केवल एक प्रश्न
वर्ष २०७३ मा तपाईंले के गल्ती गर्नुभयो ?
मानिस हुँ, गल्ती त भैहाल्छ नि । ०७३ मा गरेका गल्ती ०७४ मा सुधार्छु भने ०७४ मा गर्ने गल्ती ०७५ मा सुधार्छु ।
प्रमोद अग्रहरी, अभिनेता
तपाईंलाई यो प्रश्नको उत्तर नदिनु पो गल्ती होला जस्तो छ ।
अमरदीप सापकोटा, निर्देशक
जानाजान कसैले गल्ती गर्दैन, जसले गर्छ उ जिम्मेवार नागरिक होइन ।
सागरराज, म्युजिक भिडियो निर्देशक
व्यस्तताले गर्दा एक–दुईवटा चलचित्रको कलर ग्रेडिङमा समय दिन भ्याइन् जसको परिणाम सोचे जस्तो भएन ।
रामेश्वर कार्की, चलचित्र छायाँकार
साथीभाइहरूसँग मज्जाले समय बिताउन पाइएन, त्यही हो मेरो गल्ती ।
अर्जुन तिवारी, छायाँकार
संगीत क्षेत्र र संगीतकर्मीहरूका बारेमा सोच्दा–सोच्दै आफु र आफ्नो पारिवारिक व्यवस्थापन कमजोर भए छ ।
लक्ष्मण शेष, अध्यक्ष, संगीतकार संघ
धेरै गल्तीमध्ये एउटा गल्ती, ०७३ का लागि मनग्गे प्रयास गर्दा–गर्दै पनि आफ्नो कम्पनीबाट निर्माण भएको चलचित्र प्रदर्शन गर्न सकिन ।
सन्तोष सेन, निर्माता
दुई चलचित्र एकसाथ बनाउने प्रयास अहिले आएर गल्ती झैं लागिरहेको छ ।
अनु शाह, निर्मात्री
हरेक वर्ष होइन, हरेक पल जानेर वा अञ्जानमा गल्तीहरू हुन्छन् । ०७३ मा मलाई माया गर्नेहरूको चित्त अलि बढी नै दुखाएँ कि ?
राजबल्लभ कोइराला, अभिनेता
तपाईंसँग बसेर चिया पिउन पाइएन, अब ०७४ मा है ?
सुशील पोखरेल, निर्माता
फेसबुक कम चलाउन खोजे, तर सकिन ।
केकी अधिकारी, अभिनेत्री
अव्यवस्थाहरूका बीच चलचित्र बनाउने गल्ती गरेँ र पछुताएँ ।
चेतन सापकोटा, निर्माता/संगीतकार
त्यही गल्ती यो वर्ष पनि दोहोरियो, मानिसमा बढी विश्वास गरियो ।
भरत सिटौला, गायक
व्यायाम गर्ने समय मिलाउन सकिन । विभिन्न स्थान घुम्ने रहर पनि पूरा भएन ।
रोशन प्रसाइँ, विज्ञापन व्यवसायी
एउटा मात्र नाटक खेलियो ।
भोलाराज सापकोटा, रंगकर्मी
मैले गल्ती नै गरेकी छैन ।
वर्षा राउत, अभिनेत्री
कति गरेँ होला, बिर्सिसकेँ ।
मञ्चिन शाक्य, अभिनेता
जिम जान छाडे, ठूलो गल्ती त्यही हो ।
गृहेन्द्र घिमिरे, व्यवसायी
खासै गल्ती त गरिएन, तै पनि जति समयको सदूपयोग गर्नु पर्ने थियो, त्यति गर्न सकिनँ । महत्वपूर्ण केही दिन बिना उपलब्धि खेर फालियो ।
राज तिमिल्सिना, अभिनेता
जति गल्ती गरेँ, त्यसलाई मैले बिर्सिसकेँ । गल्तीलाई सम्झनामा नराख्नु नै गल्ती हो भने के भन्नु ?
वर्षा बस्नेत, सञ्चारकर्मी
आफ्नी गर्लफ्रेण्डलाई सम्हाल्न सकिन, उनी अर्कैसँग गइन् ,हा.. हा.. हा.. ।
अनुज कार्की, इभेन्ट व्यवस्थापक
०७४ आउन अझैं बाँकी छ, त्यसैले अझै एउटा ठूलो गल्ती गर्न बाँकी छ ।
गम्भीर विष्ट, नृत्य निर्देशक
अरूको कुरा सुनेर गलत निर्णय लिएँ की ?
नम्रता योगी, अभिनेत्री
०७३ सकिन बाँकी नै छ । एउटा गल्ती गर्छु अनि भन्छु है ?
अर्जुन पोखरेल, संगीतकार
०७३ पछि ०७४ पनि आउँछ भनेर समयलाई चिन्न नसक्नु ।
तुलसी पराजुली, गायक
जे भयो भइगयो, अब के सम्झनु ? अर्को साल दोहोर्याउँदिन ।
नबल नेपाल, निर्देशक
मैले त केही गल्ती गरेँ जस्तो लाग्दैन । केही व्यक्तिले भने मलाई नचिनेर ठूलै गल्ती गरे ।
निर्मल शर्मा, अभिनेता/निर्देशक
मौखिक रुपमा भनेको भरमा अनुबन्धपत्र साइन नगरी केही निर्माता–निर्देशकलाई विश्वास गर्नु ।
कमलमणि नेपाल, अभिनेता
गलत व्यक्तिलाई चिन्न सकिन भने रिस पनि नियन्त्रणमा रहेन !
एनी कुँवर, अभिनेत्री