अन्तरवार्ता

आफ्नो मनको कुरा सुन्नुहोस्

- जनक तिमिल्सिना


लीना दवाडी चितवन भरतपुरको सामान्य परिवारमा जन्मिएकी हुन्, तर उनले विगत केही वर्ष भारतमा बसेर तय गरेको यात्रा प्रेरणादायक छ । भरतपुरको मैयादेवी कन्या कलेजबाट जनसंख्यामा स्नातकोत्तर तह पूरा गरेकी लीनाले भारतको अन्नामलाई युनिभर्सिटीबाट एमएस्सी गरेकी छिन् । सानैदेखि टेलिभिजनमा समाचार प्रस्तोता बन्ने सपना पालेकी लीना नेपालमा आफ्नो सपना पूरा नभएपछि भारत पुगिन् । त्यहाँ बह्मकुमारी राजयोग केन्द्रले सञ्चालनमा ल्याएको ‘पिस अफ माइन्ड’ च्यानलमा केही समय काम गरिन् । त्यसपछि उनी इन्दौर गइन् । त्यहाँ मध्यप्रदेशको राज्यस्तरीय ‘एसआर टाइम’ न्युज च्यानलमा तीन वर्ष समाचार प्रस्तोताका रूपमा बिताइन् । देश नै छाडेर परदेशी जीवन छनौट गरिसकेपछि लीना केही ठूलो गर्न चाहन्थिन्, त्यसैले उनलाई सामान्य टिभी च्यानलको जागिरले थामिरहन सकेन । ठूलो सपना देखिरहेकी लीना नयाँदिल्ली र मुम्बई ताक्न थालिन्, तर समयक्रमले उनलाई इन्दौरमै रोक्यो । उनले त्यहाँ विटिफिड अनलाइनमा स्टोरी टेलरका रूपमा प्रवेश पाइन् । आफ्नो काम र जिम्मेवारीप्रति समर्पित तथा आत्मविश्वासी लीनाको स्वभावकै कारण ८ महिनामै उनी त्यसको सम्पादक नियुक्त भइन् । तीन दशकको उकालो हिँडिरहेकी लीना त्यसको एक वर्षपछि प्रधान सम्पादकको हट सिटमा पुगिन् । मासिक ८ करोडभन्दा बढी भिजिटर रहेको विटिफिडले वार्षिक १ अर्ब भारतीय रुपैयाँ आम्दानी गर्छ । भारतमा मात्र होइन, विदेशमा पनि युवा केन्द्रित मनोरञ्जक सामग्री प्रस्तुत गर्ने विटिफिडको कमाण्ड सम्हाल्ने अवसर पाएकी लीनासँग साप्ताहिकका लागि जनक तिमिल्सिनाले गरेको कुराकानी : 

तपाईंको पत्रकारिता यात्रा र अनुभव बताइदिनुहोस् न ? 
एकदमै लामो यात्रा छ । चितवनको सिनर्जी एफएममा मैले ८ वर्ष काम गरे । त्यहाँ चार–पाँच वर्ष काम गरेपछि मलाई टेलिभिजनमा काम गर्न मन लाग्यो । म नेपाल टेलिभिजनमा काम गर्न इच्छुक थिए । म कि त नेपाल टेलिभिजन कि त कान्तिपुर टेलिभिजनमा काम गर्न चाहन्थें । मैले काठमाडौं गएर दुई–तीन पटक नेपाल टेलिभिजनमा अन्तर्वार्तासमेत दिएँ, तर नेपालमा सोर्सफोर्स बढी चल्छ अनि राजनैतिक संलग्नताजस्ता कुरा हेरिन्छ । त्यसकारण मैले त्यहाँ अवसर प्राप्त गर्न सकिनँ । म एकदमै निराश भए । 

