खेलकुद

खुसी, आँसु र दु:ख

- साप्ताहिक संवाददाता

 

फुटबलका सर्वकालीन महान् खेलाडी पेलेको भाषामा फुटबल ‘ब्युटिफुल गेम’ हो, अर्थात् सुन्दर खेल । यस्तो किनभन्दा फुटबलले खुसी दिन्छ । उक्त खुसीले उत्साह, समृद्धि आदि धेरै थोक दिन्छ । त्यसैले पनि फुटबल भनेपछि हुरुक्क हुनेहरू धेरै छन्, आम जनतादेखि लिएर सिंगो देशसम्म । एक महिनाअघि प्रारम्भ भएको विश्वकप–२०१८ अहिले अन्त्यतिर छ । 

फुटबलले खुसीसँगै धेरै सकारात्मक सोच दिन्छ, यसको उदाहरण हो–फ्रान्स । फ्रान्स फेरि एकपटक विश्वकपको फाइनलमा पुगेको छ र उपाधिका लागि प्रबल दावेदार बनेको छ । डिडिएर डेसक्याम्पको फ्रान्स दुई वर्षअघि युरोपेली च्याम्पियनसिपको पनि फाइनलमा पुगेको थियो । दुई वर्षभित्र दुई ठूला प्रतियोगिताको फाइनल खेलेर फ्रान्सले प्रमाणित गरेको छ, उसको फुटबल अब्बल दर्जाको छ । 

धेरै होइन, चार वर्षअघि मात्र फ्रान्सेली फुटबल धरापमा थियो । त्यतिबेला भन्न थालिएको थियो, फ्रान्स देश आफै समस्यामा छ । फ्रान्सेलीहरूबीच एकता हुन छाडेको छ, त्यहाँका जनताबीच फाटो छ । आप्रवासीहरूले गर्दा फ्रान्स असुरक्षित पनि हुन थालेको छ । यसको झझल्को फ्रान्सेली टिममै पनि देखिएको थियो । टिम एकपछि अर्को समस्याबाट गुज्रिरहेको थियो । त्यसलाई रोक्न सक्ने एउटै तत्व फुटबल थियो ।

आखिर त्यस्तै भयो । फ्रान्स जत्तिको विविधता भएको देश अरू कुनै छैन पनि भनिन्छ । अचेल सबै एकै स्थानमा छन्, खुसी मनाइरहेका छन्, सबै उत्साहित छन् । अहिलेको फ्रान्सेली टिम युवा मात्र छैन, देशजस्तै यसमा पनि विविधता पाइन्छ । टिमका अधिकांश खेलाडी अफ्रिकी मूलका छन्, तिनका परिवारले कुनै समय फ्रान्समा आप्रवासीका रूपमा प्रवेश गरेका थिए, भोक, गरिबी तथा अशिक्षाबाट मुक्ति पाउन । अहिलेका ती सबै खेलाडीले फुटबलकै कारण समृद्धि अनुभव गरिरहेका छन् । फुटबल र अहिलेको विश्वकपले फ्रान्सलाई प्रशस्त खुसी दिएको छ । 

यही फुटबल र विश्वकपले आयोजक रुसलाई पनि धेरै खुसी दियो । रूसीहरूले एउटै छानामुनि बसेर फुटबलको निहुँमा खुसीयाली मनाएको दृश्य पहिलो पटक देखियो । प्रतियोगिता सुरु हुनुअ घि त कसैले पनि रुसी टिमलाई भाउ दिएका थिएनन् । हुन पनि रुसी टिम प्रतियोगितामा सहभागीमध्ये सबैभन्दा तल्लो वरियताको टिम थियो । आखिर यही टिमले क्वाटरफाइनलसम्मको यात्रा तय गर्‍यो । रुसले फुटबल र विश्वकपको निहुँमा वास्तविक रुस कस्तो छ भन्ने कुरा पनि देखाउन पायो । फुटबलमा सबै टिमले उपाधि जित्दैनन्, न त प्रतियोगिताको आयोजना नै गर्न पाउँछन्, तैपनि खुसी हुने निहुँ त हुन्छ नै । 

एसियाली देशमध्ये जापान एउटा मात्र त्यस्तो देश रह्यो, जसले नकआउट चरणमा प्रवेश पायो । त्यसक्रममा जापानी फुटबल टिमले धेरै एसियाली फुटबल समर्थकको अनुहार खुसी ल्याउने काम गर्‍यो । खुसी त रुस पुगेका जापानी समर्थकले पनि देखाए । भलै टिम हारेको थियो, अन्तिम १६ मा, तर उनीहरूले खेलपछि रंगशाला सफा गर्न बिर्सिएनन् । जापानी समर्थकले यसरी रंगशाला सफा गरेर गज्जब नै गरे । 

