सन्दर्भ

तीजको तिथि र थिति खै ?

- अधिकारी रवीन्द्र

 

 

 

प्रथमत: तीजका भगवान् शिवलाई नमन, जसले भोका र प्यासा व्रतालु महिलाहरूलाई मादल वा उफरको रफ्तारसँगै दिनभरि उफ्रन मनग्य क्यालोरी दिने गरेका छन् । साउन महिनाभर नेपाली हिन्दू नारीहरू हरियो वस्त्रमा सजिएर हिँडे । अहिले भदौ लाग्दा उनीहरूको वस्त्रको रङ रातोमा परिवर्तित भएको छ । 
तीज एक दिनको हुन्छ, दुई दिनको हुन्छ, ए बाबा लौ चारै दिन सही, तर यहाँ तीज जनैपुर्णे सकिएको भोलिपल्टैदेखि सुरु हुन्छ । सानो छँदा बरु रातको बाह्र बजेसम्म अजिर्ण नै होला जसरी दरको नाममा खीर, हलुवा र गुँदपाक खाएको सम्झना छ, तर त्यो कुनै एक तिथिमा हुन्थ्यो । आज तिथि र मिति सबै समथर छ, एक महिना लगाएर तीज मनाइन्छ, बधाई छ हिन्दू नारीहरूलाई । त्यसै गरी यो तीजको थिति पनि बिर्सिइँदै गएको छ । पण्डित वा वृद्धवृद्धाहरूलाई बाहेक युवापुस्तालाई न तीजको वास्तविक रीति–थिति थाहा छ, न वास्ता नै छ । उनीहरू खाने र लाउने रिवाजलाई बढावा दिने काममै व्यस्त छन् । 

यो महिनौसम्म मनाइने तीजको अरू कुनै विशेषता छैन, सिवाय दर खाने र गहनागुरियामा ठाँटसँग सजिएर हिंड्ने । यही समयमा हो सबै महिलाहरू महिला अधिकारवादी हुने अनि यही समयमा हो पुरुषचरित्रहरू घरमा पनि र कार्यालयमा पनि डबल ड्युटी गरेर लखतरान पर्ने । महिला महानुभावहरूको त यो समयमा घरमा बासै कहाँ हुन्छ र ? दर भ्याउने पनि मेलो हुने रहेछ । पुछार घरदेखि सिरान घरसम्म पालैपालो । अनि सदस्य बनिएका प्रत्येक सहकारीका दर कार्यक्रम छुट्टै । आमा समूहको पिकनिके दर छुट्टै, नारी चेतनाको छुट्टै, कार्यालयको छुट्टै, हितैषी संगीहरूसँग छुट्टै, आबद्ध संघसंस्थाको बेग्लै, नातेदारहरूसँग बेग्लै, स्कुले साथीहरूसँग अर्कै अनि कलेजका साथीहरूसँग अझ अर्कै । लाम्लास्टै छ यो लिस्ट ।

कसैलाई लगाइदिन भनेर हुन्छ कि बिहानभरि पार्लरमै गएर हुन्छ नजाने नि लाल साडी भिर्नैपर्छ । छड्के तिलहरी दर खान जानेहरूको अनिवार्य ड्रेसकोड जस्तै भैसकेको छ । अन्य सिँगारपटार त छँदै छ । हुनेले लगाउँछन्, फुर्माइस पनि हुनेहरूले नै गर्ने हुन् । शिरदेखि पाउसम्म बेहुलीसरि सब एक सय एक रूपमा सजिएर हिँड्छन् । ईष्र्या र देखासिकी महिलाहरूमा प्रा:य तीजमै उब्जन्छ । यसरी तीजलाई देखासिकी र एक हिसाबले पहिरनका रूपमा सम्पत्ति प्रदर्शनको गतिलो माध्यम पनि बनाइन थालिएको छ । 