अनि कसरी भारत पुग्नुभयो ? 
ब्रह्मकुमारीको हेडक्वार्टर राजस्थानमा छ । त्यहाँ मेरो पहिलेदेखि नै सम्पर्क थियो । सन् २०१३ मा राजस्थानको हेडक्वार्टरमा उनीहरूको एउटा टेलिभिजन च्यानल खुल्दै थियो । मेरो सम्पर्क भएकाले जाने–आउने पनि गरिरहन्थे । त्यहाँका चिनेका मानिसहरूले मलाई अडिसन दिन सुझाव दिए । म समाचार वाचनमा पोख्त नै थिए । आमालाई खबर गरे, यहाँ हाम्रो परिवारको पनि सम्पर्क भएकाले प्रयास गरेर हेर भन्नुभयो । मलाई हिन्दी आउन त आउँथ्यो, तर एकदमै राम्रो भने थिएन । अडिसन दिएँ, उनीहरूले मन पराए । सन् २०१३ पछि मैले २ वर्ष त्यहाँ काम गरे । ब्रह्मकुमारी अध्यात्मिक संस्था हो, त्यसैले उक्त च्यानलबाट आध्यात्मिक वा धर्म विषयक समाचार मात्र प्रसारण हुन्थ्यो । मलाई लाग्न थाल्यो म ज्ञान र परिचयको दायराका हिसाबले एकदमै सिमित भएकी छु, यद्यपि म धेरै गर्न सक्छु । मलाई मुम्बई, नयाँदिल्लीतिर जान मन लाग्यो, आजतक, इन्डिया न्युज, जीटिभी, जी न्युजमा जाने रुचि बढ्न थाल्यो, तर त्यहाँ जान सकिनँ, त्यसपछि म इन्दौर पुगे । इन्दौरमा मध्यप्रदेशको राज्यस्तरीय एसआर टाइम टेलिभिजनमा काम गरे । त्यहाँ काम गर्दा फाइनान्सियललगायत धेरै कुराको स्थायित्व भएन । अचानक सन् २०१५ मा विटिफिडमा सहभागी हुने वातावरण बन्यो । 

विदेशी भूमिमा तीन वर्षको संघर्षपूर्ण यात्राका सुन्नुपर्ने केही त्यस्ता कुरा छन् ? 
नयाँ ठाउँको संघर्ष अझ बढी तिख्खर हुन्छ । भारत र नेपालबीच खासै सांस्कृतिक भिन्नता छैन । भाषामा पनि केही समानता छ । काम गर्न त्यस्तो गाह्रो नभए पनि तीन वर्षसम्म मैले खासै साथी बनाउन सकिनँ । मेरो सपना ठूलो थियो, म केही गर्न चाहन्थे, अहिले पनि गर्नु छ । त्यसकारण धेरै गाह्रो भएका बेला पनि ममा नेपाल फर्कन्छु भन्ने विचार आएन । किनभने मलाई ठूलो सहर अथवा ठाउँमा गए भने राम्रो अवसर पाउँछु कि भन्ने लागिरहेको थियो । 

विटिफिडमा कसरी अवसर मिल्यो ? 
जब मैले नेपाल छोडें, त्यसपछि सबै कुरा एकपछि अर्को गरी सम्पन्न हुँदै गए । मेरो सन्दर्भमा बनाएका ९० प्रतिशत योजना पूरा भएनन् । राजस्थान छाडेर म इन्दौर आए, यहाँ मैले एसआर टाइममा पार्टटाइम न्युज रिडरको जागिर पाए । त्यहाँ मेरो कमाइ र एक्पोजर एकदमै सिमित थियो । दिनमा एक वा दुई वटा न्युज बुलेटिन पढ्थे । त्यतिबेला मलाई पैसाको अभाव खड्किन थाल्यो । त्यसपछि म राम्रो काम खोज्न थाले, भाग्य नै भन्नुपर्छ, एसआर टाइमको अफिस रहेकै भवनमा विटिफिडको अफिस रहेछ । उनीहरूले स्टोरी टेलर खोजिरहेका छन् भन्ने कुरा थाहा भयो । म त्यहाँ गएँ, अन्तर्वार्ता दिएँ अनि छनौट पनि भए । मसँग प्रोफेसनल अंग्रेजी राइटिङको स्किल थिएन, तर म भाग्यमानी रहें, किनभने मैले विटिफिडमा काम गर्ने अवसर पाए । 

