चलचित्र

प्रदीप खड्काको रोज

- साप्ताहिक संवाददाता


गोपीकृष्ण मुभिजको निर्माण तथा आरोही इन्टरटेन्मेन्टको सहकार्यमा तयार पारिएको चलचित्र रोज यो वर्षको प्रतीक्षित चलचित्र हो । यो चलचित्र आज शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ । चलचित्र रोज आफ्नी प्रेमिकाको हत्या गर्ने एक प्रेमीको जीवनको कथामा आधारित छ । रोजको शीर्षक यसअघि रोजी थियो । एउटा सत्य घटनाकी पात्रको नाम जुधेको भन्दै विरोध भएपछि यो चलचित्रको शीर्षक परिवर्तन गरिएको हो । 

चलचित्र रोज क्राइम थ्रिलरसँग सम्बन्धित रहेको अभिनेता प्रदीप खड्का बताउँछन् । अहिलेसम्म लभर ब्वायका रूपमा प्रस्तुत हुँदै आएका प्रदीप यो चलचित्रमा साइको पात्रका रूपमा देखा पर्छन् । रोजमा फुल मात्र हुँदैन, काँडा पनि हुन्छ भनेजस्तै एउटा सुन्दर प्रेममा कसरी काँडा आइपुग्छ भन्ने विषयलाई निकै फरक ढंगले चलचित्रमा प्रस्तुत गरिएको बताइन्छ । संसारमा सबैभन्दा धेरै मेहनत र संघर्ष प्रेममा गर्नुपर्छ र ती सबै कुरा रोजमा समावेश छ, –निर्देशक निरक पौडेल बताउँछन् । 

रोजका गीतमा निशान भट्टराई तथा प्रताप दास आदिको स्वर सुन्न सकिन्छ । यसअघि नै सार्वजनिक चलचित्रको फूल हैन गीत हिट भैसकेको छ । यो चलचित्रको कथा केदार भुषालले लेखेका हुन् । रोजको छायांकन नेपाल, टर्की तथा अष्ट्रेलियाका विभिन्न स्थानमा गरिएको छ भने यो चलचित्र १ सयभन्दा बढी हलमा प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।

निर्देशक : निरक पौडेल
कलाकार : प्रदीप खड्का, मिरुना मगर, परमिता आर एल राणा आदि ।
संगीत : अलिस कार्की, अर्जुन पोखरेल 

प्रकाशित: भाद्र २२, २०७५