तीजमा खाइने दरमा पनि व्यापक आधुनिकीकरण हुँदैछ । साथी–संगी, भड्किला गीत, छोटा पहिरन, वाइन र मासु । यहाँ पर्व–विकृतिप्रति सजग बनाउन खोजिएको हो, सबैले त्यसै गर्छन् भनेर लाञ्छना लगाउन खोजिएको होइन । यसो भन्दाभन्दै पर्वलाई एउटा पूर्णत: संस्कृतिका रूपमा मनाउनुभन्दा पनि जसरी पायक पर्छ त्यसरी मनाउन थाल्नेहरूको जमात चर्कै रूपले बढेको यथार्थ हो । कसैलाई व्रत बस्ने इच्छा हुँदैन वा कोही स्वास्थ्य समस्याले पीडित हुन्छन् भने करबलले वा देखासिकीमा किन व्रत बस्ने ? 

थाहा छ, भगवान् शिवको व्रतप्रति कैयन् महिलावृन्दको अगाध आस्था छ, त्यसको सम्मान गर्नैपर्छ, तर घर–समाजमा व्रतको ढोल पिटी मन्दिर दर्शनको बहानामा बजार पसी रेस्टुराँमा कुखुराको कबाब र झोलमा चोपली–चोपली चम्चाले म:म कुम्ल्याएको यही आँखाले देखेको छ । मलाई आपत्ति पनि होइन र चित्तदुखाइ पनि छैन, तर प्रश्न के हो भने यसरी जसरी मन लाग्यो त्यसैगरी पर्व मनाउँदा भोलि तीज, तीज नरही विकृति र विसंगतिहरूको थुप्रो बन्न पुग्नेछ । भावी पुस्ताले पनि तीजको यही रिमिक्स पारा सिक्नेछन् । विधि, पूजा र वास्तविक रीतिरिवाज पुर्खाहरूसँगै इतिहासमा विलिन हुनेछ । पहिलेजस्तो तीज माइती पुगेर गीति–विरह पोख्ने चाड अब रहेन । यो त मोजमस्ती गर्ने परम्पराका रूपमा विकसित हुन खोज्दै छ । यसैलाई महिला अधिकारकर्मीहरूले नारी स्वतन्त्रता र सशक्तीकरणको सुरुवात भनेर वकालत गर्छन् । 

अनि अर्को गज्जबको होड्बाजी छ– फेसबुक वा इन्स्टाग्राममा तस्बिर अपलोड गरेर देखाउनैपर्ने । अरे हिन्दू पर्व हो सबै हिन्दू नारीहरूले मनाउँछन्, देखाउनै पर्दैन । अझ बिदेसिएका बिचरा महिलाहरू त कामबाट छिटोछिटो आउने, पहिरन लगाउने दुई–चारवटी आफूजस्तै पीडित महिलासँग बसी सामाजिक सञ्जालमा हाल्नकै लागि तीज विशेष पोज दिई तस्बिर खिचाउने र लिपिस्टिक पुछी पुन: काममा फर्कने समेत गरेको पाइन्छ । महिलाहरूलाई उडाउने हेतुले यो दृष्टान्त दिइएको होइन, सत्य के हो भने देशमा हुँदा महत्व नलागेको चिजको महत्व विदेश पुगेपछि त्यसको दर्जनौं गुणा बढी हुन्छ । सबै पर्व जस्तै तीज पनि विदेशमै बस्नेलाई बढी लागेको भान हुन्छ, तर यो पर्व फेरि पनि तस्बिर खिच्नमै अनि अनलाइन प्रदर्शनीमै सीमित राखिनुपर्ने पर्व हो त ? 

अन्त्यमा, रातापिरा भै हिंड्ने, ठाडो ढुंगो देख्नासाथ अबिर दल्ने, मन्दिर देख्नासाथ पूजाथाली लिएर लाइन बस्ने, चोक र चौर भेट्नासाथ एउटी मादल ठोक्ने अर्की नाच्ने, एक्काइसौ शताब्दीका महान् हिन्दू नारीहरूलाई तीजले सुख–शान्ति प्रदान गरोस्— शुभकामना । 

प्रकाशित: भाद्र २४, २०७५