सेमिफाइनल पुगेपछि बेल्जियम, इंग्ल्यान्ड र क्रोएसियामा पनि उत्तिकै खुसी भए । इंग्ल्यान्ड लामो समयपछि विश्वकपमा यति लामो दूरी तय गर्न सफल भएको हो, त्यसैले पूरा बेलायत अहिले फुटबलमय भएको छ । अर्कातर्फ क्रोएसियाको छोटो इतिहासमा खालि युद्ध र त्यसले दिएको विभिषिका मात्र पाइन्छ, तर त्यसलाई भुल्ने र सकारात्मक हुने निहुँ क्रोएसिया तथा त्यहाँका जनताका लागि दिएको छ फुटबलले । 

फुटबलको सुन्दर यो रूप मात्र उसको परिचय होइन, फुटबललाई निर्दयी पनि भनिन्छ, किनभने यसले दु:ख पनि दिन्छ, दु:खले आँसु पनि दिन्छ । बेल्जियम सेमिफाइनलमै रोकिएपछि उसका लगभग सबै खेलाडी असिम पीडाका कारण मैदानमै ढले । नढलुन् पनि किन ? अहिलेको बेल्जियम फुटबल सबैभन्दा राम्रो समयबाट गुज्रिरहेको छ, टिमका खेलाडी स्वर्णिम पुस्ताका हुन् । 

तैपनि बेल्जियम विश्वकप फाइनलको यति नजिक पुगेर निराश हुनुपर्‍यो । यस्तै–यस्तै अनुभव क्वाटरफाइनलमा पुगेर रोकिएका टिमले पनि गरेको हुनुपर्छ, विशेषत: ब्राजिलले । धेरैले मन पराउने टिम हो–ब्राजिल । ऊ उपाधिको सबैभन्दा बलियो दावेदार मानिएको थियो, तर टिम फेरि एकपटक क्वाटरफाइनलमै रोकियो । 

यसपटकको विश्वकपमा दुई ठूला टिम अन्तिम १६ मा रोकिए, अर्जे्न्टिना र पोर्चुगल । यो प्रदर्शनले पूरा देश, तिनका खेलाडी तथा समर्थकलाई पनि उत्तिकै दु:ख भएको हुनुपर्छ । नहोस् पनि किन ? यी दुई टिममा थिए, अहिलेको विश्व फुटबलका दुई ठूला स्टार लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो । सायद दुवैले अन्तिम पटक विश्वकप खेले, सम्भवत: अब फेरि उनीहरू विश्व फुटबलको यो सबैभन्दा ठूलो प्रतियोगितामा देखिने छैनन । उनीहरू निकै राम्रा खेलाडी हुन्, तर उनीहरूको खेल जीवनमा विश्वकप जित्न नसकेको दाग भने सधैंका लागि लागेको छ । 

जसले विश्वकप जित्न सक्दैन, त्यो महान खेलाडी हुन सक्दैन भने सोच पनि छ । त्यसैले होला, जतिबेला मेसी र रोनाल्डो घर फर्कने क्रममा थिए, त्यति बेला उनीहरूको अनुहारमा गहिरो चोट देखिन्थ्यो, उनीहरू लाचार देखिन्थे । साँच्चै फुटबलमा आफूले चाहे जस्तो र सोचे जस्तो मात्र कहाँ हुन्छ र ? जर्मनी त झन डिफेन्डिङ च्याम्पियनका रूपमा रुस आएको थियो । उसले नकआउट चरणमा सम्म प्रवेश पाएन । सिंगो अफ्रिकाका लागि पनि यो विश्वकप सुखद रहेन । धेरैले माने, यसपटकको विश्वकप अफ्रिकी फुटबल समर्थकका लागि सबैभन्दा दु:खदायी रह्यो, किनभने अफ्रिकामा कुनै पनि टिमले नकआउट चरणमा प्रवेश पाएनन् । केही टिम नकआउट चरणको निकै नजिक पुगेर पनि हिस्स हुनुपर्‍यो । यसले दु:ख त दिन्छ नै । फुटबलले दिने दु:ख कस्तो हुन्छ, स्पेनका आन्द्रे इनिस्टासँग सोधे हुन्छ । 

केही समयअघि मात्र स्पेनले विश्वकप जितेसँगै दुई पल्ट युरोपेली च्याम्पिनसिप पनि जितेको थियो । यद्यपि अहिले स्पेनी फुटबल ओरालो लागेको छ । यसपटक पनि स्पेनले केही गर्न सकेन । टिम अन्तिम १६ मा रोकियो, रुससँग । त्यसपछि इनिस्टाले संन्यासकै घोषणा गरे । त्यस क्रममा उनको भनाइ थियो, ‘हारले स्तब्ध छु । यो मेरो खेल जीवनकै सबैभन्दा दु:खदायी क्षण हो । फुटबलमा आफूले चाहेजस्तो कहाँ हुन्छ र ?’

प्रकाशित: असार ३०, २०७५