तीन प्रश्न

भूकम्पले सर्वस्व गुमाएँ

वैशाख १२ को भूकम्पबाट पीडित भएका लाखौं नेपालीमा केही कलाकारसमेत छन् । सानो पर्दाका हास्य कलाकार घनश्याम गौतम तिनैमध्ये एक हुन् । पछिल्लो समय हास्य श्रृंखला ‘मेरी बास्सै’ मा प्रचण्ड अर्थात् एमाओवादी नेता पुष्पकमल दाहालको क्यारिकेचर गरेर दर्शकको मन जितिरहेका घनश्याम भूकम्पपछि आफैं पीडित छन् । घनश्यामको भक्तपुर कटुञ्जेस्थित घर भूकम्पले नष्ट भएको छ । भूकम्पका कारण घनश्यामले घर मात्र गुमाएनन्, श्रीमतीको गर्भमा हुर्किरहेको दुई महिनाको शिशुसमेत गुमाए । वैशाख १२ गतेको भूकम्पमा भत्किएको घरले किचेर घनश्यामकी श्रीमती घाइते भएकी थिइन् भने भोलिपल्टको ठूलो पराकम्पमा घनश्याम आफैं घरभित्र पुरिएका थिए । त्यसक्रममा घनश्यामको देब्रे हातमा चोट लागेको छ । गौतम अझै केही साता अभिनय कर्ममा फर्कन सक्ने छैनन् । झापाका घनश्याम दुई दशकदेखि रंगकर्ममा छन् । प्रारम्भमा उनी बालकलाकारका रूपमा रंगमञ्चमा प्रवेश गरेका थिए । डेढदशक रंगमञ्चमै बिताएपछि विगत ५ वर्षदेखि घनश्याम टेलिश्रृंखलाहरूमा सक्रिय हुन थालेका हुन् । हास्य कलाकार दमन रुपाखेतीले घनश्यामलाई हास्य श्रृंखला ‘झ्याइँ कुटी झ्याइँ’ मार्फत प्रचण्डको भूमिकामा प्रस्तुत गरेका हुन् । यो अवधीमा घनश्यामले ‘सिस्नुपानी’, ‘पुनमिर्लन’, ‘सुनौलो बिहानी’ सहित दर्जनौं टेलिश्रृंखला तथा सयौं नाटकमा अभिनय गरिसकेका छन् । भूकम्पपीडित भएपछि केही कलाकार तथा दाताबाट राहत पाएका घनश्याम यतिबेला अस्थायी टहरा कसरी निर्माण गर्ने भन्ने चिन्तामा छन् । नजिकिँदै गएको वर्षायामका कारण थप चिन्तित घनश्यामसँग साप्ताहिकका कृष्ण भट्टराईको तीन प्रश्न :

वैशाख १२ गते भूकम्प आउँदा कहाँ हुनुहुन्थ्यो ?
त्यो दिन म कामको सिलसिलामा प्युठानमा थिएँ । भूकम्पपछि घर र परिवार सम्झँदै काठमाडौं आएँ । भूकम्पले जर्जर बनाएको घरभित्र बसेर पुरिएका सामग्री निकाल्ने निर्णय गर्‍यौं । त्यही क्रममा वैशाख १३ गतेको पराकम्पले बाँकी बचेको घरसमेत भत्किएर म पुरिएँ । श्रीमती अघिल्लो दिनकै भूकम्पमा पुरिएकी थिइन् । त्यसक्रममा उनको गर्भमा हुर्किरहेको शिशु खेर गएको कुरा सुनेर सबैभन्दा बढी पीडा भयो ।
कलाकारहरूबाट सहयोग पाउनुभएन ?
संकटका बेला साथीहरू पनि नहुँदा रहेछन् । पीडा कस्तो भने न काम गर्न सकेको छु, न त साथ र सहयोग नै पाएको छु । हास्य श्रृंखला ‘मेरी बास्सै’ का सीताराम कट्टेलको समूह तथा अन्य केही दाताबाट पाएको राहतले अहिलेसम्म जीवन धानिरहेको छु । हामी हातेमालो सञ्चारले उपलब्ध गराएको त्रिपालमा ओत लागिरहेका छौं ।
अबको जीवन कसरी अघि बढाउने सोच्नुभएको छ ?
यतिबेला हाम्रो अवस्था अत्यन्तै दयनीय छ । बस्न घर छैन, खाने अन्न छैन । कतै गएर यसो सहयोग मागौँ त, त्यो सामथ्र्य पनि छैन, किनभने हामी श्रीमान्–श्रीमती नै बिरामी छौं । श्रीमतीको खुट्टामा ठूलै चोट छ । विगतमा अरूलाई विपत् पर्दा हार–गुहार गरियो तर आज आफैंलाई पर्दा हेरिदिने कोही छैनन् । न राज्यले हेर्‍यो, न त कलाकारहरूको कुनै संगठनले नै । अत्यन्त दु:खी छौं हामी दुवै जना । हामी अझै पनि सहयोगको प्रतीक्षामा छौं ।
प्रकाशित: जेष्ठ २२, २०७२