मुक्त आकाश

टाउको

- अविरल थापा



हामी सबैको टाउको छ । मैले कुरा गर्न खोजेको अझ मान्छेको टाउकाको हो । कसैको गोलो होला, कसैको चेप्टो होला, कसैको सानो होला, कसैको ठूलो होला तर हामीसँग टाउको छ । हामी भएर टाउको छ, टाउको भएर हामी छौं । टाउकोबिना कोही जिउँदो रहेको मैले चाहिँ सुनेको छैन । टाउको भएन भने मुर्कट्टो भइन्छ । मुर्कट्टे भूत हुन्छ भनेर कहानीहरूमा पढ्न पाइन्छ, कथा सुन्न सकिन्छ, तर मुर्कट्टे मान्छे बाँच्न सम्भव छैन । 

टाउको जत्रोसुकै होस्, त्यसभित्र हुने कुरा प्राय: सबैको उस्तै हुन्छ । शरीरको भार पाइतालाले थेग्छ तर जिन्दगीको भार टाउकोले थेग्छ । केही कुरा गडबड भयो भने मान्छेको टाउको दुख्छ । टाउको अनेक तन्तु, नसा, गिदी, खप्पर आदि मिलेर बनेको हुन्छ । 

झट्ट हेर्दा सबैको टाउको उस्तै कुरा मिलेर बनेको हुन्छ तर सबैको टाउकोले बोक्ने भार एउटै हुँदैन । बाहिरी थाप्लोमा कसले कत्रो भारी बोकेर हिँडेको छ त देखिन्छ तर भित्री थाप्लोमा कसले कत्रो भारी बोकेर हिंडिरहेको छ, बाहिरबाट देखिँदैन । मानिसहरूले अरूका बारेमा सजिलै भनिदिन्छन्— यसलाई त के पीर छ र ? हाइसन्चो छ नि, तर उसलाई हाइसन्चो छ कि छैन भन्ने कुरा उसैको टाउकोलाई मात्र थाहा हुन्छ । 

कसैको टाउकोमा भरिभराउ कपाल हुन्छन्, कोही तालुखुइले हुन्छन् । कपाल भएको टाउको पनि नराम्रो देखिन सक्छ तालुखुइले टाउको पनि सुन्दर देखिन सक्छ । सुन्दरता नाप्न सकिने कुरै होइन, यो त हाम्रो सोच र हेर्ने दृष्टिकोण मात्र हो । कहिलेकाहीं सोच्दै नसोचेको मान्छेले आत्महत्या गरिदिन्छ । बाहिरबाट हेर्दा उसले अनायास उक्त कदम चाले जस्तो लाग्छ । यद्यपि उसले किन आत्महत्या गरेको थियो र जिन्दगीको बोझ उसको टाउकोले कति समयदेखि धानिरहेको थियो अरुलाई 
थाहा हुँदैन । 

जिन्दगीमा परेको पीर र थामेको बोझको असर डाक्टरले निकाल्ने पोस्टमार्टम रिपोर्टमा कहिल्यै देखिँदैन, त्यसैले संसारका कतिपय मृत्यु रहस्यमै बिलिन हुन्छन् । विद्यार्थीलाई पढाइको बोझ होला, गृहस्थलाई घर–व्यवहारको बोझ होला, प्रेमीहरूलाई प्रेमको बोझ होला, कसैलाई जागिर नपाएको पीर होला, कसैलाई धन गुमेको पीर होला । पीर नभएको मान्छे र भीर नभएको पहाड त कहाँ होला र ? सबैको भार टाउकोले नै धान्नुपर्ने हुन्छ । मान्छे पाइताला टेकेर हिँड्छ जस्तो लाग्छ तर मानिसहरू हरेक दिन टाउकोले टेकेर हिँडिरहेका हुन्छन् । 

