जनताको आवाज

भूकम्पले देश तहसनहस भएपछि

रोजगारीमा रहेका हरेक नेपालीले एक दिनको तलब मात्र भूकम्प पीडितहरूलाई दिने हो भने पनि धेरै ठूलो सहयोग हुनेछ ।
      - सन्तोष पौडेल
भूकम्पले देश तहसनहस भएपछि नेपाली कामदारहरूलाई विदेश जान दिनुभन्दा नेपालमै रोजगारीको वातावरण सिर्जना गर्नुपर्छ । विदेशमा श्रम गर्नुभन्दा आफ्नै देशमा श्रम गर्नु राम्रो ।
      - जनक बिरही
विपद्का बेला कलाकारहरूको भूमिका प्रशंसनीय रह्यो । कतिपयले नगद र जिन्सी सहयोग गरे भने कतिले पीडितहरूको आत्मबल बढाउन सहयोग गरे । यो राम्रो पक्ष हो ।
      - दीपक नेपाल
विपत्तिपछि पीडितहरूलाई थुप्रैले सहयोग गरे, तर राहत दिएका बेला सेल्फी खिचेर प्रचार गर्नेहरूप्रति टिठ लाग्यो ।
      - कुमार तिमिल्सिना
भूकम्पपछि राहत बाँडेर धेरैले प्रशंसनीय काम गरे, तर तस्बिर खिचेर मिडियाबाजी गर्ने कुरा चित्त बुझेन ।
      - रबिनबाबु
पढेलेखेकाहरूले पनि नेताको बदख्वाई गरेको पटक्कै मन परेन । अरूलाई दोष दिनुभन्दा आफू क्रियाशील भएर अघि बढ्नु राम्रो ।
      - लामिछाने काजी
जनता पीडामा छन्, तर कतिले पाल, खाद्यान्न, जस्तापाता आदि बेचेर खाएको सुन्दा नरमाइलो लाग्यो । यस्ता अपराधीलाई कडा कारबाही हुनुपर्छ ।
      - रिया
समस्त नेपालीहरू रोएका बेला हाम्रो सानो सहयोगले कसैको मुहारमा खुसी छाउँछ भने किन सहयोग नगर्ने ? किन कसैको घाउमा मल्हम नलगाउने ? नयाँ नेपाल निर्माण गर्न किन अघि नसर्ने ?
      - सुजित थापा, चाँगुनारायण, भक्तपुर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सानातिना भ्रष्टाचारमा संलग्नभन्दा ठूला काण्डमा मुछिएकाहरूलाई समाउनुपर्‍यो । देखाउनका लागि मात्र काम गर्नु भएन ।
      - लक्ष्मी शाह
प्रकाशित: असार ११, २०७२