, २४ रजत र ७० कांस्यसहित । 

प्रतियोगितामा सहभागी ४६ देशमध्ये ३७ देश मात्र पदक जित्न सफल भए । नेपाल एक रजत पदक हात पारेर ३३ औं स्थानमा रह्यो । दक्षिण एसियाली देशकै लागि यसपटकको एसियाली खेलकुद निराशाजनक रह्यो । भारत १५ स्वर्ण, २४ रजत तथा ३० कांस्य पदक जितेर आठौं स्थानमा रह्यो । दक्षिण एसियाका लागि भारतको मात्र प्रदर्शन उल्लेखनीय रह्यो । पदक तालिकामा दक्षिण एसियाली देशमध्ये भारत नै अग्रस्थानमा आयो । पाकिस्तानले ४ कांस्य तथा अफगानिस्तानले २ कांस्य जिते । बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सले कुनै पदक जित्न सकेनन् । यसले पनि देखाउँछ, एसियामै दक्षिण एसियाली खेलकुदको उपस्थिति कति कमजोर छ ? अब प्रश्न उठ्छ, नेपालले यति धेरै खेलमा यति धेरै खेलाडी पठाएर पनि किन एउटा रजत पदक मात्र जित्न सक्यो ? उत्तिकै महत्त्वपूर्ण प्रश्न के पनि हो भने नेपालले आफ्नो कमजोरी थाहा पाएर पनि किन यति ठूलो सहभागिता जनाएको होला ? अब यसको उत्तर खोज्ने समय आएको छ । 

नेपाली खेलाडीको कमजोर प्रदर्शनमा नेपाली खेलकुदको नेतृत्व गरिरहेकाहरूको नालायकीपन पनि देखियो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवबहादुर विष्टले यसबीच आफ्नो धारणा पनि सार्वजनिक गरे । प्रतियोगिता सुरु हुनुअघि उनको दाबी थियो, यसपटक इतिहासकै सबैभन्दा राम्रो प्रदर्शन हुनेछ, तर त्यो गलत सावित भयो । प्याराग्लाइडिङका रूपमा नेपालले त्यस्तो खेलबाट पदक जितेको थियो, जसमा सरकारको कुनै लगानी छैन । 

सदस्य सचिव विष्टको तर्क थियो— यसपटकको खराब प्रदर्शनमा खेलाडी असफल भएका होइनन्, नेतृत्व तह नै असफल भएको हो । विष्टको अनुभवमा नेपाली खेलाडीहरूको प्रदर्शनमा पक्कै सुधार आएको छ, उनीहरूले मेहनत पनि गरेका छन्, तर यो सुधार अरु देशको प्रगतिका अगाडि कमजोर नै सावित भयो । विशेषत: नेपाली खेलकुद प्रविधि र पद्धतिमा धेरै पछाडि देखियो । यसपटकको एसियाली खेलकुदको समाप्तीमा निचोड यही हो, तर यसलाई कार्यान्वयन कसले गर्ने ? यसको जवाफदेही पनि खेल नेतृत्व नै हुनुपर्छ । 

यस्तो विफलतालाई अब तर्क–वितर्कले ढाकछोप गर्नुभन्दा राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल ओलम्पिक कमिटीलगायत सबै खेलकुद संघ–संगठनहरूको असफल र अयोग्य प्रमाणित भैसकेको नेतृत्व तहले वहिर्गमनको बाटो रोज्नुपर्छ । अर्को कुरा के पनि हो भने राज्यले पनि खेलकुदलाई दोयम दर्जाको विषय वा अनुत्पादक क्षेत्र मान्ने तथा त्यसलाई सत्तामा रहेका राजनैतिक दलहरूका कार्यकर्ता भर्ती गर्ने केन्द्र बनाउने परिपाटीको अन्त्य हुनैपर्छ । 

पदक विजेता टोलीको स्वागत
१८ औं एसियाली खेलकुदमा रजत पदक विजेता प्याराग्लाइडिङ खेलाडीलाई गृहनगर पोखरामा भव्य स्वागतसहित सम्मान गरिएको छ । उक्त अवसरमा कप्तान विमल अधिकारीले मौसमका कारण आफूहरू जापानसँग २७ अंक (करिब ५० मिटर कम दूरी उडान भरेको हुँदा) ले दोस्रो हुनुपरेको बताए । प्याराग्लाइडिङलाई केहीले व्यवसाय त केहीले खेलका रूपमा लिएकाले पनि नेपालमा यो खेललाई अपेक्षाअनुरूप अघि बढाउन नसकिएको अधिकारीको गुनासो छ । अधिकारीका अनुसार प्याराग्लाइडिङ खर्चिलो साहसिक खेल हो, एउटा राम्रो पाइलट बन्न कम्तीमा १५/२० लाख रुपैयाँ लगानी गर्नुपर्छ । यो खेलमा हामीले स्वर्ण पदक जित्ने धेरै आधार छन्, तर राज्यले यसमा लगानी गर्नुपर्‍यो । इक्युपमेन्टहरू राज्यले सहज रूपमा उपलब्ध गराई प्याराग्लाइडिङलाई साहसिक खेलका रूपमा अघि बढाउन सके यसमा नेपालको पदकको सम्भावना उच्च छ । 

विमल अधिकारीको नेतृत्वमा विशाल थापा, युकेश गुरुङ, सुशील गुरुङ तथा विजय गौतमले एसियाली खेलकुदको टिम इभेन्टको क्रस कन्ट्री विधामा रजत पदक जितेका थिए । नेपाली प्याराग्लाइडिङ टिमका प्रशिक्षक योगश भट्टराई र सानुबाबु सुनुवार तथा म्यानेजर शैलेन्द्र राउत थिए । राष्ट्रिय खेलकुद परिषद्ले पदक विजेता खेलाडीलाई जनही ५ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरिसकेको छ ।

प्रकाशित: भाद्र २४, २०७५