टाउकोलाई कति भारी बोकाउने, कति नबोकाउने भन्ने कुरा चाहिँ आफूमा भर पर्छ । मानिसका असिमीत इच्छा चाहना छन्, अनेक जिम्मेवारी छन् । मान्छे आफ्ना बारेमा भन्दा अरूका बारेमा धेरै सोच्छ । अरुलाई खुसी पार्न खोज्दाखोज्दै न आफू खुसी हुनसक्छ न अरूलाई नै खुसी तुल्याउन सक्छ । सबैलाई एकफेर खुसी पार्न सकिएला सधैंभरि सकिँदैन र सबैलाई एकैचोटि खुसी तुल्याउन 
पनि सकिँदैन । 

तपाईं आफ्नो जिम्मेवारी वहन गर्न सक्नुहुन्छ तर सबैलाई खुशी पार्ने ग्यारेन्टी गर्न सक्नुहुन्न । जब तपाईं अरूको खुसीको सुखको ठेक्का लिएर हिंडनुहुन्छ तब टाउको बोझिलो हुन्छ । ज–जसलाई सबैभन्दा माया गर्छु भन्ने मान्नुहुन्छ उनैले तपाईंको टाउकोको भार बढाइरहेका हुन्छन् । मानिसलाई एकैचोटि धेरै कुरा चाहिएको हुन्छ र ती कुरा प्राप्त गर्न नसक्दा टाउको गर्हुंगो हुन्छ । एउटा कुरा प्राप्त गरिसकेपछि मात्र अर्कोको चाहना राखे टाउकाको बोझ कम हुन्छ । 

कसैलाई रिस उठ्यो भने पनि टाउकोमै असर पर्छ । रिस पोख्नुपर्‍यो भने पनि तेरो टाउको– साउको फुटाइदिम् भन्छ । झगडा पर्दा पनि दुस्मनले टाउकोमै प्रहार गर्ने प्रयास गर्छ । टाउकोमा खलबली भयो भने वा चोट पुर्‍याउन सकियो भने धेरै कुरा बिग्रन्छ भन्ने कुरा दुस्मनलाई समेत थाहा हुन्छ । यहाँ टाउको जोगाउन गार्‍हो छ । 
टाउकोमा प्रहार गर्नेहरू दुस्मन मात्र हुँदैनन् ।

साथी बनेर, आफन्त बनेर, प्रेमी–प्रेमिका बनेर, पति–पत्नी बनेर, छोरा–छोरी बनेर, बा–आमा बनेर अनेक–अनेक नाता र भेषमा रहेर टाउको खानेहरू जानी–नजानी टाउकोमा प्रहार गर्नेहरूले वरपर घेरेर बसेका हुन्छन् । सम्भव भएसम्म यो टाउको जोगाउनु छ । मोटरसाइकल चलाउँदा वा विकास निर्माण गर्दा टाउको जोगाउने हेलमेट बनेको छ, तर जिन्दगी चलाउँदा लगाउनुपर्ने हेलमेट आजसम्म कसैले बनाउन सकेको छैन । 
 
क्रान्तिमा लागेका विद्रोहीको टाउकाको मोल तोकिन्छ । फलानोको टाउको ल्याउन सके यति पुरस्कार दिइनेछ भनेर धेरै देशका सरकार तथा विद्रोहीले समेत खुलेआम घोषणा गरेको इतिहास छ । 

यस्तो लाग्छ, यहाँ एक–अर्काको टाउको काट्न हरेक मानिस हातमा धारिलो तरवार बोकेर हिंडिरहेका छन् र उचित मौकाको पर्खाइमा छन् । हामी एक–अर्काको टाउको खाइरहेका छौं । हामी जानीजानी आफ्नो टाउको दुखाइरहेका छौं । 

हरेक पल हामी आफ्नो टाउकोमा अनेक टाउकाको बोझ लिएर बस्छौं । के तपाईंको टाउको सुरक्षित छ ? कुरा बुझनु भो ? टाउको जोगाउनुहोस् टाउको !

                                                                    Facebook.com/abeeralthapa

                                                                       Twitter@abeeralthapa

प्रकाशित: भाद्र २१, २०७५