केवल एक प्रश्न

संविधान जारी भएपछिका गतिविधिहरूलाई कसरी नियाल्नुभएको छ ?

- सुव्रत आचार्य

 

१० वर्षको प्रयासले मूर्त रूप लिएको छ । यो हाम्रा लागि सबैभन्दा खुसीको कुरा हुनुपर्ने हो, तर यसले मुलुक दुईवटा समूहमा बाँडिएको छ । 
कोमल वली, गायिका


संविधान बनिसकेपछि सबै नेपाली एकजुट हुनुपर्ने यो बेला नेताहरूले सबै नेपालीको भावना बुझी काम गर्नुपर्ने अवस्था छ । राष्ट्रिय र अन्तराष्ट्रिय शक्ति सन्तुलन गर्नुपर्ने यो बेलामा नेताहरूले आफ्नो इमान्दारिता जनतालाई देखाउनुपर्छ भन्ने हाम्लाई लागि रा’छ ।
ज्योति काफ्ले, नक्कली बाबुराम 


देशलाई साँचो प्रेम गर्ने कूटनीतिक नेताको अभाव महसुस गरेको छु ।
हेमन्त शर्मा, गायक 


तराई–मधेसको जनजीवन कष्टकर, अघोषित भारतीय नाकाबन्दी, बाबुराम भट्टराईको बहिर्गमन, सरकारले वार्ता गर्न नसक्नु आदि अवस्था हेर्दा भारतीय हस्तक्षेपविरुद्ध नेपालले स्वाधीनताको लडाइँ लड्नु पो पर्ने हो कि ?
चेतन सापकोटा, संगीतकार


विश्वका अन्य मुलुकहरूमा पनि संविधान बन्दा सबै खुसी भएको पाइएको छैन । नेपालमा सबै कसरी खुसी हुन सक्छन् ? सबै खुसी हुन नसक्दा देशमा अप्ठेरो स्थिति सिर्जना भएको हो । समयको गतिसँगै बिस्तारै सबै कुरा मिलेर जानेछ र शान्ति एवं सभ्य नेपाल बन्नेछ ।
गोपाल कायस्थ, निर्माता


संविधान ऐतिहासिक उपलब्धि हो । हामी संविधान पाउँदाको प्रसव वेदनामा छौं । वार्ता र सम्झौताले यसलाई मत्थर पार्दै लानेछ । यी ०६२/६३ को राजनीतिक भूकम्पपछिको पराकम्पन हुन्, तर क्षति अनुमानभन्दा कम हो । हस्तक्षेपकारी भारतीय रवैया कुनै दिन छताछुल्ल हुनु नै थियो, अहिले नै भएको छ । मुद्दा कमजोर छ, आफैं पछि हट्छ । अब नेपाल र भारतको सम्बन्धमा पनि परिपक्वता आउँछ । नेपाललाई दीर्घकालीन फाइदा छ । 
राजेश केसी, व्यंग्य चित्रकार


मात्र मूकदर्शक भएर बसेकी छु । 
सरिता लामिछाने, अभिनेत्री


नाकाबन्दीका कारण नयाँ संविधानको पहिलो गाँसमै ढुंगाजस्तो भएको छ । यही बेला हो, मधेसमा रहेका नेपालीहरूले आफ्नो राष्ट्रियता प्रदर्शन गर्ने । 
रवि डंगोल, हास्यकलाकार


म त सरकार प्रमुख तथा मुख्य दलका नेताहरूलाई देशको राष्ट्रियता तथा राष्ट्रिय अखण्डतालाई ध्यानमा राखी आन्दोलनकारी र छिमेकी मुलुकसँग शीघ्र वार्ता गरी समस्या समाधान गरिहाल्न अनुरोध गर्छु ।
माधव वाग्ले, निर्माता


भुइँचालो आयो, धरोहरहरू गयो । 
संविधान आयो, नाकाबन्दी भयो । 
हैन कति रेक्टरको रहेछ, संविधान ?
उज्जु डार्लिङ, हास्यकलाकार


मंसिरमा धान काटेर खेतमा सुकाएपछि किसानको मुखमा देखिने खुसी र असिना–पानीले सुकाएको धान डुबाउँदाको पीडाजस्तै भएको छ, संविधान र त्यसपछिका गतिविधि । 
लोकराज अधिकारी, गीतकार


वर्षौंको प्रयासपश्चात् संविधान आएपछि नै बाबुराम भट्टराई किन बाहिरिए ? अहिले आएर मैले नेपालको राजनीति बुझ्न नसकेको अवस्था । 
राजबल्लभ कोइराला, नायक


संविधान आएकोमा खुसी छु, तर यति लामो समयसम्म बन्द–हड्ताल हुनु र आन्दोलनले आतंकको रूप लिँदा पनि राज्यले कुनै निकास दिन नसकेकोमा दु:ख लागेको छ ।
रोशन भट्टराई, गीतकार


संविधान आएपछि सबैको मन हर्षित हुनुपर्ने हो, तर स्थिति बिग्रँदो छ । चिन्तित छु, अब के हुने हो भनेर ।
सुशील पोखरेल, निर्माता


संविधान आइसकेको अवस्थामा सर्वत्र शान्ति हुन्छ । नेपाली जनताले आनन्दसंग विकास भैरहेको नेपाल हेर्न पाउँछन् भन्ने थियो, तर संविधान जारी भएपछि अशान्ति र अभावले जरो गाडेको देख्दा दिक्क लागिरहेको छ ।
सुरबिना कार्की, नायिका


नेपालका राजनैतिक दलहरूले विगतमा आफ्नो स्वार्थका लागि अनावश्यक रूपमा छिमेकी मूलुकलाई देशको आन्तरिक मामिलामा हस्तक्षेप गराएको घटनाको परिणाम देखिएको छ । हरेक राजनैतिक घटना–परिघटनामा यहाँका दलहरूको अदूरदर्शिताको परिणामस्वरूप नै संविधान जारी भैसकेपछि नमीठा घटनाहरू घटिरहेका हुन् । मनमा राष्ट्रियता राखेर काम गरे देश शान्त हुन समय लाग्दैन । 
प्रदीपकुमार उदय, निर्माता

 

प्रकाशित: आश्विन १७, २०७२