अपराध

श्रीमतीको रिसमा दुई नाबालक मारिए

- साप्ताहिक संवाददाता


वैशाख ९ गते मध्यान्ह शान्तिनगरस्थित सुकुम्बासी वस्तिमा एउटा क्रुर र विभत्स घटना घट्यो । दुई अबोध बालकको निर्ममतापूर्वक घाँटी कसेर कोठाभित्रै हत्या गरियो । सप्तरी महौलियाका ८ वर्षीय सुशील सरदार तथा ६ वर्षीय सुजल सरदारको निर्मतापूर्वक हत्या गरिएको थियो । उनीहरू आफ्ना सौतेले बाबु दिलीप यादवसँग शान्ति नगरमा बस्दै आएका थिए । 

घटनाको ६ दिनपछि वैशाख १४ गते उक्त हत्याकाण्ड प्रकाशमा आएको हो । घरभित्र ती दुई बालकको शव घाटी कसेर हत्या गरिएको अवस्थामा फेला परेपछि उक्त घटना सार्वजनिक भएको थियो । त्यसपछि प्रहरीले उक्त घटनाका बारेमा थप अनुसन्धान अघि बढायो । अनुसन्धानका क्रममा उक्त हत्या सम्झना सुन्दासका दोस्रा पति दिलिपकुमार यादवले गरेको रहस्य पत्ता लाग्यो । 

सिरहा नगरपालिका—१३ गमहरियाका २४ वर्षीय दिलीप र सम्झना एक वर्षदेखि सँगै बस्दै आएका थिए । सम्झनाको सम्बन्ध त्यसअघि श्यामसुन्दर सरदारसँग थियो, तर आपसी मनमुटावपछि श्यामसुन्दर अर्कै श्रीमती लिएर छुट्टै बस्न थालेका थिए । 

श्यामसुन्दर छुट्टै बस्न थालेपछि सम्झना पनि श्यामसुन्दरपट्टीका दुई छोरासहित दिलीपसँग बस्दै आएकी थिइन् । पछि दिलिपले श्यामसुन्दरतर्फका बच्चाहरूमाथि अभद्र व्यवहार गर्न थाले, जसका कारण सम्झनाको मन कँुडियो । त्यसपछि सम्झना छुट्टै बस्न थालिन् । छुट्टै बस्न थालेपछि उनी कामको खोजीमा विराटनगर पुगिन् । 

विराटनगर जानुअघि सम्झनाले ती बच्चा दिलीपकहाँ छाडेकी थिइन् । सम्झना विराटनगर पुगेको १ महिनापछि दिलीपले सम्झनालाई काठमाडौं आउन दबाब दिए । उनले सम्झनालाई दबाब मात्र दिएका थिएनन काठमाडौं नआए उनका दुवै बच्चालाई मारिदिने धम्की समेत दिएका थिए । सम्झना काठमाडौं नआएपछि दिलीप यादव ती दुवै बच्चालाई मारेर फरार भएका थिए । 

घटनाको अनुसन्धान गरिरहेको अपराध महाशाखाको टोलीले दिलीपको खोजी गर्ने क्रममा उनलाई वैशाख १५ गते सिरहाको माडरचोकबाट पक्राउ गर्‍यो । उनले प्रहरी समक्ष आफूले दुवै बालकको हत्या गरेको कुरा स्वीकार गरेका छन् । यादवमाथि अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित: वैशाख २५, २०७५