केवल एक प्रश्न
बाथरुममा कुन गीत बढी गुनगुनाउनुहुन्छ ?
स्वर्गीय गायक झलकमान गन्धर्वको ‘बाला जोवन खेलेर गयो’ गीत मुखमा झुन्डिएको छ । त्यसैले बाथरुममा छिरेपछि यही गीत गुनगुनाउन थालिहाल्छु ।
राजु ढकाल, गायक
म नेपाली गीत–संगीतलाई असाध्यै माया गर्छु । त्यसैले बाथरुममा सधैंजसो नेपाली गीत नै गाउँछु, यही गीत भन्ने छैन ।
सञ्चिता लुईंटेल, अभिनेत्री
म त जुन गीत चर्चामा छ त्यही गुनगुनाउँछु । अहिले महेश काफ्लेको ‘हावा चल्यो सिरिरी, आँतै जिरिरी, म मुरली बजाउँछु, तिमी नाच फिरिरी’ बढी गुनगुनाइरहेको छु ।
सुमन कार्की, हाँस्यकलाकार
‘सिमसिमे पानीमा’ मैले बाथरुममा धेरैजसो गुनगुनाउने गीत हो ।
धीरज राई, गायक
‘यस्तो एउटा कथा रै’छ संसारमा माया भन्नु’ गीत बाथरुम छिर्नेबित्तिकै गुनगुनाउन थाल्छु ।
एलिना दुलाल, कवि
गाउन त धेरै गीत गाउँछु तर रेकर्डचाहिँ गराएको छैन, तर घरको बाथरुममा गाउने गीतचाहिँ सुपरहिट नै छ । कहिले त बाथरुमको ट्रेन्डिङमै पर्छ ।
अजय रेग्मी, हाँस्यकलाकार
म बाथरुम छिरेपछि गीत गुनगुनाउनुभन्दा पनि नयाँ गीत रचना गर्छु । मेरो यस्तै रचनामा ‘फुच्ची–फुच्ची, झुम्के बुलाकी’ आदि बजारमा राम्रै चलिरहेका छन् ।
विषम गौतम, गीतकार
म बाथरुममा धेरैजसो एक समय निकै चर्चामा रहेको ‘लालुपाते नुघ्यो भुइँतिर’ गीत गुनगुनाउँछु ।
एकनारायण भण्डारी, संगीतकार
म पहिले त बाथरुम गायक नै हो । बाथरुममा होस् वा खाना खाँदा, भातको गाँस मुखमा हुन्थ्यो, तैपनि गीत गुनगुनाउन छाड्दिनथेँ । म बाथरुममा प्राय: चर्चामा रहेका गीत गुनगुनाउँथेँ, तर अहिले बाथरुममै नयाँ–नयाँ गीतको सिर्जना गर्छु ।
रामजी खाँड, गायक
गीत त मनले मज्जाले गुन गुनाउने मात्र होइन, गाइन्छ पनि । तिम्रो मनको माझमा फुल्न मन लाग्छ, तिम्रै मीठो बातमा भुल्न मन लाग्छ, तिमी रिमिझिम वर्षा म बादल हुँ तिमी पानी, सपनीमै बरबराउने कस्तो रोग होला, पिरतीले थेरापी कसले गरिदेला आदि गीत बाथरुम छिर्नेबित्तिकै गुनगुनाउन थाल्छु ।
घनश्याम गौतम, हाँस्यकलाकार
‘ठन्डा–ठन्डा पानी से नहाना चाहिए’ बाथरुममा निकै गुनगुनाउँछु ।
पुजन घिमिरे, मोडल
जति माया लाए पनि, जति कसम खाए पनि ।
राजेन्द्र भण्डारी, गायक
गीत त धेरै गुनगुनाइरहेकी हुन्छु । त्यसमा पनि ‘मिरमिरेमा सररर त्यो भाले बासेको, आउँछ झल्को सरर मायालु हाँसेको’ गीत बढी मुखमा आउँछ ।
सुशीला गौतम, गायिका
म बाथरुममा कहिल्यै गीत गाउँदिनँ, किनभने मसँग गीत गाउन लायकको स्वर नै छैन ।
अर्जुन तिवारी, छायाँकार
‘सुरिलो रूख सल्लै हो’ गीत मज्जैले गुनगुनाउँछु ।
टंक तिमल्सिना, गायक
अहिलेलाई चाहिँ ‘तिमी रोएको पल’ मुखमा झुन्डिएको छ । बाथरुम छिरेपछि यही गीत खुस्किहाल्छ ।
निर्मल शर्मा, अभिनेता
म बाथरुममा खासै गीत गुनगुनाउदिनँ । म त बाथरुम छिरेपछि धेरैजसो मोबाइल चलाइरहेकी हुन्छु ।
पूर्णकला बीसी, गायिका
मुडअनुसार आफूलाई मनपर्ने नयाँ पुराना नेपाली, हिन्दी सबै किसिमका गीत गुनगुनाउँछु ।
कृष्ण काफ्ले, गायक
म गुनगुनाउनुभन्दा बढी सुन्छु । म बाथरुममै मोबाइल लगेर आफूलाई मन परेको गीत बजाउँछु ।
रेश्मा भण्डारी, खेलाडी
आफ्नो जुन चलचित्र रिलिज हुने तयारीमा छ, त्यही चलचित्रको गीत मुखमा झुन्डिन्छ । त्यसैले त्यही गीत बाथरुममा समेत गुनगुनाउँछु । हाललाई चलचित्र रामकहानीको तिम्रा लागि म छु यो दुनियाँ छोडिदेऊ बढी गुनगुनाइरहेकी छु ।
शिल्पा पोखरेल, अभिनेत्री
नजाऊ है सानु पँधेरीमा बाथरुममा एकदमै गुनगुनाउँछु । किनभने यो गीत मलाई एकदमै मनपर्छ ।
रविना भण्डारी, मोडल