स्वरको पृष्ठभूमि भएको पत्रकारले लेखन पत्रकारितामा आफूलाई कसरी अब्बल बनाउँदै लानुभयो ? 
रेडियोमा काम गर्दा मैले धेरै बोले, तर त्यति लेखिनँ । मैले समाचार तथा अन्तर्वार्ताहरू लेखेकी थिए, केही टक शोहरूसमेत चलाएकी थिएँ । त्यसमा पनि स्क्रिप्ट त अनिवार्य थियो, त्यो पूर्ण रूपमा नेपाली भाषामा हुन्थ्यो । राजस्थान र एसआर टाइममा काम गर्दा सबै काम हिन्दीमा गर्नुपथ्र्यो । हिन्दी र नेपालीमा मलाई धेरै भिन्नता लागेन, तर गाह्रोचाहिँ एकदमै भयो, किनभने नेपाली र हिन्दी व्याकरण एकदमै फरक । प्यासन भयो भने, मनमा मैले केही गर्नु छ भन्ने छ भने छिटोछिटो सिकिँदो रहेछ । मैले हिन्दी टाइपिङ सिकें, भाषामा पोख्त भए । विटिफिडमा आएपछि भने सबै अंग्रेजी भाषामा काम गर्नुपर्‍यो । मेरो अंग्रेजी ग्रामर एकदमै कमजोर थियो, स्टोरी टेलिङ, प्रोफेसनल राइटिङ एकदमै कमजोर थियो । म एकदमै भाग्यमानी हँु, किनभने मैले सिक्न पाइने मानिसहरूसँग काम गर्न पाए । 

विटिफिडमा आएपछि अंग्रेजीमा कसरी सुधार ल्याउनुभयो ? 
मसँग अंग्रेजीको आधारभूत ज्ञान थियो, तर प्रोफेसनल अंग्रेजी फरक हुन्छ । विटिफिडमा पसेपछि मैले जसरी पनि अंग्रेजीमा काम गर्नैपर्ने थियो । कस्तो हुँदो रहेछ भने जीवनमा केही गर्नु छ, तर इन्टरनेशनल ल्याङ्वेज एभरेज छ भने तपाईंले त्यसलाई सिरियस रूपमा लिनुहुन्छ । यदि कुनै कुरा राम्रोसँग जानेको छैन भने त्यसलाई सिक्न थाल्नुपर्छ । त्यसपछि मैले अंग्रेजी भाषालाई माया गर्न थाले । अनलाइनमा अंग्रेजी कोर्सहरू गरे, हलिउड सिरिज, हलिउड चलचित्रहरू हेर्न थाले । अंग्रेजी पत्रिकाहरू पढ्न थाले । बानी पार्न गाह्रै हुन्छ, तर गर्नु छ, गर्नैपर्छ भन्ने भए पनि सम्भव हुँदो रहेछ । 

विटिफिडका सुरुका दिन कस्ता रहे ? 
सात वर्ष पुरानो आइटी कम्पनीको प्रोडक्ट हो— विटिफिड । मैले कम सुरु गरेको वर्ष नै विटिफिड प्रारम्भ भएको थियो । एकदम थोरै कर्मचारी थियौं, हामी आफ्नो वेबसाइटमा अमेरिकन अडियन्सका लागि आर्टिकल्स प्रकाशित गथ्र्यौं । हामी ह्युमर, लाइफस्टाइल तथा इन्टरटेनिङ कन्टेन्टहरू दिन्थ्यांै । म स्टोरी राइटरका रूपमा दिनमा ५–६ वटा आर्टिकल लेख्थे । विटिफिडमा आएको ६–७ महिनामा म फेरि फ्रस्टेड हुन थालेकी थिए । विटिफिडका संस्थापकसहित त्यहाँ काम गर्नेहरू एकदमै राम्रा मानिस छन्, यो स्टार्टअप हो । म नेपालबाट भनेपछि उनीहरूले मलाई धेरै माया र सम्मान गरे अनि आश्वस्त पार्दै भने— तपाईं टेन्सन नलिनुहोस्, सबै राम्रो हुन्छ । म वरिपरिका मानिसहरूभन्दा एकदमै फरक पनि थिए । मैले निकै मेहनत गरेर त्यो चरण पार गरे । 

