मनोरञ्जन समाचार
निखिलको आश
अभिनेता निखिल उप्रेतीको अभिनयको दोस्रो इनिङले मिश्रित प्रतिफल दिएको छ । आफ्नै निर्माण, निर्देशन तथा अभिनयको चलचित्र ‘भैरव’ को सफलतापछि उत्साहित निखिलका पछिल्ला दुई चलचित्र औसत रहे । सुशील पोखरेलको चलचित्र राधेबाट निखिल निकै उत्साहित थिए, तर चलचित्रले व्यवसायिक सफलता हासिल गर्न सकेन । आफ्नै लगानीको चलचित्र रुद्रबाट निखिल अझ बढी आशावादी थिए । यद्यपि उक्त चलचित्रलाई दर्शकले खासै रुचाएनन् ।
अहिले आएर निखिलले आफ्नो सम्पूर्ण ध्यान चलचित्र पिंजडा ब्याक अगेनप्रति केन्द्रित गरेका छन् । द्वन्द्व निर्देशकका रूपमा स्थापित हिमाल केसीद्वारा निर्देशित यो एक्सन प्रधान चलचित्रमा निखिलले सुन्दर अनिभेत्री सारा शिर्पालीसँग अनस्क्रिन रोमान्स गरेका छन् ।
चलचित्र कमिट्मेन्ट सिक्टी आवरको छायांकनमा समेत सक्रिय निखिल पिंजडा ब्याक अगेनले आफ्नो पुरानो साख फर्काउने कुरामा आशावादी छन् । माघमा प्रदर्शन मिति निर्धारण भैसकेको यो चलचित्रको हालै सार्वजनिक लोकगीत दर्शकले मन पराएका छन्, जसमा निखिल स्वयंले कम्मर मर्काएका छन् ।