प्रतिक्रिया
प्रविधिमार्फत हुने ठगीविरुद्ध सचेत हुनु जरुरी
नेपाली चाडबाड अनि नयाँ वर्षलाई पनि हामीले बिर्सनु भएन (फ्रन्टपेज : रौनक क्रिसमसको) । हाम्रा परम्परा, संस्कृति र भाषालाई पनि उत्तिकै महत्व दिनुपर्छ । नेपाली संस्कृतिमाथि विदेशी भाषा–संस्कृतिले नकारात्मक असर नगरोस् ।
सन्दीप गिरी, बर्दिया
नेपालमा रेल आउने कुरा भाषणमा मात्र सीमित नहोस् (यात्रा सन्दर्भ : उत्तर–दक्षिण रेल) । नेपालीहरूले चाँडोभन्दा चाँडो रेल चढ्न पाउने दिन आओस् । राष्ट्रिय हितका मुद्दामा सबै राजनैतिक पार्टी एक भएर अघि बढ्नुपर्छ ।
अमृत घिसिङ, नगरकोट
बाबुराम कार्की आमनेपालीका लागि प्रेरणाका स्रोत हुन् (अन्तवार्ता : पैसा कमाउन त उद्यम गर्नुपर्यो नि !) । आगलागी भएर उनले पालेका ९७ गाई जले, उनको लगानी डुब्यो । तैपनि उनले हिम्मत हारेनन् । यति मेहनत र आँट गरेर व्यवसाय सञ्चालन गरेपछि पक्कै उनको सपना पूरा हुनेछ ।
प्रशान्त अधिकारी, पोखरा
सरकारमा जो आए पनि जनताको काम गरून् (प्रदेश सरकारको समीकरण) । सत्ता र शक्तिका लागिभन्दा जनताको पक्षमा काम गर्ने नेताको खाँचो छ । देशमा न्याय एवं सुशासन कायम होस् ।
बिरु थापा, पाल्पा
नयाँ–नयाँ ग्याजेट्स र प्रविधिबारेमा जानकारी पाइयो (फ्ल्यास ब्याक २०१७ : नयाँ प्रविधितर्फको व्यवहारिक यात्रा) । अन्य अंकहरूमा पनि यस्तै रोचक एवं रमाइला जानकारी पढ्न पाइयोस् ।
हरि थापा
कान्तिपुर टिभी एचडी प्रविधिमा गएकोमा बधाई छ (सानो पर्दा : कान्तिपुर टिभी अब एचडी) । दर्शकहरूको रुचिका कार्यक्रम हेर्न पाइयोस् । कान्तिपुरले जनसरोकारका विषयमा आवाज उठाओस् ।
तस्विर गुरुङ
नातिकाजी स्मृति समाजले राम्रो काम गरेको छ (म्युजिक डायरी : नातिकाजीको सम्झनामा) । कलाकारहरू नातिकाजीको बाटोमा हिंड्ने प्रयास गरून् । उहाँका जस्तै कालजयी गीत बनाउन सफल हुन् । आमकलाकारलाई यो स्मृति समाजले त्यस्तो कर्ममा लाग्न प्रेरित गरोस् ।
चन्द्र रसाइली
चलचित्र साइँलीले गीतजस्तै बजार तताउन सफलता प्राप्त गरोस् (साइँली अब चलचित्र) । आमदर्शकको मनमा बस्न सकोस् ।
अनिल पौडेल
समाजका यस्ता कुरीति–कुप्रथाहरूविरुद्ध चलचित्र आदि माध्यमबाट जनचेतना जगाउन जरुरी छ (दाइजो प्रथाविरुद्ध) । मिडियाले यस्ता कुरा बुलन्द आवाजका साथ उठाउनुपर्छ ।
सुरज गुरुङ
अविरल थापाको विचार मार्मिक लाग्यो (मुक्त आकाश : आफ्नै देशमा बस साथी) । स्वदेशमै प्रशस्त सम्भावना नभएका होइनन्, तैपनि युवाहरू परदेसिन खोज्छन् । यो क्रम रोकिनुपर्छ ।
गोविन्द बानियाँ
आकर्षक पहिरनमा आकर्षक महिलाहरूको प्रदर्शनी सुन्दर लाग्यो (फ्ल्यासब्याक–२०१७ रेड कार्पेटमा ग्ल्यामरस लुक) । सबै सेलिब्रेटीका बारेमा एउटै लेखमा विस्तृतमा पढ्न पाइयो ।
दिनेश बस्नेत
प्रविधिमार्फत हुने यस्ता ठगीविरुद्ध सचेत हुनु जरुरी छ (अपराध : अन्तर्राष्ट्रिय नेटवर्क बनाएर भाइबरमार्फत ठगी) । अपराधीहरू उम्किन नपाऊन् । सर्वसाधारणलाई सचेत गराउन मिडियाले आफ्नो तर्फबाट भूमिका निर्वाह गरिरहोस् ।
निमप्रकाश राई
यति कलिलो उमेरमा मूर्तिकार श्यामकृष्ण श्रेष्ठको प्रगति सुखद हो (ग्यालरी : अमूल्य थोपा) । उनका सिर्जनाहरू फैलँदै जाऊन् ।
निरोज खड्का