मनोरञ्जन

फर्कियो स्टारडम

- साप्ताहिक संवाददाता


कुनै बेला कान्तिपुर पब्लिकेसन्सको अग्लो भवनबाट फाल हानेर चर्चा बटुलेका अभिनेता निखिल उप्रेती एकताका दर्शकको पहिलो रोजाइमा थिए । उनले अभिनय गरेका प्राय: सबै चलचित्र सफल भए । आफू हटकेक रहेकै बेला मुम्बई गएका निखिल केही वर्ष उतै हराए ।
अघिल्लो वर्ष नेपाली चलचित्रमा दोस्रो इनिङ प्रारम्भ गर्ने उद्देश्यले उनी स्वदेश फर्किए । निखिलले चलचित्र ‘भैरव’ मार्फत निर्देशक तथा अभिनेताका रूपमा पुनरागमन गरे । एक्सन अभिनेताको पुरानै छवि दोहोर्‍याएका निखिललाई दर्शकले विगतमा भन्दा माया गरे । चलचित्रले लगानीमात्र उठाएन, निखिललाई अर्को चलचित्र निर्माण गर्ने सम्पत्ति समेत जोडिदियो ।
निखिलले पुरानो स्टारडम यसरी ब्युँत्याए कि उनले अभिनय गरेको दोस्रो चलचित्र ‘लुटेरा’ पनि सुपरहिट भयो । यतिबेला निर्माता–निर्देशकहरू निखिलको पछि लागेका छन्, तर निखिलसँग भने समयको अभाव छ । यसबीच निखिलले चलचित्रको कथा, पटकथा हेरेर स्तरीय ब्यानरका चलचित्रमा मात्र अभिनय गर्ने बताएर थप बुद्धिमत्तासमेत देखाएका छन् । 

 

प्रकाशित: मंसिर १७, २०७२