समाचार

हामी उठ्ने छौं द्वारा स्कुल हस्तान्तरण

- साप्ताहिक संवाददाता


भूकम्पले भत्काएको सिन्धुपाल्चोक कर्थली–७ पोखरेस्थित श्री ईश्वरीमाला प्रावि ‘हामी उठ्ने छौं फाउण्डेसन’ ले निर्माण सम्पन्न गरी विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।

गत बैशाख १२ र २९ गते गएको भूकम्पले भत्किएको उक्त विद्यालय भवनलाई नयाँ संरचनामा निर्माण गरिएको हो । शुक्रबार आयोजित एक समारोह बीच अभिनेत्री एवं निर्मात्री रेखा थापाले उक्त भवनको उद्घाटन गरेकी हुन् । २१ लाख ५ हजार लागतमा निर्माण गरिएको उक्त भवनमा कक्षा कोठाका साथै विद्यालयको कार्यालय र शौचालय समेत रहेको छ ।

विद्यालय हस्तान्तरण कार्यक्रममा बोल्दै नायिका थापाले आफ्नो देश बनाउन सबैजना आ–आफ्नो स्थानबाट अग्रसर हुनुपर्ने र सकभर अरुको मुख ताक्नेभन्दा पनि आफ्नो पाखुरा खियाउने बानी बसाल्नु पर्ने बताईन् । भूकम्पले अति क्षति गरेको सिन्धुपाल्चोक जिल्लाको  दु:ख सुनेर पनि आउन नसकेको बताउदैं नायिका थापाले ढिलै भएपनि यस्तो पुण्य काममा सहभागी हुन पाउँदा अत्यन्तै खुशी महसुस भएको सुनाइन । विद्यालयले देशकै होनहार ब्यक्तिहरु जन्माउन सकुन भन्ने उनको शुभेच्छा थियो ।
हस्तान्तरण कार्यक्रममा सहभागि भएका हाँस्यकलाकार जितु नेपालले आफ्नो जन्म जिल्लामा आएर पुण्य काम गर्न पाउदा आफुलाई खुशि लागेको बताउदैं कर्थलीका बासिन्दाहरुलाई हसाँएका थिए । 

फाउण्डेसनले सोही स्कुलमा तीन लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गरेको छ । उक्त अक्षयकोषबाट प्राप्त हुने ब्याज गरिब तथा जेहेन्दार विद्यार्थीहरूको पठनपाठनमा सहयोग गरिनेछ । उक्त विद्यालय भवन निर्माण गर्न हङकङ, मकाउ र चीनमा बसोबास गर्ने ब्यक्तिहरुले सहयोग गरेका थिए । 
 

प्रकाशित: पुस २५, २०७२