जानकारी
यस्तो छ आईएसको सुरुङ
रूस, फ्रान्स आदि मुलुकमा स्लामिक स्टेट (आईएस) को आतंककारी हमला तीव्र हुँदै गएको छ । आईएसको यो आतंकविरुद्ध ठूला–ठूला प्रत्याक्रमण भएका छन् । उनीहरूको अड्डामा बमवर्षा गरिएको छ । यद्यपि आईएस यस्ता सयौं बम हमलाबाट पनि सुरक्षित रहँदै आएको छ । यो सबै कसरी सम्भव भयो ?
हालै मात्र यसको रहस्योद्घाटन भएको छ । यो आतंककारी संगठनले भूमिभित्र थुप्रै सुरुङ बनाएको छ । त्यहीबाट उनीहरूले आफ्नो कार्य सञ्चालन गर्दै आएका छन् । यसै कारण उनीहरू बम हमलाबाट पनि सुरक्षित रहेको तथ्य खुलेको छ । इराक र सिरियामा आइएसले जमिनमुनी सयौं सुरुङ बनाएर बसेको खबर वाहिर आएको छ ।
कस्तो छ सुरुङ ?
आईएसको यो सुरुङ त्यतिबेला पत्ता लाग्यो, जब कुर्दिस सेनाले अतंककारीको गढ सिजारमा छापा मार्यो । उनीहरूले त्यहाँ जमिनमुनि थुप्रै सुरुङ फेला पारे । शत्रुको आक्रमणबाट बच्न आईएस लडाकुहरू त्यही सुरुङ प्रयोग गर्थे ।
यी सुरुङ करिब ६ फुट अग्ला तथा ४ फुट चौडा छन् । यसभित्र दुई जना मानिस सजिलै उभिएर हिँडडुल गर्न सक्छन् । यो सुरुङमा खाना पकाउने भाँडावर्तन, सुत्ने ओछ्यान तथा अरू सामग्रीहरू फेला परे । सुरुङको केही भाग अध्याँरो थियो भने कतिपय सुरुङमा बिजुलीको बल्भ लगाइएको थियो । सुरुङमा खाद्य सामग्रीदेखि पीडा कम गर्ने औषधीका साथ केही थान कुरान फेला परेका थिए । सुरुङभित्र प्रशस्त मात्रामा गोला वारुद पनि भेटिएको थियो ।
बेलायतबाट प्रकाशित दैनिक मिररका अनुसार सुरुङ भित्र ‘मेड इन अमेरिका’ लेखिएको हतियार र बम बनाउने सामग्री बरामद भएको थियो । यतिमात्र होइन, कतिपय सुरुङमा बत्ती र भेन्टिलेसनको समेत व्यवस्था थियो । उक्त सुरुङको मुहानमा बालुवाले भरिएको बोरा राखिएको थियो, जसमा आड लागेर आईएस लडाकुहरू दुस्मनमाथि हमला गर्न सक्थे ।
खबरअनुसार इराकमा यस्ता सुरुङको संख्या २ सयभन्दा बढी छ । कतिपय सहरमा आईएसले सुरुङको जाल बिछ्याएका छन् । कुर्दिस सेना सुरुङका सम्बन्धमा थप जानकारी लिन लागिपरेको छ, किनभने यो सुरुङको दोस्रो मुख पत्ता लागेको छैन र त्यो कहाँसम्म पुग्छ भन्ने कुरामा सुरक्षा अधिकारीहरू अनभिज्ञ छन् ।