मनोरञ्जन
मनीषाको पश्चाताप
अघिल्लो साता प्रदर्शित चलचित्र ‘डियर माया’ मार्फत अभिनयमा पुनरागमन गरेकी अभिनेत्री मनीषा कोइरालाले हालै एक अन्तर्वार्तामा आफ्नो व्यक्तिगत जीवनका केही महत्वपूर्ण प्रसंग उजागर गरेकी छिन् ।
त्यस क्रममा उनले आफ्नो वैवाहिक जीवनलाई समेत सम्बोधन गरेकी छिन् । मनीषाले आफ्नो वैवाहिक जीवन टुक्रिनुमा आफैंलाई दोषीसमेत मानेकी छिन् । मनीषाले भनेकी छिन्— विवाहलाई लिएर मेरो एउटा सपना थियो तर विवाह गरेपछि मलाई लाग्यो कि मेरो त्यो सपना पूरा भएन ।
व्यवसायी सम्राट दाहालसँगको उनको वैवाहिक जीवन दुई वर्ष पनि टिकेन । म विवाह गर्न चाहन्थें, त्यसैले गरें, मनीषाको भनाइ छ— विवाह गरेपछि भने म त्यसका लागि तयार थिइनँ कि भन्ने लाग्यो । वास्तवमा त्यति बेला विवाह गर्नु नै मेरो गल्ती थियो । वैवाहिक सम्बन्ध टुट्नुको कारण औंल्याउँदै मनीषाले भनेकी छिन्— ‘यदि तपाईं खराब सम्बन्धमा हुनुहुन्छ भने छुट्टिएर बस्नु नै उपयुक्त हुन्छ । मैले विवाहका लागि हतार गरें र मेरो वैवाहिक सम्बन्ध अघि बढ्न सकेन । यसका लागि म आफैंलाई दोषी मान्छु ।’