पहिलो विश्व
चम्ल्याहा आमा
मलेसियाको जोहर प्रान्तमा बस्ने २३ वर्षीया डोरेन चिङ चार सन्तानकी आमा हुन भनेर कसैले पत्याउँदैनन् । दुई वर्षअघि एकैपटक चम्ल्याहा सन्तान जन्माएकी डोरेनले हालै गर्भवती हुँदा पेटमा देखा परेका धर्साको तस्बिर फेसबुकमा मेन्डोलिन भाषाको क्याप्सनका साथ अपलोड गर्दा पूर्वी मलेसिया, सिंगापुर तथा ताइवानमा त्यसले निकै चर्चा पायो । उनको उक्त तस्बिर १३ हजार पटक सेयर अनि २५ हजार लाईक र उत्तिकै कमेन्ट प्राप्त गर्न सफल भयो ।
अनुहार हेर्दा डोरेन चार सन्तानकी आमा हुन् भनेर कसैले पत्याउँदैनन् । विवाह गर्ने उमेरकी युवतीभन्दा पनि कान्छी देखिने डोरेनले पेटको धर्सा भएको तस्बिर पोस्ट गर्दा धेरैले त्यसमा अविश्वास व्यक्त गरे । उनको उक्त तस्बिर आपलोड भएपछि धेरैले ट्रोल बनाएर उनलाई सहानुभूति र ठट्टा दुवैको पात्र बनाए ।
डोरेन भन्छिन्– मैले सन्तानका लागि आफ्नो शरीरको सौन्दर्यलाई गौण माने । मैले आमा बन्न महिलाले आफ्नो सौन्दर्यसम्म त्याग गर्छन् भन्ने कुरा देखाउन खोजेकी हुँ । यही कार्यले गर्दा धेरैले उनलाई साहसिक सुन्दरीको उपनामसमेत दिएका छन् ।