समाचार
बिग आइकन चौथो चरणमा
सातौं संस्करणको बिग आइकनको अडिसन चौथो राउण्डमा प्रबेश गरेको छ । तेस्रो चरणदेखि चौथो चरणमा जम्माजम्मी ५७ जना गायन प्रतिभाले प्रवेश पाएको आयोजक बिग एफएमले जनाएको छ ।तेस्रो चरणमा ७७ जना प्रतिस्पर्धी मञ्चमा उत्रिएका थिए । उनीहरुमध्ये २० जना प्रतिस्पर्धीहरू बाहिरिएको एफएमले जनाएको छ । यसपटकको बिग आइकनमा ५४ जिल्लाका १ हजार १ सय ५२ जना प्रतिस्पर्धीहरुले आवेदन भरेका थिए ।
१ हजार १ सय ५२ प्रतियोगी मध्येबाट छानिएर ५७ जनासम्म आइपुग्दा प्रतिस्पर्धा निकै कडा हुने संकेत देखिएको छ ।’ निर्णायक मध्येका एक सुनील थापाले भने– ‘अघिल्ला चरणमा निर्णायकलाई समेत गाह्रो हुने निश्चित छ ।’ यो पटक निकै खारिएका गायन प्रतिभाहरू मञ्चमा उत्रिएको थापाले बताए ।
यो सिजनको बिग आइकनमा गायक श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र संगीतकार सुनील थापा निर्णायक रहेका छन् । यसपटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटर सहित बेलायतको सांगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।