संगित

भिडियोमा अभिनेत्री

- साप्ताहिक संवाददाता


चलचित्रको व्यस्तताबीच अभिनेत्रीहरू यतिबेला नेपाली गीतका म्युजिक भिडियोलाई विशेष प्राथमिकता दिन थालेका छन् । प्रियंका कार्कीदेखि छुल्ठिम गुरुङसम्मका अभिनेत्रीहरू फुर्सद हुनेबित्तिकै म्युजिक भिडियोको सेटमा भेटिन थालेका छन् । पछिल्ला तीन सातामा सार्वजनिक भएका म्युजिक भिडियोहरूमा झन्डै आधा दर्जन अभिनेत्रीले अभिनय गरेका छन् । 

गत साता अभिनेत्री रीमा विश्वकर्माले गायक सुमन थापाको एउटा नयाँ गीतको म्युजिक भिडियोमा अभिनय गरिन् । मोडल दीपक घिमिरेसंग अनस्क्रिन गरिएको उक्त भिडियोलाई बिजेश पौडेलले निर्देशन गरेका हुन् । अभिनेत्री शिल्पा पोखरेलद्वारा अभिनित गायिका भावना आचार्यको बग्ने खोला बगिगो गीतको म्युजिक भिडियो कम समयमै लोकप्रिय भैरहेको छ । 

दीपक शर्माको शब्द तथा संगीतको उक्त गीतमा रामचन्द्र काफ्लेको पनि स्वर सुन्न सकिन्छ । चलचित्रमा समेत सक्रिय अभिनेत्री प्रियंका कार्की फुर्सद हुने बित्तिकै म्युजिक भिडियोलाई समय दिन्छिन् । गत साता उनले अभिनय गरेको फास्ट फास्ट शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक भयो । 

नेपाल आइडलको टप टेनसम्म पुग्न सफल गायक उल्सन श्रेष्ठको पहिलो मौलिक गीत हुरि आयोको म्युजिक भिडियो पनि हालसालै सार्वजनिक भएको छ, जसमा अभिनेत्री आँचल शर्माले अभिनय गरेकी छिन् । गायक सिताराम पोखरेलको हालै सार्वजनिक स्वार्थ तिम्रो गीतमा अभिनेत्री अनु शाहले अभिनय गरेकी छिन् । गायक सन्तोष लामाको हालै सार्वजनिक गीतमा अभिनेत्री छुल्ठिम गुरुङले अभिनय गरेकी छिन् ।

 

प्रकाशित: जेष्ठ १५, २०७५