बलिउड

सलमानका सारथि

- साप्ताहिक संवाददाता


बलिउडमा तीन दशक बिताइसकेका सलमान खानले अझै विवाह गरेका छैनन् । यद्यपि सलमानको नाम पटक–पटक धेरै युवतीसँग जोडिँदै आएको छ । सलमानले ती युवतीहरूमध्ये कतिपयसँग प्रेम गरे, कतिपयसँगको सम्बन्ध गसिपमा मात्र सीमित भए । पटक–पटक विभिन्न युवतीसँगको प्रेम, अफेयर तथा धोकाको अनुभव संगालेका ५२ वर्षीय सलमान हालसम्म अविवाहित नै छन् । उनी विश्व सुन्दरीदेखि चर्चित अभिनेत्रीसम्म सम्वन्धमा जोडिए । 

ऐश्वर्या राय : सन् १९९४ की विश्व सुन्दरी ऐश्वर्या राय र सलमानको सम्बन्धको समाचार अहिलेसम्म रोकिएको छैन । सञ्जयलीला भन्सालीको हम दिल दे चुके सनमको सुटिङका क्रममा सलमान र ऐश्वर्याबीच प्रेम सुरु भएको बताइन्छ । आफूलाई निरन्तर शारीरिक यातना दिएको भन्दै ऐश्वर्याले सलमानलाई २००२ मा छोडेकी थिइन् ।

संगिता बिजलानी : सन् १९८० की मिस इण्डिया संगिता बिजलानी पनि सलमानको प्रेममा चुर्लुम्म डुवेकी थिईन । झण्डैं १० वर्ष डेटमा रमाएपनि उनिहरू सम्वन्धमा टिक्न सकेनन् । अन्तत १९९० को दशकमा 
उनीहरू छुट्टिए ।

स्नेहा उलाल : ऐश्वर्यापछि सलमान १८ वर्षीया अभिनेत्री स्नेहा उलालसँगको सम्बन्धमा रहे । यद्यपि उनिहरूको सम्बन्ध धेरै वर्ष टिकेन । यी दुईको ब्रेकअप किन भयो भन्ने विषयमा मिडियाले कुनै छनक पाएको छैन ।

क्याट्रिना कैफ : सलमानलाई क्याट्रिना कैफलाई बलिउडमा स्थापित गराउने अभिनेताका रूपमा समेत लिइन्छ । २००५ देखि सम्बन्धमा जोडिएका उनीहरूको ब्रेकअप २०१० मा भएको थियो । यद्यपि उनीहरू चलचित्रमा भने निरन्तरसँगै काम गरिरहेका छन् ।

जरिन खान : २०१० मा सलमान र जरिनले वीरमा अभिनय गरेका थिए । उनीहरू राति अबेरसम्म पार्टीमा रमाउँथे । यद्यपि यो जोडी पनि अन्तत: अलग भयो ।

महक चाहल : २००७ मा प्रदर्शित सलमानको ब्लकबस्टर चलचित्र वान्टेडमा चाहलले अभिनय गरेकी थिइन् । महकले सलमानले सञ्चालन गर्ने रियालिटी शोमा समेत भाग लिएकी थिइन्, तर पछि उनीहरू विभिन्न कारण देखाउँदै छुटे ।

लुलिया बन्तुर : सलमान रोमानीयन अभिनेत्री लुलिया बन्तुरसँग लामै समय डेटमा रमाए । यी दुईको सम्बन्ध अहिले टुटिसकेको बताइन्छ ।

एली अव्राहम : चलचित्र मिक्की भाइरसबाट बलिउडमा पाइला चालेकी एली अव्राहमसँग सलमानले विवाह गर्न सक्ने भारतीय मिडियाहरूले दाबी गरेका छन् । सलमान एलीको निकै निकट रहेको बताइन्छ ।

सोमी अली : १९ वर्षको उमेरमा बलिउडमा डेब्यु गरेकी सोमी अली र सलमान खानको पहिलो भेट सन् १९९३ मा भएको थियो । अत्यधिक मदिरा सेवन गर्नुका साथै अरूको अपमान गर्ने सलमानको बानीका कारण अलीले सन् १९९९ मा उनलाई छोडेकी हुन् ।

प्रकाशित: भाद्र २२, २०७५