खेलकुद

अफ्रिकाबाट पुराना शक्तिको पुनरागमन

- साप्ताहिक संवाददाता


युरोप र दक्षिण अमेरिकी फुटबल शक्तिलाई कुनै एक अर्को महादेशले राम्रै चुनौती दिएको छ भने त्यो हो— अफ्रिका । अफ्रिकाका अधिकांश प्रमुख खेलाडी युरोपमा धनी र सफल क्लबबाट खेल्छन्, त्यसैले पनि अफ्रिकी फुटबल लगातार बलियो रहँदै आएको छ । यिनै कारणले यसपटकको अफ्रिकी विश्वकप छनौट पनि उत्तिकै कठिन र प्रतिस्पर्धात्मक रह्यो । यसपटकको अफ्रिकी विश्वकप छनौटको विशेषता थियो– पुराना शक्तिको पुनरागमन ।

अफ्रिकी विश्वकप छनौटमा कुल ५४ देशको सहभागिता थियो र १ सय २५ खेलपछि छनौट हुने सबै टिमको निर्णय भैसकेको छ । अफ्रिकाबाट पाँच टिमले रूसमा प्रतिस्पर्धा गर्नेछन्, ती हुन्— ट्युनिसिया, नाइजेरिया, मोरोक्को, सेनेगल तथा इजिप्ट । छनौटका खेल तीन चरण भएर गुज्रिएको थियो । अन्तिम चरणमा २० टिम थिए र तिनलाई पाँच समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहका विजेताले विश्वकपको अन्तिम चरणमा प्रवेश पाए ।

तीमध्ये सबैभन्दा अगाडि नाम आउँछ इजिप्टको, जसलाई अफ्रिकी फुटबलको महाशक्ति मानिन्छ, यद्यपि विश्वकपमा इजिप्टको उपस्थिति नभएको लामो समय भैसकेको थियो । सन् १९९० मा इजिप्टले अन्तिम पटक विश्वकप खेलेको थियो र त्यसयता प्रत्येक विश्वकपमा उसको प्रदर्शन खराब रह्यो । त्यसअघि इजिप्टले सन् १९३४ मा एकैपटक मात्र विश्वकप खेलेको थियो । यसपटक भने इजिप्टले छनौट खेलहरूमा जोडदार प्रदर्शन गरेको थियो ।

इजिप्ट अफ्रिकाको समूह ‘ई’ विजेता रह्यो । उसले आफ्नो समूहमा युगान्डा र घानाबाट बलियो चुनौती सामना गर्नुपरेको थियो । यसपटक इजिप्ट छनौट हुनुपछाडिको प्रमुख कारण रह्यो, उसका लिभरपुल फरवार्ड मोहम्मद सलाह लयमा रहनु । सलाहले छनौटमा ५ गोल गरे । उनी छनौटमा सर्वाधिक गोल गर्ने खेलाडी पनि भए । यसपटक अफ्रिकाबाट सबैभन्दा पहिले छनौट हुने टिम भने नाइजेरिया रह्यो । नाइजेरिया समूह ‘बी’ को विजेता भयो र छनौटको तेस्रो चरणमा सबैभन्दा उत्कृष्ट खेल प्रस्तुत गर्ने टिम पनि उही थियो ।

समूह विजेताका रूपमा नाइजेरियाले १४ अंक बटुलेको थियो । यो समूहको दोस्रो स्थानमा रहने जाम्बिया ८ अंकमै सीमित भयो । यसले पनि प्रस्ट पार्छ, नाइजेरियाको यात्रा कति सहज रह्यो होला ? नाइजेरियाको छनौट अक्टोबरमै तय भैसकेको थियो । नाइजेरिया छैटौंपल्ट विश्वकपमा खेल्दैछ र यसपटक नाइजेरिया लगातार तेस्रो पटक छनौट भएको हो । नाइजेरिया सन् २००६ लाई छाडेर १९९४ देखि नाइजेरिया लगातार विश्वकपमा उपस्थित छ ।

संयोग : यसपटक अफ्रिकाबाट जति पनि टिम छनौट भए, तीमध्ये नाइजेरियाले मात्र पछिल्लो विश्वकप खेलेको थियो । ट्युनिसिया समूह ‘ए’ को विजेता भयो भने मोरोक्को समूह ‘सी’ को । त्यस्तै सेनेगल समूह ‘डी’ को । ट्युनिसियाले सन् २००६ यता पहिलो पटक विश्वकप खेलिरहेको छ । तेस्रो चरणमा उसलाई कङ्गोले बलियो चुनौती दिएको थियो । ट्युनिसियाले १४ अंक बटुलेको थियो भने कङ्गो १ अंकले मात्र पछाडि पर्‍यो ।

मोरोक्कोले भने आफ्नो समूहमा आइभरीकोस्टको चुनौतीलाई समाप्त पारेको थियो । उसले सन् १९९८ यता पहिलो पटक विश्वकप खेल्न लागेको हो । सन् ७० र ८० को दशकमा मोरोक्को अफ्रिकाको बलियो फुटबल शक्ति थियो । यस्तै सन् २००२ यता विश्वकप खेल्न लागेको सेनेगलले पनि सजिलै आफ्नो समूह विजेता भयो । सेनेगलले ११ अंक जोड्यो भने उसको पछाडि बुर्किनोफासो र केप भर्डे समान ६ अंकमा थिए ।

यसपटक विश्वकपमा नदेखिने अफ्रिकाको सबैभन्दा ठूलो टिम हो– क्यामरुन । फुटबलकै कारण चर्चित रहने क्यामरुनले यसपटक खराब खेल्यो र आफ्नो समूहमा तेस्रो स्थानमा सीमित भयो । सोही समूहमा अल्जेरिया चौथो स्थानमा आयो । क्यामरुन अफ्रिकी कप अफ नेसन्सको च्याम्पियन भएर पनि विश्वकप छनौटमा उसको कुनै जोड चलेन । आइभरीकोस्ट पनि अभागी देखियो । यस्तै दक्षिण अफ्रिकाले पनि तेस्रो चरणको छनौटमा निकै खराव खेल्यो र समूह डी को अन्तिम स्थानमा पुग्यो । 

 

प्रकाशित: मंसिर ९, २०७४