भूकम्पले सांगीतिक क्षेत्रलाई ठप्प बनायो
सांगीतिक गतिविधि ठप्पप्राय: छ । रेकर्डिङ तथा सांगीतिक कार्यक्रमहरू असाध्यै कम छन् । भूकम्पले देश नै ठप्प र स्तब्ध भएको अवस्थामा सांगीतिक क्षेत्र पनि अछुतो छैन ।
भूकम्पको पीडा बिर्साउने शैलीका थुप्रै गीत बजारमा आए, तिनीहरूलाई कसरी मूल्यांकन गर्दै हुनुहुन्छ ?
जनताको मनोबल उच्च राख्ने गीतहरू आउनुपर्छ, यो स्वागत योग्य कदम हो । ठूला–ठूला विपत्ति, महामारी तथा युद्धपछि मानिसहरूलाई सामान्य अवस्थामा फर्काउन संगीतको महत्त्वपूर्ण भूमिका हुन्छ ।
बजारमा आवश्यकताभन्दा बढी नै भूकम्प गीत आए जस्तो लाग्दैन ?
हो, तर बजारमा आवश्यकताभन्दा बढी र जस्तोपायो त्यस्तो गीतहरू पनि आएका छन् । कत्तिले त आफू नोटिस हुनकै लागि मात्र काम गरेको देखिन्छ । चिनी पनि बढी खाँदा तीतो जस्तो भएको छ ।
तपाईंहरूले गाएका भूकम्पसम्बन्धी गीतबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
हामी (सत्य–स्वरुप) ले काम गरेका करिब आधा दर्जन गीतबाट एकदमै राम्रो प्रतिक्रिया पाएका छौं । ‘दीप बनोस्...’ गीत सर्वाधिक रुचाइएको छ । यसक्रममा हामीले धेरै राम्रा स्रष्टाका उत्कृष्ट गीतहरू गायौं । त्यति नै मात्रामा नराम्रा सिर्जनालाई अस्वीकार पनि गर्यौं । हामीले नेपाली सेना तथा सशस्त्र प्रहरीको थिम सङ पनि गाएका छौ । भूकम्पसम्बन्धी गीतहरूमा सबैभन्दा बढी हेरिएका गीतमा हाम्रै सिर्जना अगाडि छन्, त्यो नै हाम्रो कामको मूल्यांकन हो ।
राहत वितरणमा संगीतकर्मीहरूको सहभागितालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
राहत वितरणमा आ–आफ्नो तरिकाले सबै संगीतकर्मीहरू लाग्नुभएको छ, जुन असाध्यै सकारात्मक छ । हामीले जसरी सुखमा स्रोताहरूलाई मनोरन्जन दिन्छौं, दु:खमा पनि उत्तिकै साथ दिन सक्नुपर्छ ।
भूकम्पपीडितहरूलाई तपाईंहरूले व्यक्तिगत रूपमा के–कस्तो सहयोग गर्नुभयो ?
हामीले पनि व्यक्तिगत रूपमा सहयोग गरिरहेका छौं । भक्तराज आचार्य संगीत प्रतिष्ठानबाट मध्यस्थकर्ताका रूपमा पनि सहयोग गरिरहेका छौं ।
नेपाली सांगीतिक क्षेत्र पनि भूकम्पको चपेटामा परेको छ । अब यो क्षेत्रलाई माथि उकास्न के गर्नुपर्छ ?
सबैले आ–आफ्ना तर्फबाट नि:स्वार्थ सहयोग गर्नुपर्छ । धमिलो पानीमा माछा मार्ने काम गर्नुहुँदैन ।