मोडलिङ
हङकङमा नेपाली मोडलिङ
हङकङ पूर्वी एसियाकै फेसनेवल हवका रूपमा चिनिन्छ, संसारको फेसन र मोडलिङबाट हङकङेली नेपालीहरू पनि अछुत छैनन् । हङकङमा आयोजना हुने हरेक ब्युटी इभेन्ट तथा फेसन शोहरूमा नेपाली कला झल्कने डिजाइन तथा प्रस्तुतिहरूले हाम्रा उत्पादन एवं संस्कृति विश्वका लागि चासोको विषय बनिरहेका छन् । हङकङको आधुनिकतामा हुर्किरहेका नयाँ पुस्तामा यस्ता प्रतियोगिताले अन्तर्राष्ट्रिय प्लेटफर्म सिर्जना गर्ने कुरामा पनि दुईमत छैन ।
यो संयोग नै मान्नुपर्छ, मैले गर्ने हरेक काम कलाकारितासँग जोडिएको छ । एकदशक लामो इतिहासमा मैले हङकङ आईडी र विदेशको बसाइभन्दा पनि आफ्नो खुसीलाई महत्व दिए, जुन खुसीकै परिणाम हुन सक्छ, म मोडलिङको दुनियाँमा दत्तचित्त भएर लागिपरेकी छु । मिस हङकङ नेपालको चारवटा संस्करणमा मैले नै कोरियोग्राफी गर्ने अवसर पाएकी थिएँ । सन् २०००, २००१, २००५ र भर्खरै सम्पन्न २०१६ को मिस हङकङ कोरियोग्राफी मैले गरेकी हुँ । हरेक संस्करणलाई तुलनात्मक रूपमा आकर्षक र व्यवस्थित बनाउन म दिनरात खटिरहेकी हुन्छु । विभिन्न देशका मानिस एवं संस्कृतिको संगम भएर पनि होला, यहाँको फेसन शैली युनिभर्सल छ ।
सातौं मिस हङकङ नेपालका लागि मैले १ महिना १० दिन १४ जना सहभागीलाई कारियोग्राफी गरे । सोचेको भन्दा फरक पाएँ उहाँहरूको व्यवसार र सोच, कारण आधुनिकतामा हुर्किएको भए पनि आफ्नो संस्कृति र वेशभूषासँग सबै जना अभ्यस्त हुनुहुन्थ्यो । सोसल वर्कमा रुचि राख्ने हङकङको नयाँ पुस्ता मोडलिङबाटै सामाजिक परिवर्तन एवं चेतना अभिवृद्धिमा लागि परेको पाए, जसलाई हरेक अभिभावकले मनन गरेर आफ्ना नानीहरूमा आत्मविश्वास बढाउन आवश्यक छ । पछिल्लो पटकको हङकङ बसाइमा मैले फरक अनुभव गरे कारण, फेसन र मोडलिङ्मा धेरै युवा व्यवसायिक रूपमै लाग्नुभएको रहेछ, यो खुसीको कुरा हो ।
प्रवासी भूमिमा आफ्नो देशको कलाले सजिएको डिजाइन शोकेसमा सजिएको देख्दा स्वाभिमानले छाती फुल्दो रहेछ । म आफैंले फेसन डिजाइनर सम्झना जवेगुको उत्कृष्ट डिजाइनबाट मिस हङकङ नेपालको फाइनलमा सजिने अवसर प्राप्त गरें । व्यस्त बजारबीच प्रदर्शित उनको डिजाइनले हङकङमा
नेपाली सिर्जनाहरू पनि प्रतिस्पर्धी भएको अनुभूति हुन्छ ।