खेलकुद

प्याराग्लाइडिङले धान्यो नेपालको इज्जत

- साप्ताहिक संवाददाता


इण्डोनेशियामा जारी १८ औं एसियाली खेलकुदमा नेपालको पदक खडेरी अन्त्य भएको छ । जकार्ता एशियाडको १२ औ दिन नेपालले प्याराग्लाइडिङको पुरुषतर्फ क्रस कन्ट्री इभेन्टमा रजत पदक जितेको छ । पहिलो सहभागितामा नै नेपालले ११ हजार ३ सय ६४ स्कोर बनाउँदै रजत पदक जितेको हो । पदक जित्नका लागि बुधबारको खेलमा नेपालले २ हजार ७ सय ९७ स्कोर बटुलेको थियो । 

यो इभेन्टमा स्वर्ण जितेको जापानले ११ हजार ३ सय ९१ स्कोर बनायो । एशियाली खेलकुदमा नेपालको जितेको यो दोस्रो रजत पदक हो । यसअघि तेक्वान्दोकी सविता राजभण्डारीले १९९८ को बैंकक एशियाडमा रजत पदक जितेकी थिइन् । पदक जित्ने प्याराग्लाइडिङको नेपाली टोलीमा विजय गौतम, विमल गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विमल थापाले स्पर्धा गरेका थिए । उता महिला प्याराग्लाइडिङ टोली भने छैठौ स्थानमा रह्यो ।

प्रकाशित: भाद्र १७, २०७५