सानो पर्दा
कल कान्तिपुरमा नयाँ
भिडियो निर्देशनमा अनुप
रंगकर्मीबाट चलचित्र निर्देशक समेत भैसकेका अनुप बराल अब म्युजिक भिडियो निर्देशकका रूपमा समेत दर्शकमाझ आएका छन्। यसै साता सार्वजनिक भएको गायिका रेश्मा सुनुवारको ‘तिम्लाई हेर्ने...’ गीतमार्फत अनुपले म्युजिक भिडियो निर्देशनमा हात हालेका हुन्। नृत्यपरक यो भिडियोमा नायिका दीया मास्के मुख्य भूमिकामा देखिएकी छिन्।
महादेवको जादु
विभिन्न टेलिश्रृंखलामा जादुगर तथा हास्यकलाकारको भूमिकामा प्रस्तुत भैरहेका महादेव त्रिपाठीले भूकम्पपीडित बालबालिकाहरूलाई हँसाउने नयाँ अभियान थालेका छन्। ‘भूकम्प पीडित साँझ’ कार्यक्रममार्फत उनी प्रभावित क्षेत्रका विद्यालयहरूमा जादु, नृत्य तथा प्रहसन प्रस्तुत गरिरहेका छन्। काठमाडौं, भक्तपुर, कीर्तिपुर, सिन्धुपाल्चोक, गोरखा तथा धादिङका करिब ४० वटा विद्यालयमा पुगेर सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेका महादेवले असार महिनाभरि यो अभियान जारी राख्ने बताएका छन्। पारिश्रमिकबिना नै कार्यक्रममा सहभागी भैरहेका महादेवलाई होचो कदका कलाकार दिपेन शाह, ‘हर्के हल्दार’ का हास्यकलाकार राजेन्द्र गिरी ‘गुन्द्रुके’, नृत्यांगना यशोदा श्रेष्ठ तथा गायक टुगेन महर्जनले साथ दिइरहेका छन्।