मनोरञ्जन समाचार
सायद–२ का चार
निर्माता सुनिल रावलले वैशाखदेखि छायांकन हुने चलचित्र ‘सायद–२’ का मुख्य चार कलाकारको टुंगो लगाएका छन् । आफ्नै पछिल्लो चलचित्र ‘होस्टल रिटन्र्स’ का नायक सुशील श्रेष्ठसहित रावलले बाँकी तीन कलाकारको पनि टुंगो लगाएका हुन् ।
यो चलचित्रमा सुशीलसहित सन्ध्या केसी, आशिरमान श्रेष्ठ तथा अमृत ढुंगाना मुख्य भूमिकामा प्रस्तुत हुनेछन् । ‘सायद–२’ मा भुवन केसीको ‘ड्रिम्स’ की सह–अभिनेत्री सन्ध्या केसी मुख्य नायिकाका रूपमा अनुबन्धित भएकी छिन् । आशिरमान श्रेष्ठ बैंकर रविना देशराज श्रेष्ठका छोरा हुन् । आफ्ना चलचित्रमा कलाकार नदोहोर्याउने निर्माता रावलले सुशील श्रेष्ठलाई दोहोर्याउनुपर्ने कारण स्पष्ट पार्दै उनी अडिसनबाटै छनौट भएको बताएका छन् । ‘सायद–२’ को निर्देशन बलिउडका केही चलचित्रमा सहायक निर्देशकका रूपमा काम गरिसकेका पुष्पराज न्यौपानेले गर्दैछन् ।