प्रधान सम्पादकसम्मको यात्रा कसरी सम्भव भयो ? 
मैले ८ महिना काम गरेपछि तत्कालीन सम्पादकले काम छोडेका थिए । त्यो समयमा म आफूमा व्यवसायिक क्षमताको विकास गर्दै थिए । त्यसबाहेक इमान्दारी, समर्पण र कम्पनीप्रतिको निष्ठाका कारण मेरो पदोन्नति भयो । मलाई सम्पादकको जिम्मेवारी दिइयो । त्यो पद मलाई अनुभव र क्षमताले होइन, मेहनत र निष्ठाका कारण दिइएको थियो । त्यतिबेला म तयार थिइन, तर संस्थापकले भने, ‘लीना तुम कर लोगी ।’ एक वर्षपछि तत्कालीन प्रधान सम्पादकलाई व्यवस्थापनले नयाँ स्थापना गरिएको विभागको प्रमुख बनायो । प्रधान सम्पादकको पद खाली भयो । त्यसपछि प्रधान सम्पादकमा एक वर्षमै पदोन्नति पाउने भाग्यमानी म भएँ । संसारमा कुनै पनि कम्पनीका लागि निष्ठा र इमान्दारी एकदमै ठूलो कुरा रहेछ । जुन मानिसले आफ्नो स्वभावलाई सकारात्मक सकारात्मक लयमा अघि बढाउँछ, उसले अवश्य मौका पाउँछ । 

अहिले टिम परिचालनलगायतको काम कति सहज छ ? 
मेरो ३० जनाको टिम छ । विटिफिड हेडक्वार्टरमा १ सय २० जना जति कर्मचारी छन् । म आफ्नो काममा एकदमै रमाइरहेकी छु, त्यसको कारण विटिफिड युवाहरूको कम्पनी हुनु पनि हो । हाम्रा लेखक, सम्पादक आदि सबै युवा छन् । उनीहरू एकदमै प्यासनेट छन्, सबै जना केही गर्ने चाहना राख्छन् । यो कारणले पनि म एकदमै रमाइरहेकी छु । 

टेलिभिजन पत्रकारिताको धोको पूरा भएको हो ? 
केही समय पहिलेसम्म ममा टेलिभिजनप्रति मोह थियो । टेलिभिजन पत्रकारिताप्रति एकदमै लोभिएकी थिए, तर बिस्तारै डिजिटल नै सबै कुरा हो भन्ने अनुभव गर्न थाले । अहिले मेरो हजुरबुवाको हातमा समेत स्मार्टफोन छ, सबै डिजिटल छन्, सबैको हातमा इन्टरनेट पुगेको छ । त्यसकारण मलाई लाग्यो, टेलिभिजन हिजो हो र डिजिटल वर्तमान तथा भविष्य । 

विटिफिडमा बनाउनेभन्दा समाचार बुन्ने काम बढी हुन्छ । बुन्ने काम कतिको रमाइलो लाग्छ ? 
हो, बनाउनु र बुन्नुमा फरक हुन्छ नै । जहाँ परम्परागत समाचार दिइन्न, त्यहाँ बुन्ने काम नै धेरै हुन्छ । विटिफिडको पत्रकारिता राजनीतिमा नभै आम मानिसको चासोको विषयमा केन्द्रित छ । अहिले हामीले आफ्नै मौलिक स्रोतमा समाचार संकलन गर्न थालेका छौं । हामी ‘फटाफट’ शैलीमा काम गर्छौं । 

