एवार्ड

रामकृष्णको हुरी सर्वोत्कृष्ट

- साप्ताहिक संवाददाता

 

गायक रामकृष्ण ढकालको लोकप्रिय गीत ‘म हुरीमा दीयो बलेको देख्छु...’ गीत शनिवार काठमाडौंमा प्रदान गरिएको आठौं विन्ध्यवासिनी म्युजिक एवार्डमा सर्वाधिक चार वटा एवार्ड जित्न सफल भएको छ । गीतबाट गायक ढकालले सुगम संगीततर्फको सर्वोत्कृष्ट गायकको एवार्ड जिते भने यही गीतबाट संगीतकार राजेश थापाले सर्वोत्कृष्ट संगीतकार तथा गीतकार रमेश बीजीले सर्वोत्कृष्ट गीतकारको एवार्ड जिते । गायक ढकालले उक्त गीत समावेश भएको आफ्नो पछिल्लो गीति एल्बम आवरणबाट वर्षको सर्वोत्कृष्ट गीति एल्बमको पुरस्कार समेत पाए । समारोहमा गायिका श्रेयसी चेम्जोङले ‘फुल्नु भन्दा....’ गीतका लागि सर्वोत्कृष्ट गायिकाको एवार्ड जितिन् ।

समारोहमा आज फेरी गीतबाट वीरेन्द्र पाठकले सर्वोत्कृष्ट गीतको एवार्ड जिते भने दर्शन नमस्ते गीतबाट साजन शाहले सर्वोत्कृष्ट ध्वनि मुद्रणको एवार्ड पाए । सुगम संगीत म्युजिक भिडियोतर्फ सर्वोत्कृष्ट छायांकारको एवार्ड अपूरै भो गीतको भिडियोबाट राजेश घिमिरेले पाए भने सम्पादनको एवार्ड मनमा कुराको भिडियोबाट दीपक विष्टले पाए । सर्वोत्कृष्ट निर्देशनको एवार्ड रातो रातो खुर्सानीको भिडियोबाट क्रान्ति केसीले जिते भने भिडियो मोडलको एवार्ड बाल मतलब गीतको भिडियोका लागि दुर्गेस थापा तथा रोसिना एलसीले जिते ।

सुगम संगीततर्फ महिला गीतकारको एवार्ड तिम्रो माया पाउनबाट चन्द्रज्योति आलेले जितिन् भने संगीत संयोजनतर्फको एवार्ड सँगै बाँच्ने कसम गीतबाट कमल सौरागले जिते । युगल गायनतर्फको एवार्ड तिमीले सम्झेर गीतबाट एस राजकुमार तथा मेलिना राईले जिते भने सुगम तथा पप गायन नवप्रतिभाको एवार्ड निष्ठुरीले मान्दै मान्दिन गीतबाट गुणराज श्रेष्ठले पाए ।

सर्वोत्कृष्ट पप संगीततर्फ संगीतकारको एवार्ड भुल्यौकी भुलेकीबाट राजु सिंहले पाए भने सर्वोत्कृष्ट पप गायन पुरुषको एवार्ड तिम्रो तस्बिरबाट सुरजकुमार थापाले जिते । सर्वोत्कृष्ट पप गायन महिलातर्फको एवार्ड म पग्लन्छुबाट आकांक्षा बस्यालले जितिन् । राष्ट्रिय भावनाको गीतको एवार्ड बुद्ध खेल्ने आँगनबाट विष्णु पौडेलले जिते ।

चलचित्र संगीततर्फ सर्वोत्कृष्ट संगीतकारको एवार्ड छक्का पञ्जाको पूर्व–पश्चिम रेलका लागि राजनराज सिवाकोटीले जिते भने सर्वोत्कृष्ट चलचित्र गायन पुरुषको एवार्ड चलचित्र दर्पणछायाँ–२ को दर्पणमा छायाँ गीतबाट राजेशपायल राईले तथा सर्वोत्कृष्ट चलचित्र गायन महिलाको एवार्ड लुट–२ को ठमेल बजारबाट मिना निरौलाले प्राप्त गरिन् ।

लोकदोहोरीतर्फ सर्वोत्कृष्ट लोकदोहोरी गायकको एवार्ड उही खोलीमा पानीबाट राजन गुरुङले, लोक दोहारी गायिकाको एवार्ड हैन अरूको बाट शर्मिला गुरुङले, लोकदोहोरी भाकाको एवार्ड जवानीमा धक्काबाट कस्तुप पन्तले, लोकदोहोरी रचनाकारको एवार्ड मेरो झल्कोबाट प्रल्हाद सुवेदीले, लोकदोहोरी संगीतकारको एवार्ड लाली जोवनबाट एकनारायण भण्डारीले तथा लोकदोहोरी नव प्रतिभाको एवार्ड जुल्फी कपालबाट युवराज मगरले जिते ।  लोकदोहोरी म्युजिक भिडियो निर्देशनको एवार्ड तामे करुवाबाट प्रकाश भट्टले, भिडियो मोडलको एवार्ड नबोल्देउ रिसाएरबाट देवेन्द्र क्षत्री तथा रूपा कँडेलले जिते ।

समारोहमा गायक अजर जंगमलाई जुरी एवार्ड, मोडलद्वय सारिका केसी तथा बिमल अधिकारीलाई पब्लिक च्वाईस एवार्ड, विन्ध्यवासिनी अन्तर्राष्ट्रिय संगीत सम्मान गायक डीआर अटुलाई प्रदान गरियो । सर्वोत्कृष्ट म्युजिक कम्पनीको एवार्ड भावना म्युजिक सोलुसनले प्राप्त गर्‍यो ।

समारोहमा गीतकार रत्न शमशेर थापालाई ५१ हजार १ सय ५१ रुपैयाँसहितको विन्ध्यवासिनी म्युजिक लाइफ टाइम एचिभमेन्ट एवार्ड–२०७४ बाट सम्मानित गरियो भने विन्ध्यवासिनी संगीत कला पत्रकारिता पुरस्कार राजधानी दैनिकका पत्रकार डब्बु क्षत्रीलाई प्रदान गरियो । गायिका रिमा गुरुङ होडालाई १५ हजार ५ सय १५ रुपैयाँसहितको विन्ध्यवासिनी संगीत रत्न सम्मान–२०७४ तथा चलचित्र निर्देशक कलाकार सुदर्शन थापालाई १० हजार १ रुपैयाँसहितको विन्ध्यवासिनी चलचित्र सम्मान–२०७४ बाट सम्मान गरियो ।

समारोहमा कलकारहरू राजेशपायल राई, मनोजराज, सीडी विजय, अजर जंगम, सुरज कुमार थापा, टिका प्रसाईं आदि गायक–गायिकाहरुले आ–आफ्नो प्रस्तुती दिएका थिए । समारोहमा शंकर बीसी, दुर्गेस थापा, दिपाशा बीसी आदिले नृत्यमार्फत दर्शकलाई मनोरञ्जन दिएका थिए । 

प्रकाशित: पुस १७, २०७४