खेलकुद
कसले जित्ला तिलोत्तमा गोल्डकप
पश्चिमाञ्चलकै पुरानो र प्रतिष्ठित मानिएको यो प्रतियोगितामा त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफ क्लब, भारतको दार्जीलिङ–११, रुपन्देही–११, कास्कीको भ्याली स्पोर्टस् क्ल्ब, झापा–११ तथा धरान फुटबल क्लबले भाग लिएका छन् ।
लामो समयको अन्तरालपछि गोल्डकप आयोजना भएकाले चर्को गर्मीका कारण असहज बनेको मौसममा पनि खेलप्रेमी दर्शकहरू आफूलाई मन परेको टिमप्रति समर्थन जनाउन र खेलमा रमाउन रंगशालामा उत्साहजनक रूपमा उपस्थित हुने गरेका छन् ।
प्रतियोगिताको विजेता टिमले ३ लाख ७५ हजार तथा उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । महाभूकम्प प्रभावित कुनै एक जिल्लामा एउटा विद्यालय भवन निर्माण सहयोगार्थ प्रतियोगिता आयोजित गरिएको रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिए ।
तत्कालीन बुटवल नगर पञ्चायत आयोजक भै २०३३ सालमा सुरु भएको तिलोत्तमा गोल्डकपको पहिलो विजेता सिद्धार्थ खेलकुद परिषद् रुपन्देही हो भने १७औं संस्करणको विजेता जावलाखेल युथ क्लब हो ।