विटिफिडको समाचार कक्ष र कार्यशैलीका बारे केही बताइदिनुहोस् न ?
विटिफिडको काम गर्ने तरिका अन्य समाचार च्यानल वा सञ्चारगृहहरूको भन्दा फरक छ । कन्टेन्ट डिपार्टमेन्टभित्र रिसर्च, राइटिङ, एडिटिङ तथा डिस्ट्रिब्युटिङजस्ता शाखा छन् । यस्तै, सोसल मिडिया र एनालाइसिस डिपार्टमेन्ट छ । अर्को एउटा कन्टेन्ट रुम पनि छ । यो सबैलाई मैले नै नेतृत्व दिने हो । हामी संसारभरका ट्ेरन्डिङ न्युजहरूलाई पछ्याउँछौं । त्यसका लागि आफ्ना कान र आँखाहरू चौबीसै घण्टा खुल्ला राख्छौं । कुनै ट्रेन्डिङ न्युज आयो भने हामी तुरुन्तै त्यसमा आफ्नो ढंगले काम गर्छौं । कुनै राजनैतिक समाचार आयो भने हामी त्यसलाई राजनैतिक दृष्टिकोणले प्रस्तुत गर्दैनौ, किनभने हाम्रासबै अडियन्स युवा छन्, उनीहरू सीधा राजनैतिक समाचार मन पराउँदैनन् । हामी त्यसलाई युवा अडियन्सले पढ्ने शैलीमा विकास गर्छौं ।

 कहिलेकाहीं पट्यार लाग्दैन ? 
जब हामी करिअर निर्माण गरिरहेका हुन्छौं, त्यहाँ व्यक्तिगत जीवन भन्ने कुरा हुँदैन । यदि करिअर निर्माणको चरणमा मेरो व्यक्तिगत समय पनि चाहिन्छ भन्न थालियो भने त्यहाँ कुरा ब्रिगन्छ । केही प्राप्त गर्न केही त गुमाउनैपर्छ । 

अहिले तपाईं जुन पोजिसनमा हुनुहुन्छ, त्यसका लागि आफूलाई कसरी योग्य बनाउनुभयो ? 
म त्यति सफल होइन, तर मैले एउटा बाटो पछ्याएकी छु । यो शिखरमा पुग्नका लागि एउटा राम्रो खुड्किला चाहिँ हो । जीवनमा सपना ठूलो देख्नुपर्छ, सपना देख्न कन्जुस्याइँ गर्नु हुँदैन । परिवारले स्वीकार गर्दैन, विवाह गर्दिन्छन्, जस्ता कुरामा अल्झियो भने तपाईं केही पनि गर्न सक्नुहुन्न । तपाईं आफ्नो परिचय स्थापित गर्न चाहनुहुन्छ भने केही त गर्नैपर्छ । इच्छाशक्ति र विश्वास महत्वपूर्ण कुरा हो । केही फरक गरेर देखाएपछि सबैको मुख बन्द हुन्छ ।

नेपाली युवाहरूलाई के भन्नुहुन्छ ? 
सामान्य जीवनतिर नहेर्नुहोस्, सामान्य जीवन सबैले बाँचिरहेका हुन्छन् । जन्मने, मर्ने, पैसा कमाउने, आफ्नो परिवार पाल्ने सबैले गरिरहेकै हुन्छन् । आफ्नो जीवनको कुनै महत्वपूर्ण उद्देश्य र लक्ष्य निर्धारण गर्नुपर्छ । ठूलो सपना देख्नुपर्छ र त्यसलाई प्राप्त गर्न कडा परिश्रम गर्नुपर्छ । जीवन एकदमै सुन्दर छ, तपाईं आफ्नो मनको कुरा सुन्नुहोस् । 

 

प्रकाशित: भाद्र २३, २०७५