ट्राभल एण्ड लिजर

पलेँटीमा अक्टोपस

- साप्ताहिक संवाददाता


मात्र आठ महिना भयो, पलेँटी सञ्चालनमा आएको छ । राजधानीको ‘मस्ट ह्याप्निङ प्लेस’ मध्येको एक पुतलीसडकस्थित अर्धसञ्चालित स्टारमलको सबैभन्दा तल्लो तलामा रहेको सानो क्याफे हो— पलेँटी ।

पलेँटीलाई क्याफे मात्र भनेर पनि पुग्दैन, पलेँटी डी क्याफे लाउन्ज एन्ड बार भन्नुपर्छ । सञ्चालक किशोर घिमिरे यसलाई स्टाइलिस रेस्टुराँ भन्न रुचाउँछन् । कफीदेखि विभिन्न देश–विदेशका मदिरा, चियादेखि केक, चाइनिजदेखि इटालियन, इन्डियन हुँदै नेपाली खानपिनसम्मका लागि पारखीहरूको हब बन्दै गएको पलेँटी सानो तर रमाइलो क्याफे हो जहाँ सबैथरीका स्वाद पाइन्छ । 

अक्टोपस फ्राई

समुन्द्री जीव अक्टोपसका भुराहरू अचेल काठमाडौंका केही मार्टमा सहजै उपलब्ध हुन्छन् । अक्टोपसलाई मरिचको धूलो र नुनमा मोलेर डिप फ्राई गरेपछि ग्राहकहरूलाई चखाइन्छ । 
मूल्य : रु. ६२५।–

प्राउन फ्राई

कर्नफ्वेरमा अन्डा, मैदा, ब्रेडकम, नुन हालेर तयार पारिएको लेदोमा मिसाएर प्राउनलाई डिप फ्राई गरेपछि यो स्वादिलो स्न्याक्स तयार हुन्छ । 
मूल्य : रु. ५५०।–

होल फिस ग्रिल्ड

सिंगै ठूलो माछालाई ग्रिल गरेपछि त्यसलाई लेमन जुसलगायत बेसार, हटसस, जिराको धुलो, अदुवा लसुनको पेस्ट तथा नुन हालेर तयार पारिएको लेदोमा मिसाइन्छ । 
मूल्य : रु. ६००।–

डक छोयला

हाँसको मासुलाई पोलेर बेसार, हटसस, जिराको धूलो, अदुवा र लसुनको लेदो, हरियो लसुन, कागतीको रस, हरियो धनियाँले मोलेर तातो तोरीको तेलमा मेथी पड्काएर झानेपछि हाँसको छोयला तयार हुन्छ ।
मूल्य : रु. ५२५।–

सिजलिङ मम:

चिकेन मम:लाई प्याज, भेंडेखुर्सानी, टमाटर, हट गार्लिक सस हालेर सिजलर प्लेटमा राखी चीजले गार्नेस गरेपछि सिजलिङ मम: तयार हुन्छ ।
मूल्य : रु. ४००।–

पलेँटी मसला चिया, मसाला कोक, आइस टी तथा बिन्स कफी
आदिका लागि पनि प्रसिद्ध छ ।

यसकारण पलेँटी
अन्डरग्राउन्ड पार्किङ
यहाँ सयभन्दा बढी गाडी तथा मोटरसाइकल पार्क गर्न सकिन्छ । 

सेन्टर इन टाउन पुतलीसडकमा कसैलाई पर्खंनु वा भेट्नुपर्‍यो भने समय बिताउन सहज छ ।

गुड फ्राइडे 
हरेक शुक्रबार साँझ नाम कहलिएका गायक/गायिका तथा संगीतकर्मीहरूले प्रत्यक्ष गीत सुनाएर मनोरञ्जन प्रदान गर्छन् । 

कलाकारहरूको जमघट
चलचित्र तथा संगीत क्षेत्रका कलाकारहरूले अहिले यो क्याफेलाई हब बनाइरहेका छन् । त्यहाँ पुग्दा कोही न कोही भेट भैरहेकै हुन्छन् ।

स्वाद र मिठास
स्वाद तथा मिठासका लागि पलेँटीले कुनै कम्प्रोमाइज गरेको छैन । स्वादिला तथा ताजा हुन्छन्, यहाँका परिकार ।

लाइभ सो
विभिन्न खेल गतिविधिलाई टेलिभिजन तथा प्रोजेक्टरका माध्यमबाट प्रत्यक्ष प्रसारण गरिन्छ ।

पुगेन पलेँटीमा
छैन पलेँटी : नाम पलेँटी भए पनि यहाँ पलेँटी कसेर बस्ने सुविधा छैन । एउटा बुइँगल छ, पहिले त्यहाँ पलेँटी कसेर बस्ने सुविधा भए पनि अहिले त्यो स्थानमा स्टोर बनाइएको छ ।

 

प्रकाशित: श्रावण २८, २०७३